पढ्दै पञ्चेबाजा बजाउन सिक्दै विद्यार्थी

हिमाल प्रेस ३ माघ २०८० १०:२७
206
SHARES
पढ्दै पञ्चेबाजा बजाउन सिक्दै विद्यार्थी

बागलुङ- बागलुङ नगरपालिका-१३ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी पञ्चेबाजा संरक्षणमा जुटेका छन्।

कक्षा २ देखि १० सम्मका विद्यार्थी अध्ययनको अतिरिक्त विद्यालयमा बाजा बजाउने कला पनि सिक्ने गर्दछन्। विद्यालयले हालै आफ्नो ७४औँ वार्षिकोत्सव मनाउँदा बालबालिकाले पञ्चेबाजा बजाएका थिए।

विद्यालयका शिक्षक थमबहादुर परियारले विद्यार्थीलाई बाजा बजाउन सिक्नका लागि प्रेरित गरिराखेका छन् भने बिदाको समय सिकाउनेसमेत गर्दै आएका छन्।

कक्षा ९ का विराज परियार सनाई, कक्षा २ का विहान परियार ढोलक, कक्षा ५ का आयुस परियार र कक्षा ७ का पृथ्वी परियारले ट्याप्पो बजाउँछन्।

कक्षा १० मा पढ्ने रेश्नुका परियार झ्याली बजाउँछिन् भने कक्षा ४ मा अध्ययन रतदिप्सन परियार र कक्षा ६ मा पढ्ने सक्षम परियारले कर्नाल बजाउने गरेका छन्।

कक्षा ३ मा अध्ययनरत आयन परियार र कक्षा ४ मा अध्ययनरत विहान परियार (ख) ले दमाहा बजाउँछन्। उनीहरू सबैले घरमा राखेको बेलामा बजाउँदा सिकेको शिक्षक थमबहादुर जानकारी दिए।

पछिल्लो सयम गाउँमा बाजा बजाउनेको संख्या नपुग्ने भन्दै साना विद्यार्थीले बजाउन थालेपछि पञ्चेबाजा संरक्षण हुने आशा जागेको उनको भनाइ छ। ‘पहिले गाउँमा बाजा बजाउने टोली धेरै थिए,अहिले युवाले बजाउन लाज मान्छन्,बूढापाकाले नसक्ने भएपछि बाजा बजाउने चलन हराउँछ कि भन्ने डर थियो, अहिले हाम्रा नानीबाबुले धेरै रुचि राखेर बजाउन थालेका छन्’, शिक्षक थमबहादुरले भने,‘मैले पनि राम्रोसँग सिक्नुपर्छ भनेर सिकाउने प्रयास गरेको छु, एक टोली १० जनाको हुन्छ, विद्यालयले बाजा बजाउने एक टोली उत्पादन गर्ने देखिएको छ,नयाँ पुस्ताले नसिके बाजा बजाउने प्रचलन लोप हुने अवस्थामा पुगेको छ।’

प्रधानाध्यापक तिलक आचार्यले विद्यार्थीलाई बाजा बजाउन प्रेरित गर्नका लागि पञ्चेबाजा संकलन अभियान सुरु गरेको जानकारी दिए। अहिले विद्यालयमा एउटा पनि बाजा नहुँदा सिकाउन नसकेको उनको भनाइ छ।

विद्यार्थीलाई किताबी ज्ञानसँगै अन्य क्षमतालाई प्रस्फुटन गर्ने वातावरण तयार गरेको जनाउँदै उनीहरूलाई सक्षम बनाउनतर्फ लागेको प्रधानाध्यापक आचार्यले बताए।

अहिले बाजाको माग निकै बढिरहे पनि बजाउने मान्छेको अभाव खट्किँदै गएको छ। बागलुङ पञ्चेबाजाका लागि प्रख्यात मानिन्छन् तर पछिल्लो समय बाजा बजाउने दक्ष युवाशक्तिले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ।

मेला, महोत्सव, विवाह, व्रतबन्ध तथा शुभकार्यमा बजाइने पञ्चेबाजा अचेल कमै मात्रामा बज्ने गर्छन्। बाजाका सट्टा ठूलाठूला साउण्ड सिस्टममा ‘रेकर्डेड’ गीत बजाइने गरिएको छ।

कहीँ बाजा बजाउने जनशक्ति छैनन्, कहीँ भएर पनि बजाउन चासो दिँदैनन्। यसकारण मौलिक पञ्चेबाजा संरक्षणमा चुनौती बढेको छ। रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 15 =