स्याङ्जा– स्याङ्जाको गल्याङ नगरपालिका-३ बल्पुकस्थित गल्याङ नगर अस्पतालमा पछिल्लो समय सेवाग्राहीको चाप बढ्दै जान थालेको छ।
अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आवमा झण्डै दोब्बरले बिरामीको संख्या बढेको अस्पतालका प्रमुख गुनेन्द्र रानाले जानकारी दिए।
‘अघिल्लो आवमा १३ हजार बिरामीले सेवा लिएकोमा चालु आवमा व्यवस्थापन पक्षमा सुधार भएकाले अस्पतालमा आउने बिरामीको संख्या बढेको छ,’ उनले भने।
चालु आवमा बीमातर्फका २१ हजार बिरामीले सेवा लिएका छन्। हाल अस्पतालमा २४ सैं घण्टा आकस्मिक सेवा, पेट, छाती, मुटु, ग्याष्ट्रिक, यौन, छाला, नशा, हाडजोर्नी, बाथरोग, नाक, कान, घाँटी, स्त्री रोग, बाल रोग, नेबुलाइजर, सामान्य
चिरफार, दन्तरोग, ल्याब, एक्सरे, भिडियो एक्सरे, अक्सिजन, फार्मेसी सेवा, रिफर, बीमा, एम्बुलेन्सलगायतका सेवा उपलब्ध छन्।
यहाँ सेवा लिनका लागि गल्याङ, वालिङ, चापकोट, कालीगण्डकी, पाल्पाको रम्भा, वगनासकाली, गुल्मीको कालीगण्डकी, पर्वतको बिहादीलगायतका स्थानीयतहबाट बिरामी उपचारका लागि आउने गरेका छन्। गल्याङ नगरपालिकाको उपचारको प्रमुख गन्तव्य यो अस्पताल २०७६ सालमा स्थापना भएको थियो। लामो समय घाटामा सञ्चालित नगर अस्पताल गल्याङ नगरपालिकाको आर्थिक अनुदानमा प्रसासनिक खर्च धनिँदै आएको थियो।
प्रशासनिक खर्चका लागि अघिल्लो वर्ष नगरपालिकाले अस्पताललाई ७२ लाख रुपैयाँ सहयोग गरेको गल्याङ नगरपालिकाका मेयर गुरू भट्टराईले बताए।
‘भौतिक संरचना निर्माणबाहेक यस वर्ष कुनै प्रकारको आर्थिक सहयोग गर्न परेको छैन,’ उनले भने, ‘व्यवस्थापकीय पक्षमा सुधार गरेपछि अस्पतालमा आर्थिक अनुसासन बढेको छ, अस्पतालको खातामा रकम पनि जम्मा हुन थालेको छ।’
अस्पतालमा प्रसूति सेवा, आँखा जाँच तथा उपचार सेवा विस्तार गरिने उनले जनाए।
नगर अस्पताललाई ट्रमा सेन्टरको रूपमा आधुनिक र विशिष्टिकृत अस्पतालको रूपमा विकास गर्ने योजना रहेको उनको भनाइ छ।
अस्पतालले गुणस्तीय सुविधा दिन थालेपछि उपचारका लागि पाल्पा पोखरा जानुपर्ने बाध्यता हटेको स्थानीय प्रतिमा भट्टराई बस्यालले बताइन्।
‘अस्पतालले दिने स्त्री रोगसम्बन्धी सेवाका हामी महिलालाई राहात मिलेको छ। धुम्ती शिविरमा पनि धेरै महिलाले समयमै उपचार पाएका छन्,’ उनले भनिन्।
अस्पतालको व्यवस्थापकीय पक्ष अझै अपुग भएको स्थानीय कमल भण्डारीको भनाइ छ।
बिरामी जाँच्ने कोठा पटक पटक स्थान्तरण गरिएको भन्दै एकै ठाउँमा राख्न उनले सुझाव दिए। बिरामी कुर्ने ठाउँमा नगर अस्पतालले पंखाको व्यवस्था गरिदिन पनि उनको आग्रह छ।
हाल अस्पतालमा २ जनरल फिजिसियन, तीन इमर्जेन्सी हेल्थ असिस्टेन, ३ ल्याब टेक्निसियन, १ एक्सरे रेडियोग्राफरसहित ३० कर्मचारी कार्यरत छन्।