कुनै बेला वामपन्थी राजनीतिमा शीर्ष भूमिकामा रहेका वामदेव गौतम अहिले राजनीतिबाट पलायनजस्तै छन्। तत्कालीन नेकपामा उपाध्यक्ष रहेका गौतम नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्कँदा कतै गएनन्। ‘नेकपा एकता अभियान’ मा सक्रिय भए। तर उनको अभियानमा कुनै वामपन्थी नेताहरू ध्रुवीकरण भएनन्। प्रधानमन्त्री र पार्टी अध्यक्षसम्म हैसियत बनाउने अवस्थामा पुगेका गौतम एक्लिए। यद्यपि गौतम कहिले एमाले, कहिले माओवादी र कहिले एकीकृत समाजवादीतर्फ नजिक हुन खोज्छन्। तर कुनै पार्टीमा जान सक्दैनन्। पार्टी उपाध्यक्ष, उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत बनिसकेका गौतमसँग समसामयिक राजनीतिबारे हिमाल प्रेसका किरण पौडेलले गरेको कुराकानी :
अचेल दिन कसरी बिताउँदै हुनुहुन्छ?
पछिल्लो समय घरमै बसेर दिन काटिरहेको छु। भर्खरै मोतीविन्दुको शल्यक्रिया गरेँ। सात दिनजति बाहिर ननिस्कन डाक्टरले सल्लाह दिएका छन्। घरमै पढ्ने र साथीभाइसँग छलफल गर्ने काम भइरहेको छ।
तपाईँ राजनीतिक जिम्मेवारी बोकेको मान्छे। बिरामी अवस्थामा पनि छलफल गरिरहनुभएकै छ। के विषयमा छलफल हुन्छ?
देशको राजनीतिक अवस्था कसरी अघि बढ्छ? हाम्रो भूमिका कसरी अघि बढाउने। विशेषतः समाजवादको आधारमा रहेर देश कसरी अघि बढाउने भन्नेमा कन्द्रित रहेर कुराकानी भइरहेको छ।
हाम्रो भूमिका भन्नुभयो। अबको राजनीतिमा तपाईँको भूमिका कहाँनेर छ? अहिले त तपाईँ भूमिकाविहीन जस्तो देखिनुहुन्छ नि हैन?
समय नै यस्तै रहेछ। म भूमिकाविहीनजस्तो देखिएँ। अब म यस्तो अवस्थामा बसिरहन्नँ। मलाई अहिले पनि लाग्छ- संगठन विस्तारमा हिँडे भने मेरो पक्षमा ८ लाख कार्यकर्ता उभिन्छन्। मैले संगठनका लागि दुःख गरेको छु। नयाँ पार्टी निर्माण गरेर संगठन विस्तार गर्न पनि सक्छु। यसका लागि पैसा चाहिन्छ। मैले पहिले संगठन विस्तार गर्दा ३ हजार रुपैयाँमा देशभर हुन्थ्यो। तर अहिले ३ करोडले पनि पुग्दैन। यसैले चुपचाप बसेको हुँ।
अनि तपाईँ ७० वर्ष उमेर हदविरोधी मान्छे। एमालेमा त्यस्तो उमेर हद हटेको छ। के अब तपाईं एमालेमा जाने सम्भावना छ?
एउटा कुरा के प्रस्ट पार्छु भने एमालेमा ७० वर्षे उमेर हद हटाइएको होइन, निलम्बन गरिएको हो। निलम्बन भनेको भोलिका दिनमा राख्न पनि सकिन्छ। ओलीजी (केपी ओली) ले पहिले सबैलाई पार्टीमा बोलाउने अनि प्रवेशपछि उमेर हद फेरि लगाउने योजना बनाएझैँ लाग्छ। यही कारण म एमालेमा जान्नँ। अर्को कुरा एमालेको विधानमा नियम निलम्बन भन्ने हुँदैन। त्यो त संसद्मा मात्र हुन्छ। अहिले मुकुन्द न्यौपानेहरूलाई देखाएर एमालेले यो नियम लाएको छ। तर यो उमेर हद लामो समय रहन्छ जस्तो लाग्दैन।
उमेर हद हटेपछि तपाईँ र एमाले अध्यक्ष ओलीबीच कुन विषयमा कुराकानी भयो?
मलाई असार १ मा बेलुका ओलीजीले गर्नुभएको थियो। अब आज बेलुका भयो भ्याउँदिनँ भनेँ। त्यसो भए असार ३ मा भेटौँ भन्नुभयो। असार ३ गते १० बजे बालकोट पुगेँ। तर उहाँको समय मिलेन।
देशभरका कार्यकर्ता आएका छन्। बरु तपाईँ पनि पार्टी कार्यालय च्यासल जाऊँ भन्नुभयो। म जान्नँ, बरु तपाईँ आएपछि यही भेट्छु भनेर फर्किएँ। अनि त्यही दिन १ बजे म बालकोट पुगेँ। ओलीले नेकपा कालदेखिकै कुरा निकाल्नुभयो। उहाँले ममाथि नेकपा विभाजन गरेको, प्रधानमन्त्रीबाट दुई पटक हटाएको, अध्यक्षबाट हटाउन अभियान सुरु गरेको आरोप लगाउनुभयो। मैले स्पष्ट भनेँ, तपाईँलाई एक पटकचाहिँ प्रधानमन्त्रीबाट हटाउन खोजेको हुँ, अर्को पटक होइन।
ओलीले पार्टीमा आउन आग्रह गर्नुभयो। मैले म आउन त आउँछु तर जिम्मेवारी तोक्नुपर्छ भनेर अडान राखेँ। त्यसबारेमा त मैले पार्टीमा छलफल गर्नुपर्छ भनेर ओलीजी तर्किनुभयो। छलफल अत्यन्तै रुमलियो। अन्त्यमा, मैले म एमालेमा आउँछु के जिम्मेवारी दिने भनेर दोहोर्याएर सोधेँ। ओलीले कुन पद चाहिन्छ भनेर प्रतिप्रश्न गर्नुभयो। मैले एकै सासमा उत्तर दिएँ, ‘म एमालेमा आउनुपर्छ भने तपाईँदेखि मुनिको पदमा मात्र बस्छु। तपाईँ मात्रै म भन्दा सिनियर हो।’ त्यसपछि कुरा मिलेन। उहाँले चासो नदिएजस्तो अनुभूति भयो। अनि म हात मिलाएर फर्किएँ।
अब एमाले फर्किने योजना असफल भएकै हो त?
हो, तत्कालका लागि म एमाले फर्किने सम्भावना सकियो। अध्यक्ष ओलीको बोली र व्यवहार पहिले पार्टी फुटाउने अहिले पार्टी बनाएपछि फेरि आउने भन्ने जस्तो छ। ओलीसँगको भेटमा मैले मेरो मात्र नभई अन्य मेरा कार्यकर्ताको भूमिका कस्तो दिने भनेर पनि सोधेँ। ओलीले त्यसबारेमा प्रस्ट जवाफ दिनु भएन। मतलब, हाम्रो बारेमा उहाँ गम्भीर देखिनुभएन। हो, अहिले एमाले अध्यक्ष ओलीले नै हो। तर त्यो पार्टी बनाउन मैले पनि धेरै पसिना बगाएको छु। म त्यहाँ जान सक्छु। तर म त्यहाँ जाँदा मेरो विचार लिएरै जान्छु। मेरो विचार कार्यान्वयन हुने रहेछ भने जान्छु नभए जान्नँ।
२०७४ सालको प्रतिनिधिसभा चुनावमा पराजित भएपछि तपाईँ क्रमशः ओझेल पर्दै जानुभयो। संसदीय राजनीतिमा चुनाव हार्दा नेताको राजनीति नै सकिँदो रहेछ हो?
पहिलो कुरा, मैले प्रतिनिधिसभा चुनाव हारेको होइन, हराइएको हो। म राष्ट्रिय राजनीतिमा व्यस्त भएँ। समयमै मतदातासँग पुग्न सकिँन। म पार्टीको घोषणापत्र बनाउने काममा थिएँ। काठमाडौँमा मिडियासँग अन्तर्वार्ता दिँदा प्रधानमन्त्री बन्नुहुन्छ भनेर सोधियो। मैले बन्छु भनेको थिएँ। त्यही कारण मलाई चुनाव हराइयो।
अर्को कुरा, मैले २०७४ को चुनाव मात्र हारेको होइन। त्यसअघि पनि दुई/दुई वटा चुनाव हारेको छु। मलाई राष्ट्रिय राजनीतिबाट सकाउन धेरैले षड्यन्त्र गरेका छन्। यसमा केपी ओलीको भूमिका बढी छ। नहार्ने चुनाव मैले हारेँ। छानबिन गरौँ भन्दा ओलीले चासो देखाउनु भएन। म अहिले पनि त्यहाँ (बर्दिया) का सबै मान्छे चिन्छु। तर मलाई सुनियोजित तरिकाले हराइएको थियो।
तपाईँको बोलीमा ओलीले चाहिँ सधैँ धोका दिएको बुझिन्छ। त्यो स्तरको नेताले कार्यकर्ता वा दोस्रो स्तरका नेतालाई धोकै मात्र दिनुको कारण?
यो कुरा त छर्लंग छ नि। ओलीलाई मैले ९ औँ अधिवेशनमा अध्यक्षमा उठाउन कति गरेर लागेको थिएँ। रोगले गर्दा उहाँ थला पर्नुभएको थियो। निको बनाउन म अस्पताल धाएँ। त्यसपछि डाक्टरलाई सोधेँ। डाक्टरले बाँच्ने सम्भावना छ भने। अरू कार्यकर्ताले ओली बाँच्दैनन्, वामदेव अध्यक्ष बन्नुपर्छ भने। मैले ओलीको सास आए उहाँ अध्यक्ष, लास आए सोचाैँला भनेँ। ओलीले गुन देख्नुभएन। उहाँका लागि हामी अहोरात्र खट्यौँ तर हाम्रै राजनीति सकिदिनुभयो। ओली त यस्ता मान्छे रहेछन्- तपाईँ मर्दा मात्र मेरो पद रहने भयो मरिदिनुपर्यो भन्न पनि पछि नपर्ने।
एकपटक प्रधानमन्त्री बन्छु भन्नुहुन्थ्यो। अब त्यो सम्भव छ?
किन नहुनु? म प्रधानमन्त्री बनेको देख्न चाहने सर्वसाधारण धेरै छन्। म आफ्नो सिद्धान्त प्रयोग गरेर कृषिलाई अघि बढाउन सक्ने क्षमता राख्छु। म सँग ‘भिजन’ छ। यसैले म प्रधानमन्त्री बन्न सक्छु भन्ने लाग्छ।
पहिलो कुरा मैले आफैँ प्रधानमन्त्री बन्छु भनेको थिइनँ। यो कुरा सबैभन्दा बढी नेकपाकालमा आयो। दुई/दुईजना प्रधानमन्त्री बन्ने भएपछि मैले अवसर पाउने कुरै थिएन। दुई वर्षपछि ओलीले प्रचण्डजीलाई कार्यकारी अध्यक्ष दिनुभयो। प्रचण्डजीले मख्ख परेर मैले प्रधानमन्त्री छाडिदिएँ भन्नुभयो। ओलीले अप्ठ्यारोमा पर्दा मलाई प्रधानमन्त्री बनाउने कुरा गर्नुहुन्थ्यो।
अनि, तपाईँले म प्रधानमन्त्री बन्छु, संविधान संशोधन गर्नुपर्यो भनेर प्रस्ताव गर्नुभएको होइन?
यसबारे ममाथि आरोप मात्र लगाइएको हो। मैले प्रतिनिधिसभा सदस्य निर्वाचनमा हारेँ। ओलीले राष्ट्रियसभा लैजान्छौँ भन्नुभयो। मैले मानिनँ। किन मान्नु हुन्न भनेर सोध्नुभयो। मैले राष्ट्रियसभालाई पनि प्रतिनिधिसभा जत्तिकै अधिकार दिइयोस् अनि मात्र राष्ट्रियसभामा जान्छु भनेँ। तर ओलीले बाहिर ‘वामदेवले प्रधानमन्त्री बन्न संविधान संशोधन गर्न माग गर्यो’ भन्नुभएछ।
हो, अहिले पनि भन्छु। राष्ट्रियसभालाई माथिल्लो सदन भनिन्छ तर अधिकार छैन। प्रतिनिधिसभाजस्तै अधिकार दिनुपर्ने हो। बराबरी अधिकारको बनाएर लैजाऊँ भनेको थिएँ। तर ओलीले अर्थको अनर्थ लगाइदिनुभयो।
चुनावअघि सत्ता गठबन्धनसँग मिलेर माओवादीको चुनाव चिह्नमा लड्ने भन्ने कुरा थिए। त्यति बेला केमा अड्किएको थियो?
गल्ती भयो, त्यहाँनेर। कुरा स्पष्ट भन्छु। मोहनविक्रम सिंहकी श्रीमती दुर्गा पौडेलले मकहाँ आएर प्यूठानबाट चुनाव तपाईँ लड्नुहोस् भन्नुभयो। दुर्गाले आफूलाई राष्ट्रियसभामा लैजान प्रस्ताव गरिदिन र मलाई प्यूठानमा चुनाव लड्न प्रस्ताव गर्नुभएको रहेछ। उहाँले आफू चुनाव लडे हार्ने बताउनुभएको थियो।
मैले सकारात्मक ठानेँ। अनि त्यो कुरा प्रचण्डकहाँ पनि पुर्याएँ। तर पछि दुर्गाजीले नै मलाई पार्टीले चुनाव लड्नुपर्छ भन्यो भन्नुभयो। एकातिर सत्ता गठबन्धन, अर्कातिर एमाले र फेरि अर्कातिर मेरो पार्टीबाट चुनाव लड्न मन लागेन। त्यही कारण माओवादीको चुनाव चिह्नबाट चुनाव लड्न सकिनँ।
आफूलाई भिजन भएको नेता भन्नुहुन्छ। तपाईँले प्यूठानबाहेक अन्य ठाउँबाट चुनाव लड्न सक्नु हुन्नथ्यो? वा देशभर कार्यकर्ता भएको दाबी गर्दा प्यूठान छाड्न नसक्नुको कारण के थियो?
हो, सकिन्थ्यो। तर प्यूठानबाटै तपाईँ उठ्नुपर्छ भनेर कुरा आएपछि चाहिँ मेरो के लाग्छ भन्नुहोस् त? अन्य ठाउँबाट चुनाव लड्न मैले त्यत्रो बुझेको पनि थिइनँ। नभए त विगतमा लडेकै हो, लड्थेँ नि।
तपाईं त एकीकृत समाजवादीमा पनि जाने कुरा भएको थियो। कहाँ पुगेर बिग्रियो कुरा?
हो, केही समयअघि मैले कुरा गरेको थिएँ। त्यो पार्टीको कार्यालय नै गएर मैले कुरा गरेको हुँ। तर माधव कमरेडले पनि मलाई जिम्मेवारी तोक्ने कुरामा खास जाँगर चलाउनुभएन। पछि छलफल गरौँला भन्नुभयो। त्यो पार्टीको एक धार मेरो विरुद्धमा लागेको मैले थाहा पाएकै थिएँ। त्यो जानीजानी किन प्रवेश गर्छु र?
तपाईँले समाजवादीमा धार भन्नुभयो। झलनाथ खनाल पक्षले तपाईंको विरोध गर्यो भन्न खोज्नुभएको? तपाईँ जबज (जनताको बहुदलीय जनवाद) मान्ने र उहाँ मान्दै नमान्ने। विवाद यसमै हो कि?
त्यस्तो होइन, झलनाथ कमरेडसँगको सम्बन्ध आजको मात्र होइन। भूमिगत कालदेखिको हो। उहाँलाई दुई पटक महासचिव बनाउने मान्छे मै हुँ। आठौँ महाधिवेशनबाट अध्यक्षमा झलनाथलाई जिताउने र प्रधानमन्त्री बनाउने पनि मै हुँ। उहाँ (झलनाथ) प्रधानमन्त्री बनाउँदा ओली र नेपाल विपक्षमा थिए। मैले नै साथ दिएको हुँ। त्यसैले झलनाथ कमरेडसँग मेरो सम्बन्ध नराम्रो छैन। तर पार्टीभित्र केही न केही तप्का त विपक्षमा लागिहाल्छ नि।
अबको यात्रा समाजवादी मार्चा हो तपाईंको?
यसबारे मोर्चाले के भन्छ, त्यहीअनुसार हुन्छ। फेरि पनि भन्छु, म कहीँ जाँदा एक्लै जाने होइन। मेरो पार्टी नै लिएर जाने हो। अनि एजेन्डा पनि लिएर जाने हो। एजेन्डा अट्ने ठाउँ बन्छ भने म समाजवादी मोर्चामा जान तयार छु।
मोर्चा घोषणामा त तपाईंलाई बोलाइएन नि?
बोलाइएन। मैले प्रचण्डसँग यसबारे सोधेको थिएँ। प्रचण्ड मेरो विषयमा सकारात्मक पनि हुनुहुन्थ्यो। तर त्यहाँ पनि माधव नेपालले आवश्यक ठान्नु भएन। नेपालले पनि अब वामदेवको आवश्यकता छैन भन्नुभयो रे।