बुन्डेसलिगा : संकटमा बायर्नको आधिपत्य

हिमाल प्रेस १३ जेठ २०८० १२:४७
16
SHARES
बुन्डेसलिगा : संकटमा बायर्नको आधिपत्य

काठमाडौँ- लगातार १० सिजन भयो, बायर्न म्युनिखले बुन्डेसलिगा जितेको। बायर्नको च्याम्पियन बन्ने शृंखलामा यसपालि भने ब्रेक लाग्न सक्छ। ब्रेक लगाउने हुती भएको क्लब अरु कोही नभएर बोरुसिया डर्टमन्ड हो। जो हाल शीर्षस्थानमा छ।

डर्टमन्ड शनिबार जर्मनीको नयाँ च्याम्पियन बन्नसक्छ। च्याम्पियन बन्न डर्टमन्डले पूरा गर्नुपर्ने एउटै शर्त हो, मेन्जमाथिको जित। मेन्जलाई पराजित गरे डर्टमन्डको ७३ अंक हुनेछ। डर्टमन्ड हारे, बायर्नसँग एफसी कोलोनलाई पन्छाउँदै सरासर ११ औँ पटक लिग विजेता बन्ने विकल्प खुला हुनेछ।

डर्टमन्ड पछिल्लो पटक बुन्डेसलिगा च्याम्पियन बनेको सन् २०१२ मा हो। त्यसयता ६ पटक उपविजेता बनेको छ। गएको सिजन पनि डर्टमन्डले पाएको स्थान दोस्रो नै थियो।

खासमा बायर्नले पछिल्लो एक दशक बुन्डेसलिगामा दबदबा कायम गरेकै हो। दबदबा पनि यस्तो कि अन्य क्लब छेउमै आइपुग्न नसक्ने। गएका पाँचमध्ये चार सिजनको अंक तालिका हेरे यो पुष्टि भइहाल्छ। गत सिजन च्याम्पियन बन्दा बायर्न दोस्रो स्थानको डर्टमन्डभन्दा आठ अंकले अघि थियो।

सन् २०२०/२१ मा आरबी लाइपजिग र २०१९/२० मा डर्टमन्डलाई १३-१३ अंकले पछि पार्दै बायनले उपाधि उचालेको थियो। सन् २०१८/१९ मा मात्र हो, लिग च्याम्पियनको छिनोफानो अन्तिम दिनमा भएको। त्यसबेला डर्टमन्डलाई विजेता बन्न दुई अंक अपुग थियो। त्यसअघिका दुई सिजनमा उपविजेता बनेका साल्का र लाइपजिग क्रमशः २१ र १५ अंकले पछाडि थिए।

यसपालि पनि बायर्नसँग सदाझैँ स्टार खेलाडीले भरिएको टिम छ। तर नाम चलेका खेलाडी भए पनि बायर्ननले डर्टमन्डबाट सुरुबाटै दबाब महसुस गरिरह्यो। नथाकेको डर्टमन्डकै दबाबका कारण हुनसक्छ, बायर्न निकै खेलमा चिप्लिन पुग्यो। गएको शनिबार मात्र पनि बायर्न लाइपजिगसँग ३१ ले हार्‍याे। जबकि घरेलु मैदानमा अग्रता बायर्नले लिएको थियो।

पछिल्ला १० खेलको हिसाब गर्ने हो भने, बायर्नले तीनमा हार व्यहोरेको छ। अनि एक खेलमा बराबरीमा रोकिएको छ। तीमध्ये दुई हार र एक बराबरी चाहिँ हालका प्रशिक्षक थोमस टुकल आएपछिको हो। उता डर्टमन्ड १० खेलमध्ये एकमा पराजित भएको थियो। पराजय संयोगवश बायर्नसँग खेल्दा भोग्नु परेको थियो। अर्को संयोग, यही खेल टुकलका लागि बायर्नको प्रशिक्षकका रुपमा पहिलो थियो। बुन्डेसलिगामा पुनरागमन गरेको खेलमा पूर्वक्लबलाई हराए पनि टुकलका लागि बायर्न बसाइ सोचेजस्तो हुन सकेको छैन।

बायर्नबाट उपाधि खोस्ने अवस्थामा पुगेको भए पनि डर्टमन्ड फुर्किएको छैन। डर्टमन्डका युवा प्रशिक्षक एडिन टेर्जिकले लिगमा अब एक खेल बाँकी रहेकाले आफ्ना खेलाडीलाई एकाग्रता नगुमाउन आह्वान् गरेका छन्। ‘हामी च्याम्पियन बनिसकेका छैनौँ। तर नजिक भने पुगेका छौँ। निर्णायक कदम चाल्न तयार छौँ। टिमका रुपमा, क्लबका रुपमा र सहरका रुपमा हामी सबै यो कदमका लाग तयार छौँ,’ टेर्जिकले भनेका छन्।

टेर्जिक यही सिजन डर्टमन्डको प्रशिक्षक बनेका हुन्। म्युनिखबाट छापिने प्रसिद्ध अखबार जीडच जाइटुङले उनलाई योगर्न क्लपपछिको उत्कृष्ट डर्टमन्ड प्रशिक्षक भनेको छ। क्लपलाई प्रतिस्थापन गरेका टुकलभन्दा टेर्जिकलाई माथि राखिनुको सन्देश हो, चेल्सीका पूर्वप्रशिक्षकप्रतिको आकर्षणमा ह्रास आएको छ।

बुन्डेसलिगा उपाधि रक्षा गर्न नसके बायर्न सन् २०१११२ यता पहिलो पटक उपाधिविहीन बन्नेछ। बायर्न यसअघि नै च्याम्पियन्स लिग र घरेलु कपबाट बाहरिसिकेको छ। यस्तोमा क्लबका भेट्रान खेलाडी थोमस मुलरले समर्थकलाई सिजनको अन्तिम सातासम्म धैर्य राख्न आग्रह गरेका छन्। ‘सम्भावना अझै बाँकी छ,’ बायर्नबाट १० पटक बुन्डेसलिगा जितेका मुलरले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन्।

जर्मनीमा यसपटक उपाधिका लागि मात्र होइन, शीर्ष चारका अन्य स्थानका लागि पनि प्रतिस्पर्धा रोमाञ्चक बनेको छ। तेस्रो स्थानको लाइपजिग आगामी सिजनको च्याम्पियन्स लिग खेल्ने पक्का भइसक्दा चौथो स्थानका लागि युनियन बर्लिन र फ्राइबर्गबीच प्रतिस्पर्धा चलिरहेको छ। लाइपजिगसँग ६३ अंक छ भने युनियन र फ्राइबर्गले ५९५९ अंक बटुलेका छन्। गोल अन्तरमा युनियनमाथि रहेको हो। आआफ्ना अन्तिम खेलमा लाइपजिगले साल्का, युनियनले वेर्डर ब्रेमन र फ्राइबर्गले फ्रान्कफर्टको सामना गर्दैछन्। युनियन हारे र फ्राइबर्गले जिते फ्राइबर्ग पहिलो पटक च्याम्पियन्स लिग खेल्नेछ।

शीर्ष चारभित्र अट्नका लागि कडा प्रतिस्पर्धा सामना गरिरहेको युनियनका प्रशिक्षक उर्स फिसरले आफ्नो टिमलाई संयमित रहन भनेका छन्। ‘सिजनको यो अन्तिम खेल हाम्रा लागि असाध्यै महत्त्वपूर्ण छ। हामी संयमित नरहे च्याम्पियन्स लिगको अवसर गुम्न सक्छ,’ फिसरले भनेका छन्।

फ्राइबर्ग छैटौँ स्थानको बायर्न लेभरकुजनभन्दा नौ अंकले टाढा छ। यसकारण फ्राइबर्गले युरोपा लिगमा स्थान पक्का गरिसकेको छ। फ्राइबर्गको विपक्षी फ्रान्कफर्ट भने आठौँ स्थानमा छ। गत सिजन युरोपा जितेको फ्रान्कफर्ट युरोपेली क्लब फुटबलमा फर्कन ग्राहो छ। कम्तीमा छैटौँ भएर युरोपा कन्फ्रेन्स लिगका लागि छनौट हुन फ्रान्कफर्टले फ्राइबर्गलाई हराएर मात्र पुग्दैन। सातौँ स्थानको उल्फ्सबर्ग र छ्रटौँ स्थानको लेभरकुजनले पनि आआफ्ना खेल हार्नुपर्छ।

उता रेलिगसनबाट बच्न संघर्ष गरिरहेका क्लबको संख्या चार छ। हेर्था बर्लिन रेलिगेट भइसकेकाले अब थप एउटा क्लब दोस्रो श्रेणीमा झर्नेछ। १८ क्लब प्रतिस्पर्धा गर्ने बुन्डेसलिगामा १६ औँ स्थानको क्लबले दोस्रो श्रेणीको लिगमा तेस्रो स्थान हासिल गर्ने क्लबसँग प्लेअफ खेल्नेछ। प्लेअफमा विजयी हुनेले आगामी सिजन बुन्डेसलिगामा स्थान पक्का गर्नेछ। दोस्रो श्रेणीको लिगमा शीर्ष दुईमा रहनेले भने स्वतः बुन्डेसलिगा खेल्न पाउनेछन्।

यसपालि रेलिगेसनको क्रास अग्सबर्ग, स्टुटगार्ट, बोचुम र साल्कालाई पनि छ। १४ औँ स्थानको अग्सबर्गदेखि १७ औँ स्थानको साल्कासम्म अंक दूरी मात्र तीन अंकको छ। बुन्डेसलिगाको अन्तिम चरणमा चार क्लबमध्ये सबैभन्दा बलियो विपक्षीको सामना साल्काले गर्नेछ। साल्का सिजनको अन्तिम खेल खेल्न लाइपजिग पुग्नेछ। त्यसैगरी बोचुमले लेभरकुजन, स्टुटगार्टले होफनहाइम र अग्सबर्गले बोरुसिया मन्चुनग्लाडबागको सामना गर्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast