मलेसियामा नेपाली महिला क्रिकेट टिम पराजित

हिमाल प्रेस १५ जेठ २०८० १२:२६ | Monday, May 29, 2023
मलेसियामा नेपाली महिला क्रिकेट टिम पराजित

काठमाडौँ- मलेसिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले पहिलो टि-२० खेलमा पाँच विकेटको पराजय भोगेको छ। मलेसियाको बांगीस्थित आईएसडी-युकेएम क्रिकेट ओभलमा साेमबार बिहान टस हारेर ब्याटिङ गरेको नेपाल १६.५ ओभरमा ५० रन बनाएर अलआउट भएको थियो।

नेपालले दिएको सानो लक्ष्य घरेलु टिम मलेसियाले १३.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो।

असाध्यै खराब ब्याटिङ गरेको नेपालका जम्मा दुई ब्याटरले मात्र दोहोरो अंकको स्कोर गरे। सोनु खड्काले १३ र ज्योति पाण्डेले ११ रन बनाइन्। कप्तान रुविना क्षेत्री दुई रनमा सीमित भइन् भने सीता राना मगर, कविता कुवँर, काजल श्रेष्ठ र इन्दुु बर्मा जस्ता भरपर्दा ब्याटरले पनि बिर्सनलायकको ब्याटिङ गरे।

सीता पहिलो बलमै आउट भइन् भने कविताले पनि कुनै रन जोड्न सकिनन्। यी दुईसँगै अप्सरी बेगम पनि शून्यमा समेटिइन्। काजलले ११ बलमा ६ रन बनाउँदा इन्दुको नाममा तीन रन रह्यो।

नेपाली इनिङ्स धराशयी बनाउन मलेसियाकी माहिराह इज्जाती इस्माइलले तीन रन खर्चिएर दुई विकेट हात पारिन्। सर्वाधिक विकेट भने निक नुर आटिएलाले लिइन्। उनले तीन विकेट हात पारिन्। त्यसैगरी एइसा इलिसा र एइन्ना हामिज हासिमले दुई–दुई विकेट लिए।

मलेसियालाई जिताउन वान जुलिया र हासिमले क्रमशः १३ र १२ रन बनाए। विजयी टिमका अन्य ब्याटरले दाहोरो अंकको स्कोर गर्न सकेनन्। ओपनर विनफ्रेड डुराइसिंगम र इज्जाती इस्माइल शून्यमा आउट भए।

नेपालका लागि रुविना र सीताले दुई–दुई विकेट लिए भने कविताको नाममा एक विकेट रह्यो। नेपाल पाँच टि-२० सम्मिलित शृंखला खेल्न मलेसिया गएको हो। अब दोस्रो खेल मंगलबार बिहान हुनेछ।

प्रकाशित: १५ जेठ २०८० १२:२६ | Monday, May 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast