काठमाडौँ- बिहे, व्रतबन्धजस्ता शुभकार्यमा बजाइने नेपालको परम्परागत लोकबाजा हो, पञ्चेबाजा। आधुनिक बाजागाजा र गीतसंगीतका कारण पछिल्लो समय पञ्जेबाजा बज्न कम भएको छ।
पश्चिमा संस्कृतिको प्रभावले अहिले नेपाली लोकबाजा, ब्यान्ड बाजामा परिणत भएका छन्। आधुनिक र पपगीतको प्रभाव समाजमा पर्दै गएपछि पञ्चेबाजा बज्न कम भएको जानकारहरू बताउँछन्।
यति हुँदाहुँदै अहिले पनि धेरै मानिस छन्, जसलाई पञ्चेबाजा मन पर्छ। त्यसको धुन मन पर्छ। त्यसैले होला लोकबाजाको ‘न्यास्रो’ मेट्न कतिपयले सहरतिर साउन्ड सिस्टममा रेकर्डेड पञ्चेबाजा बजाउने गर्छन्।
यस्ता प्रशंसकका लागि गीतसंगीत क्षेत्रबाट पञ्चेबाजा जोगाउने प्रयास भइरहेको छ। हिजोआज थुप्रै यस्ता गीत सार्वजनिक भइरहेका छन् जसमा पञ्चेबाजा प्रयोग भएको हुन्छ। पञ्चेबाजाको लयमा गीत सार्वजनिक गर्ने गायकगायिका, संगीतकार थुप्रै छन्।
यी गीत माइतीघर छाड्नुपर्ने छोरीको वेदना, प्रेमकथा, बिहेमा जन्तीपक्ष र बेहुलीपक्ष बीचको कुराकानीजस्ता भावमा बनाइएका छन्।
पञ्चेबाजाको धुनले जोकोहीको मन छुन्छ। त्यसैले संगीत क्षेत्रमा सार्वजनिक पञ्चेबाजा गीतले पनि निकै राम्रो प्रतिक्रिया पाइरहेका छन्। छोटो समयमै गीतलाई लाखौँले हेरिरहेका हुन्छन्।
हालै सार्वजनिक गीत
यही वैशाखमा सार्वजनिक ‘थर दिन्छौ र’ बोलको पञ्चेबाजा गीतले हालसम्म ६ लाखभन्दा बढी भ्युज पाइसकेको छ। गीतले छोटो समयमै सफलता हात पार्नुको कारण फरक शैली र मौलिक गीत भएको गायिका सुमन थापामगर बताउँछिन्।
‘पश्चिमतिर रोधीमा बस्दा गाइने गीतलाई पञ्चेबाजामा ढालिएकाले पनि दर्शकले रुचाउनुभएको हुन सक्छ,’ उनी भन्छिन्। सामाजिक सञ्जाल चलाउनेले गर्दा पनि गीतले राम्रै स्थान पाएको उनको भनाइ छ। ‘पछिल्लो समयमा टिकटकले पनि संगीतलाई उकास्ने काम गरिरहेको छ,’ उनी भन्छिन्।
वैशाखजेठ बिहे गर्ने समय भएकोले पनि दैनिकजसो पञ्चेबाजालाई प्राथमिकता दिएर नयाँ गीत सार्वजनिक भइरहेका छन्। प्रतिस्पर्धाको बजार र बिहेको समयमा धेरै गीत सार्वजनिक भइरहँदा आफूले गाएको गीतलाई दर्शकले रुचाइदिएकोमा गायिका मगर प्रफुल्लित छिन्। भन्छिन्, ‘यति धेरै माया पाउँछु भन्ने सोचेकै थिइनँ।’
गायिका मगर र रेशम निर्दोषको स्वर रहेको गीतमा ईश्वर सिंहको लय र रमेश बिजीको शब्द छ।
त्यस्तै ‘जूनको चाँदनी’, ‘मन परेकी डल्ली’ ‘माइतीघर’लगायत गीत केही दिनअघिमात्र सार्वजनिक भएका छन्। जसमा पञ्चेबाजा रहेको छ।
‘जूनको चाँदनी’ले हालसम्म आठ लाखभन्दा बढी भ्युज पाइसकेको छ। अर्जुन सुवेदीको शब्द रहेको गीतमा अस्मिता डल्लाकोटी र शक्तिकुमार गोदारको स्वर छ।
सूर्य खड्का र रेजिना परियारको स्वर र शिव अखेलीको शब्द रहेको ‘मन परेकी डल्ली’ ले साढे तीन लाख बढी र ‘माइतीघर’ ले हालसम्म दुई लाख बढी भ्युज पाइसकेका छन्। गीतमा वसन्त थापा, राम बिसी, गोविन्द पौडेल, निर्मला मगर र शान्ति थापाको स्वर र गीता देवीको शब्द छ।
‘बागलुङ बलेवा’, ‘न काली न गोरी’, ‘बागलुङ पञ्चकोट’ बोलका गीत पनि हालसालै सार्वजनिक भएका पञ्चेबाजा बोलका गीत हुन्।
चर्चित पञ्चेबाजा गीत
पञ्चेबाजामा लोकदोहोरीमात्र सार्वजनिक भएका छैनन्। अहिले पञ्चेबाजामा ब्याटल पनि आइसकेको छ। गत वर्ष सार्वजनिक भएको ‘साली कमला’ बोलको पञ्चेबाजा गीत ब्याटलमा छ। गीत चर्चित छ।
गीतको भ्युज हेर्ने हो भने साढे दुई लाखजति छ। प्रितम पोखरेलको शब्द रहेको गीत प्रितमसहित अस्मिता डल्लाकोटी, प्रितम पाठक र रीता रावतले गाएका छन्।
रविन लामिछाने र भूमिका गिरीको आवाज रहेको ‘तारासँगै जून’ बोलको गीत पनि ब्याटल पञ्चेबाजा नै हो। जसले हालसम्म ५७ लाख बढी भ्युज बटुलेको छ।
प्रकाश सपुत र देवी घर्तीको आवाज रहेको छ वर्षअघि सार्वजनिक ‘माकुर माकुर घुर’ बोलको पञ्चेबाजा गीत करोड क्लबमा पुग्न सफल भएको छ। हालसम्म उक्त गीत सवा करोडभन्दा बढीले हेरिसकेका छन्।
रवीन्द्र लामिछानेको शब्द रहेको ‘शिरफूल शिरको’ बोलको गीत निकै चर्चित छ। ७५ लाखभन्दा बढी भ्युज पाइसकेको छ। गीतलाई शान्तीश्री परियार र ईश्वर सिंहले स्वर दिएका छन्।
त्यस्तै टंक लम्साल र सुनीता बुढा क्षेत्रीको स्वरमा रहेको ‘पञ्चेबाजाको’ बोलको गीत पनि चर्चित नै छ। गीत हालसम्म आठ लाखजतिले हेरेका छन्। गीतका रचनाकार पुरुषोत्तम सिग्देल हुन्।
समीक्षा अधिकारी र सुवास खत्रीको स्वरमा रहेको ‘गाउँमा घर छ’ बोलको गीत छ लाखभन्दा बढीले हेरेका छन्। गीतमा रचनाकार सुजित खत्री हुन्।
यी त केही उदाहरण हुन्। यस्ता थुप्रै गीत छन् जसले भिडियो र शब्दमा लोक संस्कृतिको जगेर्ना गरेको छ।
गीतमार्फत संरक्षणमा लोकबाजा
हराउने स्थितिमा पुगेको पञ्चेबाजा अहिले नयाँ पुस्ताले केही हदसम्म संरक्षण गरिरहेको गायिका सुमन बताउँछिन्। ‘पहिले दलित समुदायले मात्र बजाउने प्रचलन हटेको छ,’ उनी भन्छिन्, ‘अन्य जातजाति र महिला दिदीबहिनी पनि समूहमा पञ्चेबाजा बजाउँछन्।’
भ्युज र प्रतिक्रियालाई आधार मान्दा अहिले दर्शकले पनि मौलिक गीतलाई नै मन पराउन थालेकोले पुराना गीतले प्राथमिकता पाउने गरेको उनको बुझाइ छ। ‘लाइभमा पञ्चेबाजा बज्न कम भए पनि हामीले लोकगीतमार्फत यसलाई बचाउनुपर्छ भनेर लागरिरहेका छौँ,’ उनी भन्छिन्।
त्यस्तै अर्का कलाकार प्रितम पोखरेल पहिलेजस्तो पञ्चेबाजा बज्न छोडेको बताउँछन्। ‘अहिले डेक बज्ने, ब्यान्ड बाजामा मानिसहरू रमाउन थालेका छन्,’ उनी भन्छन्, ‘आर्थिक रूपले सम्पन्नले मात्र बजाउने गर्छन्।’
तर संगीतमार्फत यसलाई केही हदसम्म जगेर्ना गरिरहेको कुरामा उनी सहमत देखिन्छन्। आर्थिक रूपमा पनि संगीतले सहयोग गरिरहेको भन्दै उनी भन्छन्, ‘मध्यम वर्गीय परिवारले डेकबाट पञ्चेबाजाका गीत घन्काएर मनोरञ्जन लिइरहेका हुन्छन्।’
समाज र परिवेशले कोल्टे फेरे पनि आफ्नो संस्कृति जोगाउन मानिस पुरानै शैलीमा फर्किन लागेको उनको अनुभव छ। ‘समाज आधुनिकीकरणतर्फ रहे पनि मानिसहरू अहिले मौलिकता नै मन पराउन थालेका छन्,’ उनी भन्छन्।
अहिले हराइसकेको दोहोरी गीतले जसरी फड्को मारेको छ, त्यसै गरी लोक गीतसंगीत र परम्परा पनि ब्युँतिनेमा गायक पोखरेल विश्वस्त छन्।