यसरी छिट्टै पाए बालबालिकाले पाठ्यपुस्तक

हिमाल प्रेस ५ वैशाख २०८० २०:४३ | Tuesday, April 18, 2023
यसरी छिट्टै पाए बालबालिकाले पाठ्यपुस्तक दार्चुलाको शैल्यशिखर नगरपालिकास्थित शैल्यशिखर आधारभूत तहका विद्यार्थी नयाँ पाठ्यपुस्तक पाएपछि खुशी हुँदै। यस वर्ष नयाँ शैक्षिकसत्रमा विद्यार्थी भर्नासँगै नौवटै स्थानीय तहका विद्यालयले विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्न थालेका छन्। तस्बिर : गणेश सिंह धामी/रासस

काठमाडौँ- यस वर्ष समयमै विद्यार्थीले पाठ्यपुस्तक पाउने भएका छन्। जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले ५९ जिल्लामा पाठ्यपुस्तक पठाइसकेको र बाँकी जिल्लामा पनि प्रक्रियामा रहेकाले विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउने भएका हुन्। केन्द्रले बाँकी १८ जिल्लामा पनि वैशाखभित्रै पठाउने जानकारी दिएको छ।

विद्यार्थीले शैक्षिकसत्र सुरु भएसँगसँगै पाठ्यपुस्तक पाउने भएका हुन्। केन्द्रका प्रबन्धक अनिलकुमार झाले पुस्तक छाप्ने मेसिन, जनशक्ति, बजेट र कच्चा पदार्थको व्यवस्थापन समयमा नै गर्न सकेकाले यो वर्ष विद्यालय सञ्चालन हुनुभन्दा पहिले नै विद्यालयहरूमा पुस्तक पुर्‍याउन सकिएको बताए। ‘३ वटा छपाई मेसिन खरिद गरी ९ हजार प्रतिदिन छपाई क्षमताबाट २ लाख ४० हजार छपाई गर्ने क्षमतामा पुर्‍याएकाले सहज भएको हो,’ उनले भने, ‘अब बाँकी १ जिल्लामा वैशाख १५ गतेसम्म पुस्तक पुग्छ।’

कतिपय विद्यालयहरूमा पुस्तक पुगिसकेको र कतिपय ढुवानीको क्रममा रहेको उनले बताए। बिक्री वितरण गरेर ढुवानीको क्रममा रहेका पुस्तक ३ दिनभित्र प्रत्येक विद्यालयमा पुग्ने दाबी उनले गरे।

केन्द्रले राष्ट्रिय वाणिज्य बैँकबाट ७५ करोड र नागरिक लगानी कोषबाट १० करोड गरी ८५ करोड रुपैयाँ ऋण लिएर पुस्तक छपाई गरेको बताएको छ। पाठ्यपुस्तक बिक्री वितरण र छपाइको विषयमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले केन्द्रमा अनुगमन पनि गरेको छ।

केन्द्रले पुस्तक बिक्री वितरण गरेसँगै ४० करोड रुपैयाँ ऋण पनि चुक्ता गरेको बताएको छ। केन्द्रले कक्षा ६ देखि कक्षा १० सम्मका १ करोड ५० लाख पाठ्यपुस्तक छपाइको काम सम्पन्न गरी बिक्री वितरण गरिसकेको छ।

गत चैत २४ गतेदेखि नै पाठ्यपुस्तक बिक्री वितरणको काम सुरु गरेको केन्द्रले ५९ जिल्लाका विद्यार्थीको हातमा पु¥याइसकेको दाबी गरेको छ।

केन्द्रले ढुवानीमा समय लाग्ने हिमाली र पहाडी दुर्गम जिल्लाहरूलाई प्राथमिकतामा राखेर पुस्तक पठाएको बताएको छ। हिमाली जिल्लाहरूका समयमै पाठ्यपुस्तक पुर्‍याउन सकेको पनि केन्द्रको भनाइ छ।

समयमै पाठ्यपुस्तक छपाई गर्न कागज, मेसिनलगायत आवश्यक सामग्री व्यवस्थापनमा चासो दिएको र केन्द्रलाई सहजीकरण गरेकाले पनि समयमै पाठ्यपुस्तक पुगेको पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले बताए।

दुर्गम हिमाली जिल्लाहरू हुम्ला, डोल्पा, मुगु, जुम्ला, कालिकोट, मनाङ र मुस्ताङमा समेत पाठ्यपुस्तक पुगिसकेको केन्द्रले बताएको छ। केन्द्रले केन्द्रीय कार्यालयबाट कक्षा ६ देखि १० सम्मका १६ लाख १३ हजार ९५४, प्रादेशिक कार्यालय विराटनगरबाट ५ लाख ७३ हजार १४ पुस्तक वितरण गरेको छ।

त्यस्तै प्रादेशिक कार्यालय जनकपुरबाट ५ लाख ७० हजार ७४६, प्रादेशिक कार्यालय भरतपुरबाट १२ लाख ७ हजार ९२०, प्रादेशिक कार्यालय पोखराबाट ७७ हजार ५ हजार ६ सय पुस्तक वितरण गरेको छ।

त्यस्तै प्रादेशिक कार्यालय बुटवलबाट ६ लाख ३४ हजार ४७४, प्रादेशिक कार्यालय नेपालगञ्जबाट १० लाख ३८ हजार, प्रादेशिक कार्यालय सुर्खेतबाट ३ लाख ५२ हजार २ सय र प्रादेशिक कार्यालय धनगढीबाट ६ लाख ६ हजार ४८१ गरी ७४ लाख ७२ हजार ३८९ पाठ्यपुस्तक बिक्री वितरण भएको केन्द्रको भनाइ छ।

त्यस्तै सोलुखुम्बु, धनकुटा, मोरङ, सुनसरी, झापा, सिराहा, सर्लाही, बारा, पर्सा, रुपन्देही, बाँके, बर्दिया, दैलेख, सुर्खेत, डोटी, डडेलधुरा, कञ्चनपुर र कैलाली जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक बिक्री वितरण भएको छैन। भर्ना अभियान सकिए लगत्तै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगिसक्ने केन्द्रको भनाइ छ।

प्रकाशित: ५ वैशाख २०८० २०:४३ | Tuesday, April 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast