बूढीगण्डकी आयोजनामा ढिलाइ नगर्न सांसद पाण्डेको माग

हिमाल प्रेस ६ वैशाख २०८० १५:०५ | Wednesday, April 19, 2023
बूढीगण्डकी आयोजनामा ढिलाइ नगर्न सांसद पाण्डेको माग

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवम् सांसद राजेन्द्रप्रसाद पाण्डेले अलपत्र अवस्थामा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माणकार्य तत्काल सुरु गर्न सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभा बैठकमा बुधबार उनले भने, ‘म सभामुखमार्फत यो आयोजना तत्काल निर्माण गर्ने गरी यो सुरुवात गरियोस्। म सरकारलाई चाँडो भन्दा चाँडा यो रोस्टममा आएर उभिएर हामी यति सालभित्र यो आयोजनालाई सम्पन्न गर्ने गरी निर्माण कार्य सुरु गर्छौँ भनेर बोल्नका लागि सभामुखबाट रुलिङ होस् भन्ने माग गर्न चाहन्छु।’

सरकारले मुलुकको सबैभन्दा ठूलो सो जलविद्युत् आयोजनाको काम अघि बढाउन नचाहेको देखिएको पाण्डेको आरोप छ। उनले त्यसको कारणबारे सरकारले संसद्लाई जानकारी गराउनुपर्ने माग गरे।

पाण्डेले समय सीमा निर्धारण गरेर सो जलविद्यु्त आयोजनाको कामलाई अघि बढाउन सरकारले ढिलाइ गर्न नहुने भनाइ राखे।

उनले भने, ‘राष्ट्रिय गौरवको आयोजना बूढीगण्डकी जलविद्युत् आयोजना अलपत्र अवस्थामा छ। आयोजना निर्माणका लागि मोडालिटी पनि तयार भइसकेको छ। अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण सेयर होल्डर बनेर यसको निर्माण कम्पनी पनि बनिसकेको छ। तर आयोजना निर्माणका सरकारको ध्यान पुगेन।’

उपाध्यक्ष पाण्डेले सो आयोजना निर्माण सम्पन्न गर्न सके मुलुकमा ठूलो आर्थिक योगदान पुग्ने र रोजगारीको अवसर सिर्जना हुने पनि बताए।

प्रकाशित: ६ वैशाख २०८० १५:०५ | Wednesday, April 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast