नेपाल इन्जिनियरिङ कलेजमा पाँचदिने तालिम सुरु

हिमाल प्रेस १० वैशाख २०८० १९:३१ | Sunday, April 23, 2023
नेपाल इन्जिनियरिङ कलेजमा पाँचदिने तालिम सुरु

भक्तपुर- भक्तपुरस्थित चाँगुनारायणमा रहेको नेपाल इन्जिनियरिङ कलेजमा पाँचदिने अनुसन्धान तालिम सुरु गरिएको छ। कलेजको कम्प्युटर विज्ञान तथा इन्जिनियरिङ विभागले ‘द प्रिन्सिपल्स एण्ड टुल्स टु डिजाइन एण्ड कन्डक्ट एम्पिरिकल रिसर्च इन एसटीईएम’ शीर्षकको पाँचदिने अनुसन्धान तालिम दिन लागेकाे हो।

तालिम कार्यक्रम आइतबारदेखि सुरु गरिएको कलेजले जानकारी दिएको छ। विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (एसटीइएम) को क्षेत्रमा अनुभवजन्य अनुसन्धान विकास र सञ्चालन गर्न आवश्यक सीप तथा ज्ञान प्रदान गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम सुरु गरिएको कलेजको भनाइ छ।

तालिममा कार्यक्रमस्थलमै सहभागी भई वा अनलाइनमार्फत उपस्थित भई सहभागिता जनाउन सकिने कलेजले बताएको छ। प्रत्येक दिन बिहान साढे ७ बजेदेखि दिउँसो साढे २ बजेसम्म तालिमको कार्यतालिका राखिएको छ। अनुसन्धानसँग जोडिएका अध्ययन डिजाइन, डेटा संकलन तथा प्रशोधन, र अनुसन्धान परिणामहरूको व्याख्या तालिममा सिकाइनेछ।

कलेजको कम्प्युटर विज्ञान र इन्जिनियरिङका विभागीय प्रमुख एसोसिएट प्रोफेसर सुन्दर कुँवरका अनुसार प्रशिक्षण कार्यक्रम एसटीईएम क्षेत्रका विद्यार्थी, अनुसन्धानकर्ता लगायतका लागि सबैका लागि उपयोगी हुनेछ। उनका अनुसार तालिममा अनलाइनमार्फत पनि सहभागी हुन सकिनेछ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाका उच्च दक्ष र अनुभवी शिक्षाविद्हरूको समूहद्वारा तालिम दिइने उनको भनाइ छ। कार्यक्रम समापनमा प्रत्येक सहभागीले प्रमाणपत्र पाउनेछन्। प्रशिक्षण सत्रमा प्राप्त सीप र जानकारीको प्रमाणको रूपमा व्यक्तिगत र अनलाइन सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिने बताइएको छ।

आइतबार कार्यक्रमको उद्घाटन कलेजका प्रिन्सिपल प्रा. डा. हरिकृष्ण श्रेष्ठले गरे। उनले कार्यक्रम आयोजना गर्न पाउँदा खुसी लागेको बताए। कार्यक्रम बिहीबारसम्म हुनेछ।

प्रकाशित: १० वैशाख २०८० १९:३१ | Sunday, April 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast