एमालेलाई आपत्ति हुने गरी सुनको जलहरीबारे माओवादी सांसदले के बोलेका थिए?

हिमाल प्रेस १२ जेठ २०८० १४:११
202
SHARES
एमालेलाई आपत्ति हुने गरी सुनको जलहरीबारे माओवादी सांसदले के बोलेका थिए?

काठमाडौँ- बुधबारको संसद् बैठकमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले बोलेको विषयलाई लिएर आज शुक्रबार नेकपा एमालेले संसद् नै अवरुद्ध गरेको छ। बुधबारको बैठकमा दाहालले पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा सुन भनेर पित्तल राखेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रश्न उठाएका थिए।

‘केपी ओलीले नीति तथा कार्यक्रममाथि जसरी बहस गर्नुपर्थ्यो, त्यस्तो भएन। ओलीले नीति तथा कार्यक्रम नै खारेज गर्नुपर्छ भन्नु भयो। लामो र बोझिलो कुरा बोल्दा ओलीसँग इर्ष्या र कुन्ठा मात्रै थियो। उहाँको बोझिलो प्रवचनमा होच्याउने कुरा थियो। त्यहाँ सत्य थिएन भ्रम थियो’ उनले भनेका थिए।

त्यस्तै दाहालले जलहरीबारे प्रश्न उठाउँदै थपे, ‘ओलीको पालामा पशुपतिमा जलहारी लाउँदा पनि सुनको नाममा पित्तलको हाले भ्रष्टाचार गरे। यो सरकारले मूलभूत रुपमा सरकारले जनताका आवश्यकता सम्बोधन गर्छ।’

पशुपति क्षेत्र विकास कोषका तत्कालीन पदाधिकारीहरूले पशुपति मन्दिरमा सुनको जलहरी राख्दा ११ किलो सुन नै गायब पारेको विषयमा महालेखा परीक्षकको प्रतिवेदनमा पनि प्रश्न उठाइएको थियो।

महालेखाको ५९ औँ प्रतिवेदनमा जलहरी राख्दा १० किलो ९ सय ६७ ग्राम सुन गायब भएको उल्लेख थियो। त्यसबेलाको मूल्यअनुसार ७ करोड ८६ लाख ४६ हजार रुपैयाँबराबरको सुन गायब भएको प्रतिवेदनमा उल्लेख गरिएको थियो।

जलहरी राख्ने समयमा कोषले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजारमा रुपैयाँ खरिद गरेको थियो। विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण, तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक १२ किलो ७५० ग्रामसमेत प्रयोग गरी १०७ किलो ४९० ग्राम सुन कायम रहेको उल्लेख गरिएको थियो।

निर्मित जलहरी, जलधारा, नागमूर्ति सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ५ सय १४ ग्राम रहेको र बाँकी रहेको १० किलो ९ सय ७६ ग्राम सुनको रिङ बनाइ जलहरीमा लगाएको उल्लेख गरिएको छ। तर, बनाउने भनिएको रिङ नै बनाएको नदेखिएकोले त्यो परिमाणको सुन गायब गरेको महालेखाको ५९ औँ प्रतिवेदनमा उल्लेख थियो।

प्रकाशित: १२ जेठ २०८० १४:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast