५२.९ करोड पुग्यो मधुमेह रोगीको संख्या

हिमाल प्रेस ९ असार २०८० ८:१६
५२.९ करोड पुग्यो मधुमेह रोगीको संख्या

विश्वभरि मधुमेह रोग तीव्र गतिले फैलिरहेको छ। एक नयाँ अध्ययनअनुसार संसारभर ५२.९ करोड मधुमेहपीडित छन्। यो रोग पाका उमेरका महिला-पुरुषमा मात्र देखिएको छैन, हरेक उमेरका मानिस प्रभावित भइरहेका छन्। यस्तै आगामी २७ वर्षमा मधुमेह रोगीको संख्या १ सय ३० करोड पुग्ने अनुमान छ।

यस हिसाबले सन् २०५० सम्म यस रोगबाट पीडितको संख्या करिब १ सय ४६ प्रतिशतले बढ्नेछ। संयुक्त राष्ट्रसंघले  २०५० मा विश्वभरको जनसंख्या बढेर ९ सय ८० करोड पुग्ने अनुमान गरेको छ। यस अर्थमा त्यतिखेर हरेक आठमध्ये एक व्यक्ति मधुमेहबाट पीडित हुनेछन्। अन्तर्राष्ट्रिय जर्नल ‘द लेसेन्ट’मा प्रकाशित रिपोर्टअनुसार धेरैजसो ‘टाइप २’ मधुमेह रोगी हुनेछन्।

‘इन्स्टिच्युट अफ हेल्थ मेट्रिक्स एन्ड इभाल्युसन’का अनुसन्धानकर्ताको टोलीले रोगीको संख्या बढ्दै गएमा हरेक देश र उमेरसमूहका मानिसलाई प्रभाव पार्ने निष्कर्ष निकालेको छ। अनुसन्धानकर्ताहरूले ‘ग्लोबल बर्डन अफ डिजिज (जीबीडी) २०२१’ मा प्राप्त मधुमेहका तथ्यांकका आधारमा विश्लेषण गरी यस्तो निष्कर्ष निकालेका हुन्।

यिनै तथ्यांकका आधारमा अनुसन्धानकर्ताले सन् २०५० सम्म मधुमेह कतिसम्म बढ्न सक्ने? कुनकुन कारक तत्त्वले गर्दा यो रोग हुने पत्ता लगाएका छन्। विश्वमा मधुमेहको प्रसार र वृद्धि एकनासले नहुने देखिएको छ। कुन क्षेत्र र देशका नागरिक यसबाट प्रभावित हुन सक्छन् भन्ने पनि अध्ययनले देखाएको छ। मृत्यु र अपांगताका १० कारणमध्ये एक प्रमुख कारण मधुमेह बन्ने अनुमान छ।

उत्तरी अफ्रिका र मध्यपूर्वमा रोगको बढ्ने दर अझै बढी हुनेछ। त्यहाँ ९.३ प्रतिशत हुने अनुमान छ। त्यस्तै सन् २०५० सम्म यस क्षेत्रमा यसको प्रसार दर बढेर १६.८ पुग्न सक्ने दाबी गरिएको छ। त्यसैगरी आउने समयमा दक्षिण अमेरिका र क्यारेबियनमा यसको वृद्धि दर बढेर ११.३ प्रतिशत पुग्न सक्छ।

प्रत्येक देशमा ६५ वर्ष वा सोभन्दा बढी उमेरका मानिसमा यो रोग प्रबल रूपमा छ। तथ्यांकमा करिब २० प्रतिशत वृद्धवृद्धामा यस रोगका लक्षण देखिएका छन्। यसैगरी ७५ देखि ७९ को उमेरका २४.४ प्रतिशत मानिसमा मधुमेह भएको पाइएको छ।

त्यसमा उत्तरी अफ्रिका र मध्यपूर्व सबैभन्दा अगाडि देखिएका छन्। यहाँका ७५ देखि ७९ को उमेरका मानिसमा मधुमेह वृद्धि दर ३९.४ प्रतिशत थियो। त्यस्तै मध्य र पूर्वी युरोपसँगै मध्य एसियामा यो दर सबैभन्दा कम १९.८ प्रतिशत रहेको छ।

अध्ययनसँग जोडिएका अनुसन्धानकर्ताले भनेअनुसार टाइप २ मधुमेहलाई धेरै हदसम्म रोकथाम गर्न सकिन्छ। सही समयमा पत्ता लागे यस रोगबाट बच्च सकिने उनीहरूको भनाइ छ।

अनुसन्धानकर्ताहरूले टाइप २ मधुमेहलाई बढाउने १६ कारकको अध्ययन गरेका थिए। उनीहरूका अनुसार सबैभन्दा ठूलो कारक मोटोपन हो। जो यसबाट हुने विकलांगता र मृत्यु दरका लागि यो ५२ प्रतिशत जिम्मेवार छ।

खराब जीवनशैलीले गर्दा पनि मधुमेह बढ्ने गर्छ। खराब खानपिन, सुर्तीको प्रयोग, शारीरिक श्रममा कमी, मद्यपानलगायत कारणले मधुमेह बढिरहेको छ। यो निको नहुने बिरामी होइन। जीवनशैलीमा परिवर्तन गरेर यसबाट बच्न सकिन्छ। विश्व स्वास्थ्य संगठनको पछिल्लो रिपोर्टअनुसार खोजी गरिएको सय वर्षपछि पनि टाइप २ मधुमेह हुँदा प्रयोग गरिने इन्सुलिनमा ५० प्रतिशत पीडितको मात्र पहुँच छ। ५० प्रतिशत त्यसबाट अझै टाढा छन्। टाइप २ मधुमेहबाट पीडित विश्वका करिब तीन करोड मानिसलाई इन्सुलिन उपलब्ध छैन।

०००

नेपालमा १० देखि २० प्रतिशत जनसंख्यामा मधुमेहको समस्या रहेको अनुमान छ। चितवन मेडिकल कलेजका इन्डोक्राइमोलोजिस्ट डा. सौरव खतिवडाले मधुमेहबाट  युवा पनि पीडित हुन थालेको बताएका छन्। पहिलेपहिले ४० वर्षपछि मधुमेह रोग देखिन्छ भन्ने गरिन्थ्यो। हिजोआज जीवनशैलीमा परिवर्तन आएपछि कम उमेरमै मधुमेह देखिन थालेको डा. खतिवडा स्वीकार्छन्।

‘२५-३० वर्षदेखि नै मधुमेहको समस्या देखिने गरेको छ,’ उनी भन्छन्, ‘त्यसको मुख्य कारण खानपान र जीवनशैली हो।’ अनियन्त्रित रूपमा बाहिरी खाना धेरै खाने, व्यायामको कमी हुने व्यक्तिलाई मधुमेह हुने सम्भावना बढी हुने उनी बताउँछन्। बुबाआमालाई मधुमेह छ भने त्यस्तो व्यक्तिलाई मधुमेह हुने सम्भावना बढी हुने गर्छ।

डा. खतिवडा भन्छन्, ‘खानपानलाई नियन्त्रणमा राख्नुपर्छ, व्यायाम गर्नुपर्छ, औषधि नियमित खानुपर्छ।’ मधुमेहका बिरामीले औषधि, खानपान र व्यायामको सन्तुलन कायम गर्न सकेमा लामो आयु जिउन सक्छन्। ‘खानामा कार्बोहाइड्रेडको मात्रा नियन्त्रणमा राख्नुपर्छ,’ उनी भन्छन्, ‘मुख्य रूपमा सजिलै चिनी निस्किने खालको कार्बोहाइड्रेड नभएको खाना खानुपर्छ।’

मधुमेह लागिसकेपछि शरीरको तौल घट्दै जान्छ। पटकपटक पिसाब लाग्नु, धेरै भोक लाग्नु, मुख सुक्दै जानु, हातखुट्टा झम्झमाउनु, कमजोर महसुस हुनु मधुमेहका लक्षण हुन्। यस्तो लक्षण देखिएमा तुरुन्त रगत परीक्षण गराउनुपर्ने डा. खतिवडा बताउँछन्। भन्छन्, ‘गर्भवतीलाई पनि मधुमेहको जोखिम बढी हुने गर्छ।’

टाइप २ मधुमेहमा शरीरमा समयसँगै पर्याप्त इन्सुलिन निर्माण क्षमता समाप्त हुन्छ। त्यस्तो हुँदा पनि बिरामीले ध्यान दिएन भने हृदयघात, मिर्गौला बिग्रिने, आँखा-कानमा समस्या देखिन सक्छ।

प्रकाशित: ९ असार २०८० ८:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast