महानगरले लगायो भद्रकुमारी घले सदनमा डोजर

हिमाल प्रेस ३ साउन २०८० १५:४८
2
SHARE
महानगरले लगायो भद्रकुमारी घले सदनमा डोजर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले भद्रकुमारी घले सेवा सदनको भवन भत्काउन थालेको छ।
काठमाडौँ महानगरपालिकाले बुधबार बिहानबाट अनधिकृत रूपमा बनाइएको संरचना भन्दै सो सेवा सदनको भवन भत्काउने काम सुरु गरेको हो।

समाजसेवाको क्षेत्रमा आफूलाई समर्पित गरेकी घलेले अनाथ, असहाय, अशक्त बालबालिका, महिला, ज्येष्ठ नागरिकहरूका लागि सो भवनमा आश्रय दिँदै आएकी थिइन्।

यता, महानगरपालिकाले भने सार्वजनिक जग्गामा बनाइएको भवन भत्काउनु कानुनी राज्यको कर्तव्य भएको जनाएको छ। महानगरपालिकाका नगर प्रहरी वल प्रमुख राजुनाथ पाण्डेले अनधिकृत रूपमा बनेका संरचना भत्काउनु परेको बताए।

उनले कानुनी राज्यमा कानुन अनुसार काम हुने भन्दै आफूहरूले सोही अनुसार सो सदनको अनधिकृत भवन भत्काउने काम सुरु गरेको बताए। नगरप्रहरी प्रमुख पाण्डेले आश्रय लिर्इरहेका अनाथ, अशक्त बालबालिका तथा ज्येष्ठ नागरिकहरूको पनि महानगरपालिकाले आश्रयको व्यवस्था गर्ने आश्वासन दिए।

उनले भने,‘यो अनधिकृत संरचना हो। यो सार्वजनिक जग्गा हो। यसमा भएको संरचना भत्काइन्छ। कानुनी व्यवस्था यही हो। कानुनी राज्यमा कानुन अनुसार काम हुन्छ । भावनामा बग्ने छुट हामीलाई छैन।’

यता, सामाजिक संघ, संस्थाले भने समाजसेवाको क्षेत्रमा समर्पित सो सदन भत्काउने काम गरेको भन्दै काठमाडौं महानगरपालिकाको विरोध गरेका छन्। उनीहरूले पूर्व जानकारी समेत नगराई अनाथ, अशक्त र असहाय बालबालिका, महिला, ज्येष्ठ नागरिकहरुलाई आश्रय दिने काम गरिरहेको सो सदनको भवन भत्काउने महानगरपालिकाको कदमलाई अत्याचारको संज्ञा दिएका छन्।

जब्बरजस्ती ढंगले सो सदनको भवन भत्काउने काम गर्नु गलत भएको राउटे लोपोन्मुख सिमान्तकृत उत्थान प्रतिष्ठान नेपालकी अध्यक्ष सत्यदेवी खड्का अधिकारीले बताइन्। उनले भनिन्,‘जब्बरजस्ती सामान नै उठाउन नदिएर डोजर चलाउनु राम्रो होइन। असहाय, महिला, बालिबालिका, ज्येष्ठ नागरिकहरूको व्यवस्थापनका लागि समय चाहिएको कुरा हामीले राखेका हौँ।’

अन्य संस्थाहरूले पनि सो सदनलाई महानगरपालिकाले प्रयोगमा ल्याउनुपर्नेमा भत्काउने काम गरेको भन्दै आक्रोश पोखेका थिए।

पञ्चायतकालमा सांसद हुँदै सहायकमन्त्री समेत भइसकेकी घलेले आफ्नो व्यक्तिगत सम्पत्ति समाजसेवाको काममा परिचालन गर्दै आएकी थिइन्। उनले सो सदन भित्र पुस्तकालय, बाचनालय, धार्मिक स्थल, स्कुल आदिको रूपमा प्रयोग गर्दै आएकी थिइन्।

प्रकाशित: ३ साउन २०८० १५:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast