काठमाडौँ- आज विश्व प्रेस स्वतन्त्रता दिवस। नेपालसहित संसारभरि यो दिवस मनाइँदैछ। यस अवसरमा संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले दुनियाभरमा मिडियामाथि आक्रमण भइरहेको बताएका छन्।
‘सन् २०२२ मा पत्रकारहरूको हत्या ५० प्रतिशतले बढेको छ,’ उनले भनेका छन्, ‘यो अविश्वसनीय छ। मिडियाको स्वतन्त्रता लोकतन्त्र र न्यायको आधारशिला हो। जो अब संकटमा छ।’
गुटेरेसका अनुसार सन् २०२२ मा लगभग ६७ सञ्चारकर्मीको हत्या भएको छ। त्यस्तै डिजिटल प्लेटफर्मको प्रयोगले झुटो प्रचार र पत्रकारलाई प्रताडित गर्न सजिलो बनाएको छ। सत्यमाथि गलत सूचनाको संकट हाबी हुँदै गएको पनि गुटेरेसको भनाइ छ।
३०औँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा भिडियो सन्देशमा उनले भनेका छन्, ‘दुष्प्रचार र द्वेषपूर्ण भाषण (हेट स्पिच)ले सत्य, कल्पना, विज्ञान र षड्यन्त्र बीचको अन्तरलाई धमिलो बनाउन खोजिएको छ। जसले गर्दा सत्य खतरामा छ।’ डिसेम्बर १९३३ मा संयुक्त राष्ट्र महासभाले हरेक वर्ष मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउन थालेको हो।
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)को एक सर्वेक्षणअनुसार ६५ देशमा विरोध प्रदर्शनको रिपोर्टिङ गर्ने पत्रकारमाथि हमला भएको छ। १ सय ६० देशमा अभिव्यक्ति स्वतन्त्रताको अधिकार आज पनि अपराधिक कानुनअन्तर्गत पर्ने गर्छ।
‘रिपोर्टर्स विद्आउट बोर्डर्स’ को २०२३ विश्व प्रेस स्वतन्त्रता सूचकांकअनुसार ३१ देशको अवस्था निकै गम्भीर छ। ४२ देशमा मिडिया अप्ठ्यारोमा छ। ५५ देशमा समस्याग्रस्त छ। ५२ देशको अवस्था राम्रो वा सन्तोषजनक भन्न सकिने छ। हरेक १० मा सात देशको अवस्था खराब छ। २०२३ मा अहिलेसम्म संसारभरि ६ पत्रकार र सञ्चारकर्मीको हत्या भइसकेको छ। ५ सय ६८ पत्रकार जेलमा छन्।
विश्व प्रेस स्वतन्त्रता सूचकांकमा १ सय ८० देशमा भारत १ सय ६१ औँ स्थानमा छ। रिपोर्टर्स विद्आउट बोर्डर्सले आफ्नो विश्लेषणमा लेखेको छ, ‘संसारको सबैभन्दा ठूलो लोकतन्त्रमा मिडियाको स्वतन्त्रता संकटमा छ।’
सूचकांकमा नेपाली पत्रकारिताको अवस्था खस्किएको देख्न सकिन्छ। गत वर्ष ७६ औँ स्थानमा रहेकोमा नेपाल यसपटक ९५ औँ स्थानमा छ।
नर्वे, आयरल्यान्ड, डेनमार्क, स्विडेन, फिनल्यान्ड क्रमशः पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानमा रहेका छन्।
अमेरिका, न्युयोर्कस्थित ‘कमेटी टू प्रोटेक्ट जर्नलिस्ट्स (सीपीजे)’को एक रिपोर्टमा पनि सन् २०२२ मा संसारभरि करिब ६७ मिडियाकर्मीको हत्या भएको खुलाइएको छ। रिपोर्टअनुसार सन् २०१८ पछि सबैभन्दा बढी पत्रकारको हत्या सन् २०२२ मा भएको छ।
सीपीजेका अनुसार ६७ मध्ये ३५ हत्या युक्रेन, मेक्सिको र हाइटीमा भएका छन्। मेक्सिकोमा १३ पत्रकारको हत्या भयो। त्यहाँका पत्रकारका लागि सन् २०२२ लाई घातक वर्ष मानिएको छ। युद्धग्रस्त युक्रेनामा पनि १५ सञ्चारकर्मीले ज्यान गुमाए।
६७ मध्ये ४१ पत्रकार कामका लागि मारिएको सीपीजेले पुष्टि गरेको छ। बाँकी हत्या पनि अनुसन्धान भइरहेको छ। युक्रेनमा युद्धको रिपोर्टिङ गरिरहेका पत्रकारले भयानक जोखिम मोलिरहेको सीपीजेले जनाएको छ। ‘युद्धको रिपोर्टिङका क्रममा गोलाबारीमा परी कतिपय पत्रकार घाइते हुन्छन्,’ रिपोर्टमा उल्लेख छ, ‘केही पत्रकार रुसी सेनाको निशानामा पर्छन्।’
संयुक्त राष्ट्रका महासचिव गुटेरेसका अनुसार मिडिया उद्योग ध्वस्त हुँदा त्यसको प्रत्यक्ष मारमा स्थानीय मिडिया परिरहेका छन्। स्थानीय मिडिया संस्थान बन्द भइरहेका छन्। ‘मिडिया केही मानिसमा मात्रै खुम्चिन थालेको छ,’ उनले भनेका छन्, ‘जो अभिव्यक्ति स्वतन्त्रताका लागि खतरापूर्ण हो।’
यसबाहेक संसारभरका विभिन्न सरकारद्वारा खतरनाक कानुन पारित गरिएका छन्। जस्तै: सन् २०२२ मा रुसमा एक कानुन पारित गरियो, जसअनुसार रुसी सेनाबारे तथाकथित गलत सूचना छाप्नेलाई १५ वर्षसम्म जेल सजाय हुन सक्ने प्रावधान छ।
मार्चमा रुसले अमेरिकी अखबार ‘वाल स्ट्रिट जर्नल’का रिपोर्टर इभान गेसेकोविचलाई जासुसीको आरोपमा पक्राउ गरेको थियो। जर्नलका प्रकाशक अलमार लातौरले त्यो कुरा अस्वीकार गरेका थिए। अमेरिकी राष्ट्रपति जो बाइडेनले व्यक्तिगत रूपमा गेसेकोविचलाई छुटाउने प्रयाससमेत गरे।
महासचिव गुटेरेसले अनलाइन र अन्य तरिकाले पनि पत्रकारलाई प्रताडित गरिएकोमा कडा निन्दा गरेका छन्। ‘पत्रकारहरूलाई प्रताडित गरिन्छ या धम्काइन्छ अथवा पक्राउ गरिन्छ,’ उनले भने, ‘महिला पत्रकारहरूलाई अनलाइनमार्फत सताइन्छ। केही महिला पत्रकारले त शारीरिक हिंसासमेत भोग्नुपर्छ। जसरी पत्रकार सत्यका लागि उभिन्छन्, त्यसरी नै दुनियाले उनीहरूसँग उभिनुपर्छ।’ -रोयटर्सको सहयोगमा