अभ्यास खेलमा नेपाल ओमानमाथि विजयी

हिमाल प्रेस ३२ जेठ २०८० २१:५३ | Thursday, June 15, 2023
अभ्यास खेलमा नेपाल ओमानमाथि विजयी

काठमाडौँ- विश्वकप २०२३ को छनोटको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा ओमानलाई दुई विकेटले पराजित गरेको छ। जिम्बाबेको हरारेमा बिहीबार नेपाललाई जिताउन कुशल भुर्तेलले शतक प्रहार गरे। उनको शतकको मद्दतमा नेपालले ४४.५ ओभरमा आठ विकेटको क्षतिमा २७४ रन बनायो।

टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४९.२ ओभरमा २६८ रनको योगफल तयार पारेको थियो। ओमानले प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गर्दा कप्तान जिशान मक्सुदको योगदान महत्त्वपूर्ण रह्यो। उनले १०६ बलमा १०९ रन नै बनाए।

नेपालको जितमा नायक बनेका कुशलले ९४ बल सामना गर्दा दुई छक्का र १३ चौका प्रहार गरे। उनीबाहेक नेपालका लागि उल्लेखनीय रन अर्का खेलाडी भिम शार्की रहे। उनले नौ चौकाको सहयोगमा ५६ रन जोडे। त्यसैगरी कप्तान रोहित पौडेलले ३१, आशिफ शेखले २३ र कुशल मल्लले १७ रनको योगदान गरे।

ओमानका लागि आयान खानले अर्धशतक बनाए। आयानले ४६ बलमा ५६ रन जम्मा गरे। पराजित टिमका शोएब खानले ३८, नासिम खुसीले १७ र सन्दिप गौडले १५ रन बटुले।

बलिङतर्फ सोमपाल कामीले पाँच विकेट हात पारे। त्यसैगरी सन्दिप लामिछानेले तीन तथा करण केसी र प्रतीस जीसीले एक–एक विकेट हात पारे।

नेपाल विश्वकप छनोट खेल्न जिम्बाबे पुगेको हो। त्यहाँ नेपालले स्कटल्यान्ड, नेदरल्यान्ड्स र संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धका अभ्यास खेलमा पराजित भइसकेको छ।आगामी आइतबारबाट सुरु हुने विश्वकप छनोटमा कुल १० टिमले प्रतिस्पर्धा गर्नेछन्।

ती १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘ए’ मा छ। यो समूहमा जिम्बाबे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन्। समूह ‘बी’ मा भने आयरल्यान्ड, ओमान, स्कटल्यान्ड, श्रीलंका र यूएई छन्।

दुई समूहका शीर्ष तीन टिम सुपर सिक्समा पुग्नेछन्। जहाँ प्रत्येक टिमले तीन–तीन खेल्नेछन्। सुपर सिक्सको शीर्ष दुईमा रहने टिमले विश्वकपमा स्थान पक्का गर्नेछन्।

अक्टोबर–नोभेम्बरमा हुने विश्वकपमा यसअघि नै आयोजक भारत, अफगानिस्तान, अस्टे«लिया, बंगलादेश, इंग्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान र दक्षिण अफ्रिकाले ठाउँ पक्का गरिसकेका छन्।

प्रकाशित: ३२ जेठ २०८० २१:५३ | Thursday, June 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast