कक्षा १२ को उत्तरपुस्तिका परीक्षण गर्न नदिने हिस्टुनको चेतावनी

हिमाल प्रेस १० असार २०८० १६:४३
1.7k
SHARES
कक्षा १२ को उत्तरपुस्तिका परीक्षण गर्न नदिने हिस्टुनको चेतावनी फाइल तस्बिर

काठमाडौँ- सामुदायिक विद्यालयको कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकहरूको संस्था माध्यमिक विद्यालय संघ (हिस्टुन) ले कक्षा १२ को उत्तरपुस्तिका परीक्षणमा रोक लगाउने चेतावनी दिएको छ। सरकारसँग विभिन्न १८ बुँदे अघि सार्दै हिस्टुनले उत्तरपुस्तिका परीक्षण गर्न नदिने लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

हिस्टुनले  कक्षा १० सम्म अध्ययन गर्ने शिक्षकका लागि विज्ञापन गर्ने तर कक्षा ११ र १२ मा अध्यापन गर्ने शिक्षकका विषयमा सरकारले ध्यान नदिएको भन्दै आपत्ति जनाएको छ। असार १७ गते शिक्षक सेवा आयोग, राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीमा घेराउ गर्ने, १८ गते माइतीघर मण्डलामा प्लेकार्डसहित प्रदर्शन गर्ने, सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई मासिक रूपमा कुनै पनि शुल्क नतिर्न आह्वान गर्ने र विद्यालयलाई शुल्क नलिन दबाब दिने जस्ता विरोधका कार्यक्रम हिस्टुनको छ।

कक्षा ११ र १२ का शिक्षकका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

हिस्टुनले अस्थायी प्रकृतिका शिक्षक मात्र हुँदा गुणस्तरीय शिक्षामा समेत प्रत्यक्ष असर परिरहेकाले नयाँ दरबन्दी थप गर्न माग गरेको छ। साविक उच्च माध्यमिक तहमा २०४९ सालदेखि ३० वर्ष निरन्तर अध्यापन गराइरहेका शिक्षक रित्तो हात घर फर्किनुपर्दा थप पीडित बनेको हिस्टुनको विज्ञप्तिमा उल्लेख छ।

साविक उमावि शिक्षकहरूको पेसागत सुरक्षा र स्थायित्व नभइरहेको अवस्थामा शिक्षक सेवा आयोगबाट भइरहेको विद्यालयको प्रावि, निमावि र मावि (कक्षा १० सम्म) शिक्षकको पदपूर्ति विज्ञापनविरुद्ध तत्काल कानुनी उपचार खोज्ने र असार १८ गते केन्द्रीय समितिको बैठक बसी दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने जनाएको छ।

‘नयाँ संविधान जारी भएको ७ वर्ष बित्न लाग्दासमेत संघीय शिक्षा ऐन आउन सकेको छैन। विश्वविद्यालयबाट प्रमाणपत्र तह हटेपछि कक्षा ११ र १२ माध्यमिक तहमा समायोजन भएको छ। सो तहमा तीसौँ वर्षदेखि कार्यरत शिक्षक व्यवस्थापनका बारेमा शिक्षा ऐनको नवौँ संशोधनमा समेत कुनै व्यवस्था नहुनु दुःखद छ’, विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १० असार २०८० १६:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + eight =