काठमाडौँ- सरकारले खाली भएका दूतावास र नियोगहरूमा परराष्ट्र मन्त्रालयका वरिष्ठ कर्मचारीलाई नियुक्ति गर्ने सिफारिस गरेकाे छ। गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले न्युयोर्कस्थित स्थायी नियोग, जेनेभास्थित स्थायी नियोग, युनाइटेड अरब इमिरेट्स (यूएई), फ्रान्स, थाइल्यान्ड र कुवेतमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो। मन्त्रिपरिषद्को उक्त निर्णयलाई मुख्यसचिव बैकुण्ठ अर्यालले शुक्रबार साँझ मात्र माइन्युट गरेका हुन्।
न्युयोर्कस्थित स्थायी नियोगमा लोकबहादुर थापालाई पठाउने निर्णय भएको छ। थापा हाल परराष्ट्र मन्त्रालयको उत्तर पूर्वीएसिया महाशाखा प्रमुख छन्। यसअघि बेल्जियमका लागि राजदूत हुँदा युरोपेली महासंघमा नेपालको ओज बढाएको भनेर उनको प्रशंसा भएको थियो। उनले पासपोर्ट विभागमा महानिर्देशक हुँदा पनि लाइन व्यवस्थापनदेखि दिगो हितमा काम गरेको सहकर्मीहरू बताउँछन्।
सरकारले यसअघि परराष्ट्र सचिव मुख्यसचिवको दाबेदार भएका कारण दक्षिण अफ्रिकामा राजदूत रहेका सहसचिव अमृतबहादुर राईलाई न्युयोर्क पठाएको थियो। यो सहसचिवलाई नै न्युयोर्क पठाउने प्रचलनको सुरुवात थियो। यसअघि न्युयोर्कस्थित स्थायी नियोगमा प्रायः परराष्ट्र सचिव भएकाहरू जान्थे। २०४६ को परिवर्तनअघि भने सहसचिव पनि नियुक्त गरिन्थ्यो।
त्यस्तै जेनेभास्थित स्थायी नियोगमा रामप्रसाद सुवेदीलाई सिफारिस गरिएको छ। सुवेदी नयाँदिल्लीमा नियोग उपप्रमुखका रूपमा कार्यरत छन्। दूतावासमा केही असहज काम गरेको आरोप उनीमाथि छ। यद्यपि नयाँदिल्लीका राजदूत खुसी भएकै कारण उनलाई जेनेभा जान बाटो खुलेको भएको हो। उनलाई परराष्ट्रमा अलिक असजिला तर तेजिला अधिकारीका रूपमा लिइन्छ।
परराष्ट्र सचिव रहेका भरतराज पौड्याललाई भने सरकारले राजदूतका रूपमा कतै पनि पठाउन चाहेन। पौड्यालले न्युयोर्क वा जेनेभा जानका लागि पटकपटक माग गरेका थिए। उनको कार्यशैलीप्रति सरकारले निकै असन्तुष्टि जनाउँदै आएको छ। उनलाई सरकारले परराष्ट्र मन्त्रालयबाट अन्यत्र सार्ने तयारी गरेको एक मन्त्रीले बताए। अन्यत्र सरुवा गर्दा नराम्रो सन्देश जान्छ भन्ने अघिल्ला मुख्य सचिव शंकरदास बैरागीको कुरा सुनेर सरुवाकाे निर्णय नलिइएको ती मन्त्रीले बताए। बैरागीकै अडानका कारण राजदूत नियुक्तमा ढिलाइ भएको हो।
पाैड्यालमाथि कुनै पनि सहकर्मीलाई विश्वास नगरेको आरोप लाग्दै आएको छ। हुलाकबाट उपसचिव भई परराष्ट्र प्रवेश गरेका उनलाई राम्रो अध्ययन गर्ने व्यक्तिका रूपमा लिइन्छ। तर नेपालस्थित विदेशी नियोगका अधिकारीलाई हप्कीदप्की गर्ने, अनावश्यक विषयमा दु:ख दिने, विदेश भ्रमण गर्न बढी रुचि राख्ने, कर्मचारीलाई कुनै पनि निर्णय गर्न नदिने, दूतावासमाथि अंकुश लगाउने, राजदूतलाई स्वीकृतबिना बोल्न पनि नहुनेजस्ता कुरा गर्ने, आफूले निर्णय लिने स्थानमा ढिलाइ गर्नेलगायत कार्यले राजनीतिक नेतृत्व पौड्यालप्रति असन्तुष्ट छ।
सचिव हुँदा निकै आशा गरिएका व्यक्ति भए पनि पौड्याल उल्लेख्य कामबिना सेवा निवृत्त हुने भएका छन्। पौड्यालले उमेर हदका कारण मंसिरमा अवकाश पाउनेछन्।
परराष्ट्र सचिवका रूपमा रहँदा लामो समयसम्म न्युयोर्क र बेइजिङमा सहसचिवसमेतको सिफारिस गर्न नसकेको र नेपालस्थित विदेशी नियोगका प्रतिनिधिसँग राम्रो सम्बन्ध नराखेकोजस्ता आरोप राजनीतिक नेतृत्वले उनीमाथि लगाएको छ। यद्यपि उनलाई क्यानडाका लागि राजदूत नियुक्त गरिने आश्वासन दिइएको छ। तर क्यानडामा कांग्रेस कोटाबाट राजदूत पठाउने तयारी रहेको परराष्ट्र उच्च स्रोतले बतायो।
कार्यकाल सकेर क्यानडाबाट राजदूत भृगुप्रसाद ढुंगाना फर्केका छन्। सरकारले क्यानडाका लागि राजदूतमा सिफारिस गरेको छैन। उनी फर्केको स्थानमा सरकारले कांग्रेस कोटाबाट पठाउने तयारी गरेको छ।
युनाइटेड अरब इमिरेट्स (यूएई) मा तेजबहादुर क्षेत्रीलाई पठाउन सिफारिस गरिएको छ। उनी परराष्ट्रमा अधिकृतबाट प्रवेश गरी सहसचिव भएका हुन्। परराष्ट्रभित्र कर्मचारीबारे केही बोल्न परेमा उनलाई अघि सार्ने गरिन्छ। उनलाई आफ्ना ब्याचीले ‘स्टाइकर’ भन्छन्। क्षेत्री लामो समय परराष्ट्रमा दरबन्दी बढाउन लागिपरेका थिए। तर अफू पोस्टिङ पनि नलिइकनै बसेका थिए। उनी राम्रो जनसम्पर्क राख्ने कूटनीतिक अधिकारीमा पर्छन्। क्षेत्रीले यसअघि लामो समय बेलायतमा कार्यवाहक राजदूतका रूपमा रहेर काम गरेका थिए। त्यहाँबाट आठ वर्षअघि फर्केका हुन्।
सुधीर भट्टराईलाई फ्रान्सका लागि राजदूतमा सिफारिस गरिएको छ। भट्टराई क्षेत्रीकै ब्याचका हुन्। भट्टराई ब्रसेल्सबाट फर्केर महाशाखा हुँदै शिष्टाचार महापालको भूमिकामा छन्। लामो समय राष्ट्रसंघ महाशाखामा काम गरेका अनुभवी भएकाले उनको चाहना जेनेभा थियो। उनले परराष्ट्र प्रवेशपछि सबैभन्दा धेरै समय बिताएको महाशाखा नै राष्ट्रसंघ महाशाखा हो।
सार्कमा निर्देशकसमेत रहिसकेका र ढाकामा कार्यवाहक राजदूतको भूमिका निर्वाह गरेका धनबहादुर ओलीलाई थाइल्यान्डको राजदूतमा सिफारिस गरिएको छ। उनी वाक्पटुता भएका परराष्ट्र क्याडर मानिन्छन्। थोरै बुझे पनि अधिक बुझेको शैलीमा भ्रममा राख्न सक्छन्। यद्यपि उनी पनि राम्रै काम गर्ने अधिकारीमा परराष्ट्रभित्र परिचित छन्। ओलीलाई थाइल्यान्ड पठाउने निर्णय राम्रै रहेको सहकर्मीहरू बताउँछन्।
कुवेतमा घनश्याम लम्साललाई नियुक्तिका लागि सिफारिस गरिएकाे छ। लम्साल यसअघि दक्षिण अफ्रिकामा कार्यवाहक राजदूत थिए। उनी त्यहाँबाट बढुवा भएपछि फर्केका हुन्। लम्साल प्रशासन महशाखा प्रमुखका रूपका कार्यरत छन्। उनलाई निकै शान्त र शालीन व्यक्तिका रूपमा लिइन्छ।
मन्त्रिपरिषद्बाट सिफारिसमा परेका अधिकारीहरूको अब संसदीय सुनुवाइ हुनेछ। त्यसपछि अग्रिमा (सहमति) का लागि सम्बन्धित मुलुक पठाउने र सहमति आएपछि राष्ट्रपतिले नियुक्ति गर्नेछन्। त्यसपछि शपथ लिएर उनीहरू सम्बन्धित मुलुक जानेछन्। राष्ट्रसंघअन्तर्गत न्युयोर्क र जेनेभामा नियुक्तिका लागि भने अग्रिमा पर्खिरहनु पर्दैन।
परराष्ट्रमन्त्री एनपी साउदले सरकारले राजदूत नियुक्तका लागि निर्णय गरेकाे बताए। निर्णय मंगलबार नै भए पनि केही समस्याका कारण शुक्रबार माइन्युट भएको जानकारी मन्त्री साउदले दिए। उनले भने, ‘अहिले परराष्ट्र सेवाबाट फर्केको स्थान भएकाले त्यही स्थानमा जान उनीहरूलाई नै पठाइएको हो।’
हालै न्युयोर्कबाट अमृतबहादुर राई, जेनेभाबाट मणिप्रसाद भट्टराई, यूएईबाट कृष्णप्रसाद ढकाल, कुवेतबाट दुर्गाप्रसाद भण्डारी र फ्रान्सबाट दीपक अधिकारी कार्यकाल सकेर फर्किएका हुन् । भट्टराई, भण्डारी र अधिकारी सेवा निवृत्त भइसकेका छन्।