नियात्रा

युवामाझ लोकप्रिय धाप ड्याम

राजाराम बर्तौला २ असार २०८० १६:२७
52
SHARES
युवामाझ लोकप्रिय धाप ड्याम

केही दिनयता गर्मी निकै बढेको छ। सूर्यको राप र तापले हैरान पारेको छ। यसपालिको शनिबारीय पदयात्राका लागि घरबाट निस्किँदा हपहपी गर्मीले यति सताउला भन्ने सोचिएकै थिएन।

वातावरणीय प्रभावको असरले होला, काठमाडौँमा अहिलेसम्मकै गर्मी रेकर्ड गरिँदै छ। पसिना चुहाउँदै हामी नागमती खोलाको तीरैतीर भएर ठाडो उकालो उक्लियौँ।

साँझ घर आएर हेर्दा यो दिन काठमाडाैँको तापक्रम ३३.३ डिग्री मापन गरिएको रहेछ। तराईको प्रचण्ड गर्मीको तुलनामा यो सहन सकिने तापक्रम थियो। समुद्री सतहदेखि १४०० मिटरभन्दा माथिको उचाइमा तरेली परेको पहाडमा पनि यस किसिमको गर्मी हुनु भनेको अस्वाभाविकचाहिँ हो।

तापक्रम बढ्दै गए नागमती, बागमती, विष्णुमती जस्तै अरू पानीका स्रोत पनि सुक्दै गए भने मानवीय जीवन र सभ्यताको हालत के हुने होला? पानी रहे न जीवन रहने हो। जंगलले वर्षामा परेको पानी सोसेर बिस्तारै रसाउँदा यी खोलानाला भरिने हुन्।

यता दक्षिण पाखोबाट हेर्दा उत्तरको पाखोमा यति घना जंगल होला भनी कल्पना पनि नगरिएको प्राकृतिक रूपमा संरक्षित घनघोर घना जंगल छ। यो जंगलभित्रका वयस्क रूख हेर्दा पछिल्लो समयमा लिइएको नीति र त्यसको प्रभावकारी कार्यान्वयनको प्रतिफल हो भन्ने लाग्छ। घना जंगलभित्र छिर्दा पुराना बूढा रूख कमै देखिन्छन्।

हामी सुन्दरीजलबाट मूलखर्क हुँदै धापसम्म जान नागमतीको नालीबेली हेर्दै जाने गरी कार्यक्रम बनेको थियो। शनिबार घरबाट निक्लेर सुन्दरीजलसम्म सवारीसाधनमा गयौँ। त्यहाँबाट शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा प्रवेश शुल्क तिरेर चिसापानी जाने मोटरेवल बाटो हुँदै जंगल पस्यौँ।

यो तालसम्म जान सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको पानी प्रशोधन स्थलबाट जंगलैजंगल उकालो लाग्नुपर्छ। कच्ची सडकलाई ढलान गरेर पक्की बनाउने काम धमाधम भइरहेछ। मूलखर्कको गाउँतर्फ लाग्दै गर्दा पर्यटकलाई सुविधा उपलव्ध गराउन प्रशस्त रिसोर्ट खुलेका छन्।

यही बाटोलाई पछ्याएर हिँड्यो भने धापसम्म पुग्न मूलखर्कबाट १७ किलोमिटर छ। सुन्दरीजलबाट मूलखर्क पुग्न तीन किलोमिटरसमेत जोड्दा त एकातर्फी बाटो २० किलोमिटर हिँड्नुपर्ने रहेछ। यसो हुँदा आधाभन्दा केही बढी यही बाटो हुँदै र कहीँ कतै छोटो बाटो हिँड्दै धाप तर्फको पदयात्रा गरेका थियौँ। मूलखर्कबाट दक्षिण फर्केर हेर्दा नागमतीको विशाल जलाधार क्षेत्र देखिन्छ। यी दृश्यलाई आँखामा कैद गर्दै गर्दा मनमा कुरा उठ्यो- यति ठूलो जलाधार क्षेत्र भएको ठाउँमा बहुउद्देश्यीय आयोजनासमेत अटाउन सक्ने प्रचुर सम्भावना छ तैपनि किन २१०० मिटर माथि धापमा ड्याम बनाइयो होला?

यो बाटो फुट ट्रेल त थिएन। तर नागमतीसँगै भएर हिँड्दा नदीको कञ्चन पानी, जंगलको नीरवभित्र आवाज दिने निश्चल, निर्मल कलकल जलतरंगले मन औधी प्रभावित भयो। प्राकृतिक सुन्दरताको अनुपम आनन्दले आह्लादित अपरिमेय मनको तारमा झन्कार भर्दो रहेछ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पर्ने यो ताल गोकर्णेश्वर-१ मा रहेको छ। धापको जलाधार क्षेत्रबाट निसृत हुने बर्खाको पानीलाई संकलन गरेर ताल बनाइएको हो। यो ताल २४ मिटर अग्लो छ। यहाँ ८ लाख ५० हजार घनमिटर पानी सञ्चय गरेर राख्न सकिन्छ। यहाँ बाँध बाँधेर ताल बनाउनुको एउटै उद्देश्य हो, हिँउदमा बागमती नदीमा पानीको बहाव बढाउनु। धाप ड्याममा जम्मा गरिएको पानी नागमती हुँदै बागमतीमा मिसाइन्छ। ड्यामको यात्रा गर्दा बाटोमा यो दृश्य प्रस्ट देखिन्छ।
ड्याममा पुग्नुअघि करिब आधा घण्टा प्राकृतिक फुट ट्रेल भएर हिड्यौँ। एक ठाउँमा प्रशस्त ऐँसेलु घारी फेला प¥यो। सबै पदयात्रीका आँखा चम्किए। एक किसिमको सन्तुष्टि र रमाइलो अनुभूत गरे। सबै पदयात्री ऐँसेलुको बोटमा झुक्ति खेल्न थाले।
काँडाले घोच्दा एक जनाको मुखबाट निस्कियो- ‘ओहो, यसले त घोच्दो रहेछ’। ‘हो त नि सबै सुन्दर र मीठा वस्तु सहजै भेटिँदैनन्,’ मैले भने, ‘तर उक्ति र जुक्ति लगायो भने त्यति पीडादायी पनि हुँदैन।’

हाते लौरोले डालीलाई तानेर अगाडि नै ल्याइदिएपछि साथीहरूले रमाउँदै ऐँसेलुका दाना टिप्दै खाए। ड्यामबाट उत्तरतर्फ हेर्दा लहरै हिमालको दृश्य देखिन्छ। दायाँबायाँ हरियो जंगलको एकछत्र राज, विशाल तालको पानीमा हावाले ल्याएको लहर तरंग हेरेर मनै आनन्दित हुन्छ।

यो ड्याम स्थानीय पर्यटकका लागि पनि आकर्षक गन्तव्य भइसकेको रहेछ। त्यहाँ युवायुवतीको उपस्थितिले यही देखायो। चारपांग्रे र दुईपांग्रे सवारी सजिलै पुग्ने भएको हुँदा पनि युवामाझ यसको आकर्षण र ख्याति बढेको होला। युवा पुस्तामाझ धाप ड्याम लोकप्रिय रहेछ।

तालको अवलोकन गरेर सुन्दरीजल फेदीमा आइपुग्दा साँझ परिसकेको थियो। ड्याम, ताल, नागमती, घना जंगललाई स्मृतिमा राखेर घर फर्कियौँ।

 

    

प्रकाशित: २ असार २०८० १६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast