धरान उपमहानगरपालिका प्रमुख र वडाध्यक्षबीचको विवादले कार्यपालिका बैठक मात्रै अवरुद्ध भएको छैन, आर्थिक सहयोग रोकिँदा विकास निर्माणका काममा पनि ढिलाइ हुन थालेको छ।
इटहरी– असोज १३ गते धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक थियो। मेयर हर्क साम्पाङले धरान-१७ स्थित सप्तरंगी पार्कलाई बहुसांस्कृतिक संग्रहालय बनाउने प्रस्ताव गरे। कार्यपालिका सदस्य अनुप देवानले पार्कको डीपीआर तयार भइसकेकाले त्यसको नाम परिवर्तन गर्न नहुने अडान राखे। त्यसमा अन्य वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले पनि समर्थन जनाए।
मेयर साम्पाङले कार्यपालिका सदस्य देवानलाई ‘तपाईंको बोल्ने पालो सकियो, अब बस्नुस्’ भनेपछि विवाद सुरु भयो। देवान रोकिएनन्। साम्पाङले ‘बाहिर जानुस्’ नै भन्नुपर्यो। अनि विवाद चुलियोे। सोही कारण स्थगित भएको कार्यपालिका बैठक पुस पहिलो सातासम्म बस्न सकेन।
पछिल्लोपटक चैत १ गते कार्यपालिका बैठक बस्यो। मेयर र वडाध्यक्षबीच भनाभन भयो। बैठक निष्कर्षविहीन सकियो। विवादको कारण थियो, मेयर साम्पाङका स्वकीय सचिव सुदर्शन लिम्बूको हस्ताक्षरमा २० वटै वडाका वडाध्यक्षहरूलाई पत्र काट्नु। फागुन २९ गते मेयरका स्वकीय सचिवले पत्र काटेका थिए। मेयर साम्पाङको उक्त कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले आन्दोलनमा जाने चेतावनी दिएका थिए।
त्यसपछि गत सोमबार डाकिएको बैठकमा पाँच जनामात्रै उपस्थित भए। बैठक बस्न नसक्दा योजना अलपत्र पर्ने चिन्ता प्रकट हुन थालेको छ। वडाध्यक्षहरू मेयर साम्पाङ अधिकार क्षेत्रबाहिर गएको भन्दै असन्तुष्ट छन्। त्यसैले मेयर सच्चिनुको विकल्प नभएको उनीहरूको भनाइ छ। धरान-१७ का वडाध्यक्ष मनोज भट्टराई (सूर्य) ले हिमालप्रेससँग भने, ‘मेयरसाब आफ्नो क्षेत्राधिकार बाहिर जानुभएको छ। हामीले उहाँलाई सच्चिन आग्रह गरेका हौँ। उल्टै उपमहानगरको लेटरप्याडमार्फत निर्वाचित भएर आएका वडाध्यक्षहरूको राजीनामा मागियो, यो कुन कानुनले दिन्छ?’
नीति, विधि र प्रक्रियामा सरकार सञ्चालन हुनुपर्ने आफूहरूले माग राख्दा उल्टै तानाशाही ढंगबाट स्पष्टीकरण सोधिनु र राजीनामा मागिनु गैरकानुनी काम भएको टिप्पणी भट्टराईको छ।
‘मेयरसँग जनता छन् भन्ने कतिपयको कुरा छ। हामी पनि जनताबाटै निर्वाचित भएर आएका हौँ। मान्छेले कुनै न कुनै कोणबाट चुनाव जित्छ। उहाँ स्वतन्त्र उठेर जित्नुभयो। हामी कुनै पार्टीबाट उठेर निर्वाचित भयौँ,’ भट्टराईले भने, ‘स्वतन्त्रको कुरा उठिरहँदा उहाँ एक्लै स्वतन्त्र होइन, धरानमै वडाध्यक्ष पनि स्वतन्त्रले जित्नुभएको छ। हाम्रो मुद्दा विधिअनुसार उपमहानगर चल्नुपर्छ भन्ने हो।’
वडाध्यक्ष र मेयरबीच राजनीतिक दल नमिलेर विवाद चुलिएको हो त भन्ने प्रश्नमा उनले भने, ‘विवाद नै चुलिएको भने होइन। उहाँ आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएपछि प्रदेश र संघबाट आउने बजेट पनि रोकिएको छ।’
स्थानीय सरकार सञ्चालन ऐन २०७४ भन्दाविपरीत ढंगबाट मेयर साम्पाङ अगाडि बढेपछि आफूहरूले सच्चिन आग्रह गरेको उनको भनाइ छ।
कार्यपालिका सदस्यहरूले एकलौटी निर्णय गरेको, बजेट र योजनामा बहुमत सदस्यहरूको माग सम्बोधन नगरेको, निजी सचिवालयका कर्मचारीलाई क्षेत्राधिकार मिचेर अधिकार दिएको, सेवाग्राहीको अपमान गरेको आरोप मेयर साम्पाङमाथि लगाएका छन्। यी विषयमा मेयर सच्चिनुपर्ने अडान उनीहरूको छ।
सोमबार बोलाइएको कार्यपालिका बैठक मेयर-उपमेयरसहित पाँचजना मात्रै उपस्थित भएपछि स्थगित भएको थियो। बैठकमा मेयर साम्पाङ, उपमेयर आइन्द्रविmम बेघा, वडा नं. ६ का वडाध्यक्ष भूपेन्द्र प्रसाद भट्टराई, वडा नं. १४ का कृष्णप्रसाद भट्टराई र वडा नं. ४ का वडाध्यक्ष धनबहादुर राई उपस्थित थिए। कार्यपालिकामा कुल २८ सदस्य छन्।
जानकारहरू यसरी जनप्रतिनिधिबीच विवाद चुलिँदा धरानको विकास पछाडि परेको बताउँछन्। आर्थिक सहयोग रोकिने गरी विवाद गर्न नहुने सुझाव उनीहरूको छ।
‘वडाध्यक्ष र कार्यपालिका सदस्यहरूलाई मेयरले सबैबाट नियन्त्रण गरेका कारण मनपरेजस्तो नदेखिएको हो,’ राजनीतिक विश्लेषक प्रा.डा. राजेन्द्र शर्मा भन्छन्, ‘मेयर विधिमा टेकेर हिँडेजस्तो देखिएन।’
जनप्रतिनिधिबीचको आन्तरिक विवादले धरानको विकास पछाडि परेको उनी बताउँछन्। धरानमा आन्तरिक आम्दानी पनि कमी रहनु र बैठक नबस्दा बाहिरबाट आउन लागेको आर्थिक सहयोग रोकिनुले विकासको काम अगाडि बढ्न नसकेको शर्मा बताउँछन्।
‘जनसहयोग व्यापक मात्रामा जुटेको देख्दा मेयरमा घमण्ड धेरै भयो कि जस्तो देखिन्छ। जुँगाको लडाइँले धरानलाई क्षति हुने देखिन्छ,’ उनी भन्छन्, ‘यो मिलेर काम गर्ने व्यवस्था हो, एकापसमा झगडा गरेर कसरी विकास हुन्छ?’
चुनाव जितेर गएपछि धरानका जनप्रतिनिधिमा तानाशाह प्रवृत्ति बढेको उनको तर्क छ। शर्मा भन्छन्, ‘कसैले कसैको राजीनामा माग्नु भनेको प्यास लागेको मानिसले एक गिलास पानी मागेजस्तो होइन।’ जनप्रतिनिधिमा ‘आफूले सबै जान्दछु भन्ने भ्रम र दम्भ’ हुँदा समस्या उत्पन्न भइरहेको उनी बताउँछन्।
‘लोकतन्त्रमा संयमता पनि चाहिन्छ,’ शर्माले भने, ‘नेतृत्वले अरूसँग काम लिन सक्नु ऊभित्रको गुण हो, तर दम्भ देखाउन खोज्नु अयोग्यता हो।’
साम्पाङ २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका हुन्। तर उनी स्वेच्छाचारी र गैरजिम्मेवार ढंगबाट अगाडि बढेको भन्दै कार्यपालिका सदस्यहरूले आलोचना गर्दै आएका छन्।
यसअघि धरानका सातवटा राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गर्दै उनको कार्यशैलीप्रति विरोध जनाएका थिए। नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले संयुक्त विज्ञप्ति जारी गर्दै मेयर साम्पाङले अमर्यादित र अश्लील गाली, गलौज गर्नु अशोभनीय भएको भन्दै सच्चिन अनुरोध गरेका थिए।
मेयर साम्पाङले भने कार्यपालिका बैठकमा अनुपस्थित नभएकोप्रति खेद प्रकट गर्दै विज्ञप्तिमार्फत वडाध्यक्षहरूको राजीनामा मागेका हुन्।
‘विगत केही महिनादेखि बिनाकारण पटकपटक कार्यपालिका बैठक बहिष्कार गरेर जनादेशको अपमान गर्दै सुशासन र विकास पाउनुपर्ने जनताको अधिकारमाथि खेलबाड गरिरहेको र आफ्नो कर्तव्य पूरा नगरेको अवस्था अवगत गराउन यो विज्ञप्ति जारी गर्न बाध्य भएको छु,’ विज्ञप्तिमा उल्लेख छ, ‘हामी कार्यपालिकामा रहने सबैका लागि कार्यपालिका बैठक बस्नैपर्ने हामी सबैको कर्तव्य हो।’
उनले पार्टीको ह्विप तोडेर बैठकमा आउनुपर्ने बताए।
‘धराने जनताले कहिल्यै माफ गर्छन् जस्तो लागेको छैन,’ मेयर साम्पाङ भन्छन्, ‘ढुंगा बोकी-बोकी कमाएको धरानको इज्जतलाई टेबल ठोकी-ठोकी फाल्न दिनु हुन्न।’
आफूले कानुन मिचेको भनेर कसैले आरोप लगाउँदैमा पुष्टि नहुने उनको तर्क छ। वडाध्यक्षहरूलाई लक्षित गर्दै उनले भने, ‘झोले र भेडा नबन्न! सत्य र सही कामको खुलेरै समर्थन गरौँ।’ मेयर साम्पाङ पछिल्लो समययता सप्तकोशीको पानी धरान ल्याउने योजनाअनुरुप जनतासँगै श्रमदानमा सक्रिय भइरहेका छन्।