कांग्रेस बैठकमा प्रदेश सभापतिका आक्रोश : प्रदेश खारेज गर्न आग्रहदेखि अनुशासन उल्लंघनको गन्थन

हिमाल प्रेस ३ साउन २०८० १४:४९
38
SHARES
कांग्रेस बैठकमा प्रदेश सभापतिका आक्रोश : प्रदेश खारेज गर्न आग्रहदेखि अनुशासन उल्लंघनको गन्थन फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय समितिमा मंगलबार महामन्त्री गगनकुमार थापाले वार्षिक कार्यक्रमको क्यालेन्डर प्रस्तुत गरे। पूर्वउपसभापति गोपालमान श्रेष्ठले आमनिर्वाचन, उपनिर्वाचनको चुनावी प्रतिवेदन प्रस्तुत गरे। आज बुधबार केन्द्रीय सदस्य तथा प्रदेशसभापति (आमन्त्रित सदस्य)ले बोल्नेक्रम जारी छ।

बैठकको पहिलो चरणमा प्रदेशसभापति र केही केन्द्रीय सदस्यले महामन्त्रीको प्रतिवेदन र समग्र पार्टीको गतिविधिमाथि प्रश्न उठाए। बैठकमा बोलेका सभापतिहरूले पार्टी नेतृत्वको चर्को आलोचना गरेका छन्।

‘केन्द्रबाटै शासन गर्ने भए खारेज गरौँ’

बैठकमा मधेश प्रदेश सभापति कृष्ण यादवले प्रदेश संरचनाप्रति पार्टीका नेतृत्वको धारणा परिवर्तन हुनुपर्ने बताए। उनले प्रदेशमा केन्द्रबाटै शासन गर्ने हो भने प्रदेश खारेज गर्न माग गरे। ‘चाहिने हो भने प्रदेश खारेज गरिदिनुस्। जिल्लाको नेतृत्व गरेका थियौँ, फेरि पनि गर्छौँ। तर, प्रदेश कायम हुन्छ भने उसलाई अधिकार दिनुपर्दैन, केन्द्रबाटै शासन गर्ने हो? उनले प्रश्न गरे।

कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले केन्द्रिकृत शासन बन्द गर्न नेतृत्वलाई आग्रह गरे। शर्माले पार्टी केन्द्रले जिल्ला र पालिकासम्म हस्तक्षेप गरेको भन्दै आपत्ति जनाए।

केन्द्रको शासनशैलीले संघीय संरचनाको औचित्य घटाएको उनको भनाइ छ। ‘केन्द्रबाट जिल्लादेखि पालिकासम्म सिधा सम्पर्क गर्दा प्रदेशको औचित्व घटिरहेको छ। जिल्ला र स्थानीय तहले पनि प्रदेशको मातहत छु भन्ने धारणा त्याग्न थालेका छन्,’ उनले भने, ‘केन्द्रबाट शासन बन्द गरियोस्। संविधानले गरेको व्यवस्थाबमोजिम पार्टी सञ्चालन गर्ने कुरा केन्द्रबाटै प्रभावित पार्ने प्रयास नहोस्।’

उनले केही दिनअघि भएको सभापति भेलादेखि जिल्ला र स्थानीय तहमा पठाइने परिपत्रमा पार्टी केन्द्रले बीचमा प्रदेश संरचना छ भन्ने कुरा उल्लेख नभएको भन्दै आपत्ति जनाए।

प्रदेश कांग्रेसको महत्वपूर्ण अंग भएको उनको भनाइ छ। ‘प्रदेश पार्टीको महत्वपूर्ण अंग हो। प्रदेशको सभापतिको महत्वपूर्ण दोस्रो दायित्व हुन्छ। यसलाई संस्थागत गर्न केन्द्रको महत्वपूर्ण भुमिका हुन्छ,’ उनले भने, ‘हामी आमन्त्रित सदस्य छौँ, यसको सन्देश राम्रो गएन। विधानतः उपस्थित हुने व्यवस्था मिलाइयोस्।’

त्यस्तै बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले पनि प्रदेश संरचनालाई नेतृत्वले हेपेको गुनासो गरे। ‘जनताले खोजेको र रोजेको व्यवस्थाभित्र जनताले सुधार खोजेका छन्। निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने हो कि ? संविधान संशोधन गर्नुपर्ने हो कि ?,’ उनले भने, ‘संघीयता पहिचान र प्रतिस्पर्धा हो, संसारको उत्कृष्ट संविधान भन्दाभन्दै जनतामा निराशा किन अयो ? नयाँ पार्टीको उदय सुशासनको नारामा टेकेर भएको छ। हामीले त्यसतर्फ ध्यान दिनुपर्छ कि?’

उनले पार्टी नेतृत्वले प्रदेश संरचनाको मर्मअनुसार काम नगरेको आरोप पनि लगाए। संघीयताको मर्मअनुसार काम गर्न नसकेकै कारण नयाँ पार्टीहरूको उदय भएको र यसले खतरा निम्तिँदै गएको पनि बताए।

कर्णाली प्रदेश सभापति ललितजंग शाहीले पार्टी अनुशासन समिति संयोजक आनन्द ढुंगानाले विधानले नदिएको अधिकार प्रयोग गरेको आरोप लगाएका छन्।

बुधबार केन्द्रीय समिति बैठकमा बोल्दै उनले गएका निर्वाचनमा अनुशासन उल्लंघन गरेर विधानले कारबाही हुने भनेकाहरूलाई एकल निर्णय गरेर ढुंगानाले फुकुवा गरेकोप्रति आपत्ति जनाए।

‘महामन्त्री र पदाधिकारीज्यूहरू पोइन्ट टू बी नोटेट, विधानको ३८ को र ३९ मा अधिकार र काम कर्तव्यबारे लेखिएको छ,’ शाहीले भने, ‘नेपाली भाषामा म कमजोर छैन भन्ने छ। विधानको धारा ३४ को स्वतः निष्कासन गरेको व्यक्तिहरूलाई विधानले व्यवस्थै नगरेको कारबाही भनेका व्यक्तिहरूलाई अनुशासन समितिको एकल निर्णयले असार १७ गते कारबाही फुकुवा गर्नुुहुन्छ। अनुशासन समितिले एकल निर्णय गरेर कसरी कारबाही गर्नुभयो ? केन्द्रीय समितिको ध्यानाकर्षण गराउँछु।’

प्रकाशित: ३ साउन २०८० १४:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast