मतदातासामु प्रदीप पौडेलले भने- माला र टीकाको मर्यादा कायम राख्नेछु

हिमाल प्रेस १७ मंसिर २०७९ १४:३३
4
SHARES
मतदातासामु प्रदीप पौडेलले भने- माला र टीकाको मर्यादा कायम राख्नेछु

काठमाडौँ- कांग्रेस नेता एवम् काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ बाट संघीय प्रतिनिधिसभामा निर्वाचित प्रदीप पौडेलले तनहुँबाट आएर चुनाव जितेँ भनेर आफूले कहिल्यै अहंकार नदेखाउने प्रतिबद्धता जनाएका छन्। राजधानीमा उनको सम्मानमा शनिबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘म तनहुँबाट आएर एकैपटक चुनाव जितेँ भनेर अहंकार बढाउने छैन।’

उनले आफूले जनमतसहित जनताले लगाइदिएको स्नेहपूर्वक लगाइदिएको माला र रातो टीकाको मर्यादा कायम राख्ने बताए। परिवर्तनका पक्षमा यथास्थिति कायम रहेमा निराशा उत्पन्न हुने भएकाले त्यस्तो हुन नदिने उनले बताए। यसका लागि पार्टीको मर्यादालाई पनि कायम राखेर अघि बढ्ने उनको भनाइ छ। उनले राजनीतिले विश्वास गर्ने गरी काम गर्ने बताए।

निर्वाचनमा सबै उम्मेदवारले उठाएका प्रतिबद्धतालाई पनि आफूले सँगै लिएर अघि बढ्ने पनि उनले बताए। उनले भने, ‘नभेटिने सांसद होइन, सधैँ भेटिने सांसदका रूपमा मेरो परिचय हुनेछ।’

पौडेलले राजनीतिले गुमाएको नैतिकता जोगाउन सक्रिय हुने प्रतिबद्धता जनाएका छन्। उनले भने, ‘म प्रश्नहरूसँग असाध्यै डराउँछु। सार्वजनिक रूपमा उठेका प्रश्नको उत्तर दिन सकिनँ भने मेरा प्रति कसैको पनि विश्वास कायम रहन सक्दैन। प्रश्नसँग डराउन सक्ने मान्छेलाई मात्र काम गर्न सक्छ। म त्यसलाई कायम गर्ने प्रतिबद्धता जनाउँछु।’

पौडेलले कम्तीमा छ महिनामा टोलटोलमा आएर जनतासँग सांसद कार्यक्रम आयोजना गरिने जानकारी बताए। उनले जनताका खास स्वार्थलाई राजनीतिले सम्बोधन गर्न नसकेको उनको भनाइ छ। उनले भने, ‘राजनीतिले सुशासन र न्याय दिन सकेन। हामीले नबुझिने ढंगबाट धेरै वादका कुरा गर्‍यौँ। आफूले गरेका सबै गल्तीलाई ढाकछोप गर्‍यौँ।’

उनले चुनावमा गरेका प्रतिबद्धताबाट पछि नहट्ने बताए। उनले भने, ‘राजधानीका समस्या समाधान गर्न संघीय सरकारले गुरुयोजना बनाउनुपर्छ। काठमाडौँलाई गुगगले जसरी चिनाएको छ, त्यसको पहिचान परिवर्तन गर्नु जरुरी छ। प्रदूषित सहरको सूचीबाट हटाउन आवश्यक छ।’

उनले काठमाडौँको व्यवस्थित र मौलिक विकास नभएको बताए। पौडेलले भने, ‘काठमाडौँलाई काठमाडौँ नै बनाउने हो, सिंगापुर र स्विट्जरल्यान्ड बनाउने होइन।’

प्रकाशित: १७ मंसिर २०७९ १४:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =