लुम्बिनीमा अब गृह र अर्थ मन्त्रालय

हिमाल प्रेस १३ असार २०८० २०:२५ | Wednesday, June 28, 2023
लुम्बिनीमा अब गृह र अर्थ मन्त्रालय

दाङ- लुम्बिनी प्रदेश सरकारले दुई मन्त्रालयको नाम फेरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशमा रहेको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको नाम परिवर्तन गरेर गृह मन्त्रालय बनाउने निर्णय गरेको छ।

त्यसै गरी आर्थिक मामिला मन्त्रालयको नाम परिवर्तन गरेर अर्थ मन्त्रालय बनाउने निर्णय भएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिलामन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिए।

मन्त्रिपरिषद् बैठकले करार कर्मचारी व्यवस्थापन कार्यविधि, २०८० को पहिलो संशोधन गर्ने निर्णय गरेको छ। बैठकले लुम्बिनी प्रदेशको स्वामित्वमा रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई दुई सय शय्याको अस्पताल बनाउने गरी कर्मचारी व्यवस्थापन (ओएन्डएम) को स्वीकृत प्रदान गर्ने निर्णय गरेको मन्त्री पाण्डेले जानकारी दिए।

त्यस्तै आर्थिक वर्ष २०७८/७९ को सःशर्त अनुदानतर्फको दायित्व भुक्तानीको स्वीकृत गरेको छ। निर्देशनालयको व्यवस्थापनका लागि प्रदेश सरकारका विभिन्न मन्त्रालयअन्तर्गत रहेका निर्देशनालयको कार्य क्षेत्र, भूमिका, सेवाको प्रभावकारिता र आवश्यकताको अध्ययन गरी प्रभावकारी कार्यसम्पादन र कर्मचारीको वृत्तिविकासको पक्षसमेत विश्लेषण गरी अध्ययन गर्न नेपाल सरकारका पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा समिति गठन गर्ने र त्यो समितिले एक महिनाभित्रमा अध्ययन प्रतिवेदन पेस गर्ने निर्णय गरेको छ।

त्यसै गरी केही दिनअघि दाङको दंगीशरण गाउँपालिकामा चट्याङ लागेर मुत्यु भएका दुई जनालाई र बर्दियामा एक वर्षअघि गोली लागेर ज्यान गुमाएकी विद्यार्थी नवीना थारुलाई प्रदेश सरकारको तर्फबाट जनही एक/एक लाख राहत रकम उपलब्ध गराउने निर्णय भएको लुम्बिनी प्रदेश सरकारले जानकारी दिएको छ।

प्रकाशित: १३ असार २०८० २०:२५ | Wednesday, June 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast