 फाइल तस्बिर।
                            फाइल तस्बिर।
                                            २०७८ साउन १८ मा सप्तकोशीले धार परिवर्तन गर्यो। त्यसबेला सप्तकोशी नदी उदयपुरको बेलका नगरपालिका-८ स्थित डुम्रेबोटे(जिरो प्वाइन्ट)बाट बस्तीमा पसेको थियो। सप्तकोशीको बाढीलेसुनसरी क्षेत्रमै पर्ने श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरीलगायत बस्तीका मानिस फसेका थिए।
यसअघि २०६५ भदौ २ मा सप्तकोशी नदीको पूर्वी तटबन्धन भत्किएर बस्तीमा बाढी पस्दा हजारौँ नागरिक विस्थापित भए। कोशीको बाँध फुटेपछि मानिस विस्थापितसँगै हजारौँ बिघा खेतीयोग्य जमिन बगरमा परिणत भयो।
तत्कालीन पश्चिम कुसाहा, श्रीपुर, हरिपुर, लौकहीका हजारौँ मानिस विस्थापितसँगै खेतीयोग्य जमिन मासिएपछि अझैपनि यहाँका पीडित मुआब्जाको पर्खाइमा छन्।
कोशीनजिक बस्ने बासिन्दा बर्खायाम लाग्नासाथ पिरोलिन्छन्। खासगरी असार अन्तिम सातादेखि साउन, भदौ र असोज पहिलो सातासम्म आफूहरू पिरोलिने सुनसरीको बराहक्षेत्र नगरपालिका-९ श्रीलंका टापुका सन्तोष राजवंशी बताउँछन्।
‘सप्तकोशीले हरेक वर्षपूर्वबाट पश्चिमतर्फ धार काट्दै जान्छ, गत वर्ष सुनसरीको बराहक्षेत्रसहित उदयपुरको बेलका २ र ३ नम्बर वडामा प्रभावित गर्यो,’ उनले भने, ‘कोशीको बाढी नियन्त्रणका लागि सरकारी निकायबाट कुनै पहल भएको छैन। बरु यस वर्ष भारत सरकारसँगको समन्वयमा करिब एक किलोमिटरजति बाँध बाँध्ने काम भएको छ।’
उनका अनुसार गत वर्ष सप्तकोशीको बाढी पसेको स्थान आसपासमा ढुंगा, गिटीसहित बाँध बाँध्ने काम भइरहेको छ। तर यस विषयमा नेपाल सरकार र यहाँका जनप्रतिनिधि मूकदर्शकजस्तै बनेको राजवंशीको गुनासो छ।
‘श्रीलंका टापु उब्जनी धेरै हुने क्षेत्र हो, तर बाढीले बगाएर लैजाने चिन्ता हुन्छ,’ उनले भने, ‘चुनावअगाडि नेताहरू आउँछन्, आश्वासन दिन्छन्। सरकारी निकायबाट यहाँका बासिन्दाको पक्षमा र कोशीको बाढी बस्तीमा पस्न नदिन कुनै उपाय अपनाइएको छैन।’
खासगरी बर्खायाममा मात्रै सरकारले चासो देखाएजस्तो गरे पनि अन्य समयदेखि कोशी मानव बस्तीमा पस्न नदिन काम गर्नुपर्ने उनी बताउँछन्। उनका अनुसार खासगरी बराह क्षेत्रको २,६,८,९,१०,११ नम्बर वडा कोशी प्रभावित क्षेत्र हुन्। यीबाहेक सुनसरीको कोशी गाउँपालिका र बेलका नगरपालिकाका केही भूभाग प्रत्यक्ष प्रभावित छन्।
‘बर्खा लागेपछि यस क्षेत्रका मानिस अनिँदो बस्छन्,’ पत्रकारसमेत रहेका स्थानीय भीषण राई भन्छन्, ‘कोशीले प्रत्येक वर्ष धार पश्चिमतिर कटान गर्दै गएको छ। सरकारी निकायबाट देखिने गरी केही काम भएको छैन।’
कोशीबाट मानवीय तथा भौतिक रूपमा क्षति हुन नदिनराज्यबाट पूर्वतयारीसहित सचेतना, उपचारको जोहो तथा राहत, उद्धार पुनर्स्थापनाका लागि कुनै पहल नभएको राई सुनाउँछन्।
‘केही समयअघि सशस्त्र प्रहरी बलले उद्धारका निम्ति भनेर केही प्रयोगात्मक गरेको थियो,’ उनी भन्छन्, ‘तर खास समस्या परेका बेला आवश्यक जनशक्ति अभाव हुन्छ। बर्सेनि कोशीले धार परिवर्तन गर्दा कहाँ, कति क्षति हुन्छ भन्ने यकिन हुँदैन। कोशीले अझै धेरै कटान गर्छ होला भनेर यहाँका बासिन्दा चिन्तामा छन्।’
सप्तकोशी डुबान-कटान बाढीपीडित संघर्ष समितिका उपाध्यक्ष लालबहादुर लिम्बूले आफूहरू बर्सेनि बर्खायाममा कोशीको कहरमा बाँच्न बाध्य भएको सुनाए।
‘कोशीमा पानी बढ्दा हामीलाई समस्या हुँदैन तर पानी बढेपछि कटान भयो भने चिन्ता बढ्छ,’ उनी भन्छन्, ‘हामी त कोशीको आँखैअगाडि छौँ। पानी कति बढ्यो भन्ने थाहा हुन्छ। तर कहाँ, कतिबेला कटान हुन्छ भन्ने यकिन हुँदैन।’
सुनसरीको भोक्राहा, भण्टाबारी, इनरुवा, भारतको भीमनगरलगायत क्षेत्रका बासिन्दासप्तकोशीको बाढीका कारण त्रसित बन्ने गरेको उनी बताउँछन्।
कन्ट्रोल रुमको सिस्टम
बर्खायाममा ठूलो पानी परेपछि विभिन्न मिडियामा ‘कोशी ब्यारेजका यति ढोका खुले’ शीर्षकमा समाचार आउन थाल्छन्। समाचारकै कारण कतिपय मानिस त्रसित बन्छन्। तर यहाँ बालिने रातो बत्तीका कारण त्रसित बन्न नपर्ने यहाँका कर्मचारी सुनाउँछन्।
कोशी ब्यारेजको कन्ट्रोल रुममा काम गर्ने एक कर्मचारीका अनुसार हरेक वर्षको असार १ देखि असोज महिनाभर रातो बत्ती बालिन्छ।
सुनसरी र सप्तरीको सिमानामा पर्ने कोशी ब्यारेजमा सुनसरीपट्टि पर्ने सीमामा हरेक वर्षको चार महिना रातो बत्ती बालिन्छ। ‘रातो बत्ती बाल्नु भनेको खतराको संकेत हुँदै होइन,’ ती कर्मचारी भन्छन्, ‘हरेक वर्ष असार लागेपछि प्रतिसेकेन्ड पानीको बहाव डेढ लाख कट्छ। जबकि कोशीमा पानीको बहावको क्षमता ९ लाखसम्म थाम्ने गरी निर्माण गरिएको छ।’
हल्लाखल्ला र खतराको संकेत भनेर आउने समाचारका कारण स्थानीयमा मानसिक असर पर्ने उनी बताउँछन्। ‘म यहाँ काम गर्न थालेको १३ वर्ष भयो, यो बीचमा प्रतिसेकेन्ड चार लाख क्युसेकभन्दा बढी पानी माथि पुगेको छैन,’ उनी भन्छन्, ‘ठूलो पानी परेको बेला दिनमा दर्जनौँ मानिस सोध्न आउँछन्।’
उनका अनुसार कोशीमा बालुवा भरिएका कारण केही समस्या भने छ। बालुवाका कारण पानी माथिसम्म आउने र बस्तीमा पस्नसक्ने भएकाले यहाँका मानिस आत्तिएको उनी बताउँछन्। उनी भन्छन्,‘कोशीको उचाइ प्रत्येक वर्ष माथि आइरहन्छ। अब यसको समाधान भनेको बालुवाको व्यवस्थापन हो।’
कोशी आसपासका बस्ती नदीभन्दा होचो स्थानमा रहेकाले पनि समस्या भइरहेको उनी बताउँछन्। मर्मतसम्भारका लागि सरकारले चासो दिएको पाइँदैन।
कन्ट्रोल रुमका अनुसार ब्यारेजका ५६ ढोकामध्ये पूर्वतर्फका ढोका खोल्दा भारततिर भएर पानी बग्छ भने पश्चिमतिरका ढोका खोल्दा नेपाली भूभाग भएर पानी बग्ने गरेको छ। ब्यारेजका ढोका ४५ फिट अग्ला छन्। ढोका २२ फिटसम्म खोल्न मिल्छ। सुनसरी र सप्तरी जिल्लाको सिमानामा पर्ने सप्तकोशीको पुल अर्थात् कोशी ब्यारेज १७५ मिटर लामो छ।
कोशीको नाममा भोट माग्छन् नेता
सप्तकोशी प्रभावित क्षेत्र श्रीलंका टापुमा हरेक चुनावमा नेताहरू भोट माग्नमात्रै आएको स्थानीय सन्तोष राजवंशीको दुःखेसो छ।
‘चुनावको बेला नेताहरू लस्करै आउँछन्, स्थानीयलाई कोशी नियन्त्रण गर्ने प्रलोभन दिन्छन्,’ उनी भन्छन्, ‘नेताहरू अनुगमन गर्छन्। उच्चस्तरीय स्रोतबाट स्थायी समाधानका निम्ति कुनै कामै हुँदैन।’
उनको क्षेत्रबाट दोस्रोपटक नेपाली कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन्। सुनसरी क्षेत्र नं. ४ पर्ने उक्त क्षेत्रमा कार्कीले चुनावताका आफू सरकारमै रहेकाले कोशीको समस्या समाधानका निम्ति पहल गर्ने बताएका थिए। उनी तत्कालीन सञ्चार, सूचना तथा प्रविधिमन्त्री थिए।
सुनसरी, उदयपुर र सप्तरीलाई छोएर बग्ने सप्तकोशीले कटान गरेको आफूलाई जानकारी भएको बताउँदै उनले स्थायी समाधानका निम्ति काम गर्ने बताएका थिए।
कांग्रेस नेता डा. नारायण खड्काको गृहजिल्ला उदयपुरमा पनि बाढीले बर्सेनि पिरोल्दै आएको छ। पटकपटक उदयपुर क्षेत्र नं. १ बाट निर्वाचन जितेका खड्का यसअघि पटकपटक मन्त्री भइसकेका छन्। उनी मन्त्री हुँदा सप्तकोशी समस्या समाधानका निम्ति केही नगरेको स्थानीयको गुनासो छ।
जता बस्ती उतै बाढी
स्थानीयवासीका अनुसार २०४५ सालदेखि कोशी पूर्वतिरबाट बग्न थालेपछि पश्चिमतर्फ बस्ती बसेको थियो। तर पछिल्लो केही वर्षयता भने नदीले कटान गरेर पश्चिमतर्फ बग्न थालेको हो। नदी पश्चिमतर्फ बग्न थालेपछि स्थायी समाधानका निम्ति राज्यले काम गर्नुपर्ने स्थानीयको माग छ।
‘सप्तकोशी ठूलो नदी हो। यो नदीले सबैभन्दा बढी बालुवा ल्याउँछ,’ जलाधार तथा बाढीपहिरो विशेषज्ञ मधुकर उपाध्या भन्छन्, ‘बालुवा ओसार्ने नदी भएकाले पनि दायाँबायाँ काट्न थाल्छ। यहाँ निकै लामो दूरीमा तटबन्ध गर्नुपर्ने हुन्छ। जसका लागि धेरै खर्च आउने गर्छ। त्यसैले पनि यसको स्थायी समाधान नभएको हो। तर केही वर्ष लगाएर समाधान गर्न सकिन्छ।’
हरेक वर्ष कोशी पश्चिमतर्फ हुँदै बग्ने गरेको विभिन्न अध्ययनले देखाएको उनको तर्क छ। ‘पश्चिमपट्टि खोला, नदी बग्नु यसको चरित्र नै हो, बलियो तटबन्ध आवश्यक छ,’ उपाध्या भन्छन्, ‘तटबन्ध स्थायी समाधान होइन, तर जमिन वरपर रूख रोप्दा धेरै हदसम्म सहज हुन्छ।’
सुरक्षाको तयारी
सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे विपद् व्यवस्थापनका लागि काम भइरहेको बताउँछिन्। ‘बाढीको समयमा समस्या न्यूनीकरण र व्यवस्थापनका लागि विपद् योजना बनाइरहेका छौँ,’ उनी भन्छिन्, ‘योजनालाई अन्तिम रूप दिँदै विभिन्न निकायसँग सहकार्य गर्नेछौँ। यसरी मनसुनको समयमा काम गर्ने तयारी गरिरहेका छौँ।’
नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले विभिन्न काम गरिरहेको उनी बताउँछिन्। ‘संवैधानिक व्यवस्थाअनुसार अहिले सबै पालिकाले स्रोतसाधन पहिचान गरेर फोकल पर्सनलाई प्रयोगात्मक गरिरहेका छन्,’ उनी भन्छिन्, ‘विभिन्न निकायसँग छलफल पनि चलिरहेको छ।’
पालिकाका विभिन्न क्षेत्रका जनशक्तिलाई तालिमको माध्यमबाट तयारी अवस्थामा राखिने पाण्डे बताउँछिन्। ‘नदी जहाँबाट बग्छ, मानव बस्तीमा पस्छ,’ उनी भन्छिन्, ‘ती क्षेत्रमा उच्च सतर्कता अपनाउन हामीले काम गरिरहेका छौँ।’
नदीले लगाएको गुन
सुनसरीका पत्रकार कृष्णविनोद लम्सालको अनुसन्धानात्मक आख्यान ‘सप्तकोशी किनारबाट’ पुस्तकमा उल्लेख भएअनुसार चतरादेखि कोशी ब्यारेजसम्म ५८ किलोमिटर लम्बाइ छ। चतराभन्दा अलिक माथि बराहक्षेत्र मन्दिरनजिकै त्रिवेणी भन्ने ठाउँमा सातवटा नदी मिसिएर सप्तकोशी बनेको हो। उक्त पुस्तकमा लम्सालले लेखेका छन्, ‘यी नदीबाट धेरै अन्नबाली उब्जनी हुने सिँचाइ योजनामात्र होइन, ठूलठूला विद्युत्गृह पनि सञ्चालित छन्। यसकारण यी नदीले राष्ट्रलाई राष्ट्रव्यापी गुन लगाएका अवश्य हुन्।’
नदीमा जाल हानेर, ढडिया थापेर बल्छी हान्दै माछा मारेर जीविका चलाइरहेका नागरिकलाई पनि नदीले गुन लगाएको छ।


 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 