भरिँदै सहर

द्वन्द्व र वैदेशिक रोजगारीले बढाएको सहरीकरण

विवेक विवश रेग्मी ३ वैशाख २०८० १८:२५
138
SHARES
द्वन्द्व र वैदेशिक रोजगारीले बढाएको सहरीकरण २०३२ सालको इटहरी चोक र अहिलेको इटहरी चोक।

इटहरी-  संघीयता कार्यान्वयन भएपछि गाउँघरमै वडा तहदेखि पालिकासम्मको सरकार छ। स्थानीय सरकार आउनुअघि नै पहाडी जिल्लाका विभिन्न ठाउँमा बाटो र बिजुली पुगेका छन्। तर पनि पहाडी जिल्लाबाट बसाइँ सराइ गर्नेको लर्को घटेको छैन। सहरीकरण तीव्र गतिमा बढिरहेको छ।

अस्पताल, गुणस्तरीय विद्यालय तथा क्याम्पस र रोजगारी अभाव, कृषि पेसामै निर्भर रहनुपर्ने कारणले गाउँ छाड्नेको संख्या बढ्दो छ। कोशीमा बसाइँ सर्ने भनेको पहाडबाट तराईमा हो। पछिल्लो १० वर्षमा सहरी क्षेत्रमा बढेको जनसंख्याले पनि यही स्पष्ट हुन्छ।

मोरङको विराटनगरमा २०६८ मा २ लाख १४ हजार ६६३ जनसंख्या थियो। २०७८ को तथ्यांकअनुसार २ लाख ४४ हजार ७५० पुगेको छ। सुनसरीको इटहरीमा २०६८ मा १ लाख ४० हजार ५१७ जनसंख्या थियो भने २०७८ मा १ लाख ९८ हजार ९८ पुगेको छ। इटहरीमा सुनसरी जिल्लाकै सबैभन्दा बढी जनसंख्या बसोबास गर्छ।

रोजगारी, शिक्षा, स्वास्थ्य, सुखसयल उपभोगजस्ता कारणले पहाडी भेगबाट तराईमा आउनेको संख्या बढेको जानकारहरू बताउँछन्। ‘पचासको दशकपछाडि वैदेशिक रोजगारी संस्कारकै रूपमा विकास हुँदै जानुले पनि बसाइँ सराइ बढ्यो। पहाडी क्षेत्रमा जनसंख्या घट्यो,’ इटहरीस्थित जनता बहुमुखी क्याम्पसका प्राध्यापक विमल नेपाल भन्छन्। युवालाई विदेश जान उत्प्रेरित गरिएका कारण पनि बसाइँ सराइ सहर केन्द्रित हुन थालेको नेपाल बताउँछन्। ‘विदेशमा कमाएपछि परिवार छोराछोरीलाई सहर केन्द्रित गर्न थालियो। अनि तराईमा सहरीकरण तीव्र गतिमा बढ्यो’, नेपालले भने।

थोरै परिश्रम गरेर धेरै लाभ लिन खोजेका कारण पनि सहरीकरण फैलिएको उनको तर्क छ। ‘धेरैजसो मानिस थोरै परिश्रम गरेर धेरै लाभ लिन खोज्छन्। हाम्रो संस्कार अब फेसनलेभल र कस्टोमाइज भइदियो,’ उनी भन्छन्, ‘अरूको देखासिखी गरेर, परिश्रम थोरै गरी धेरै लाभ लिन खोज्नेहरू भएका कारण पनि पहाडी क्षेत्रबाट बसाइँ सर्नेको संख्या बढ्दो छ।’

सहर केन्द्रित बसाइँ सर्नुको अर्को कारण सशस्त्र द्वन्द्व हो। २०५२ सालमा माओवादीले हिंसाको राजनीति गर्न थालेपछि धेरैले थातथलो छाडे। वैदेशिक रोजगारीमा जाने लहर पनि ५० कै दशकमा बढेको हो। प्राध्यापक नेपाल पनि सशस्त्र द्वन्द्व र खेतीयोग्य जमिनप्रतिको आकर्षणका कारण तराई क्षेत्रमा आम मानिस आकर्षित भएको बताउँछन्।

युवाका लागि देशमै रोजगारीको सृजना गर्न सरकारको नीति स्पष्ट नहुँदा पनि बिदेसिनेको संख्या बढ्यो। युवा विदेश लागेपछि पहाडबाट तराई झर्नेको संख्या बढ्न थालेको उनको बुझाइ छ।

कतिपयका लागि आवश्यकता पूरा गर्न १८ वर्षको उमेरदेखि नै आय आर्जन गर्नुपर्ने भएका कारण पनि आन्तरिक बसाइँ सराइ बढेको नेपाल बताउँछन्। ‘हिमाली र पहाडी क्षेत्रबाट बसाइँ सराइ आउने भएकाले तराईमा सहरीकरण बढेको हो’, उनले भने।

प्राविधिक र रोजगारमुखी शिक्षाको अभाव छ। गाउँमा विद्यालय र क्याम्पस खुलेका छन्। तर पढेका जनशक्ति गाउँमा टिक्न सक्ने अवस्था छैन। नेपाल भन्छन्, ‘प्राविधिक र रोजगारमुखी शिक्षाका कुरा भाषण र कागजमा सीमित छ। बसाइँ सर्नुको एउटा कारण शैक्षिक नीति पनि हो।’

२०६८ को जनगणना र २०७८ को जनगणनाअनुसार कोशी प्रदेशका पहाडी जिल्ला भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, ताप्लेजुङ, पाँचथर र धनकुटामा जनसंख्या घटेको छ। केन्द्रीय तथ्यांक कार्यालयका अनुसार २०६८ सालमा भोजपुरको जनसंख्या एक लाख ८२ हजार २५९ थियो। २०७८ सालमा एक लाख ५८ हजार ९९१ मा झरेको छ।

खोटाङमा २०६८ को तुलनामा २०७८ मा ३० हजार ९७२ जनाले जनसंख्या घटेको छ। २०६८ सालमा दुई लाख ६ हजार ३१२ रहेकामा २०७८ सालमा एक लाख ७५ हजार ३४० मा झरेको छ। यसको मुख्य कारण बसाइँ सराइ हो।

कहाँ कति घटे ?

२०६८ मा भोजपुरमा एक लाख ८२ हजार २५९ जनसंख्या थियो २०७८ मा एक लाख ५८ हजार ९९१ छ। खोटाङमा दुई लाख ६ हजार ३१२ जनसंख्या थियो। २०७८ मा एक लाख ७५ हजार ३४० मा झरेको छ।

२०६८ सालमा ओखलढुंगाको जनसंख्या एक लाख ४७ हजार ९८४ थियो। २०७८ मा एक लाख ४० हजार ९१४ छ। तेह्रथुममा एक लाख एक हजार ५७७ जनसंख्या थियो। २०७८ सालमा ८९ हजार १२५ मा झरेको छ।

पाँचथरको जनसंख्या एक लाख ९१ हजार ८१७ थियो। २०७८ सालमा एक लाख ७४ हजार ४१९ रहेको छ । २०६८ सालमा धनकुटामा एक लाख ६३ हजार ४१२ जनसंख्या थियो। २०७८ सालमा एक लाख ४९ हजार ९८४ मा झरेको छ।

२०६८ मा ताप्लेजुङमा एक लाख २७ हजार ४६१ जनसंख्या थियो। २०७८ मा एक लाख २० हजार ३५९ छ। इलाममा २०६८ सालमा दुई लाख लाख ९० हजार २५४ जनसंख्या रहेको थियो। २०७८ सालमा दुई लाख ८० हजार ५६५ मा झरेको छ।  २०६८ सालमा सोलुखुम्बुमा एक लाख पाँच हजार ८८६ जनसंख्या थियो । २०७८ सालमा एक लाख चार हजार ७६८ मा झरेको छ।

कहाँ कति बढे?

कोशी प्रदेशका सुनसरी, मोरङ र झापामा जनसंख्या बढेको छ। पहाडी जिल्लाबाट बसाइँ सराइ गर्नेको रोजाइ यी जिल्ला हुन्।। यीमध्ये पनि मोरङमा सबैभन्दा धेरै जनसंख्या बढेको छ।

२०६८ को जनगणनाअनुसार मोरङको जनसंख्या ९ लाख ६५ हजार ३८० थियो। २०७८ मा ११ लाख ४७ हजार १९६ छ। २०६८ मा झापामा ८ लाख १२ हजार ६५० जनसंख्या थियो। २०७८ मा ९ लाख ९४ हजार ९० पुगेको छ।

२०६८ को जनगणनाअनुसार सुनसरीको जनसंख्या ७ लाख ६३ हजार ४८७ थियो। २०७८ को जनगणनाअनुसार ९ लाख ३४ हजार ४६१ पुगेको छ।

असन्तुलित जनसंख्या

प्रकाशित: ३ वैशाख २०८० १८:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast