ठूला भवनको वैधानिकता खोज्न संसदीय छानबिन समिति गठनको माग

हिमाल प्रेस २९ चैत २०७९ १४:५९ | Wednesday, April 12, 2023
ठूला भवनको वैधानिकता खोज्न संसदीय छानबिन समिति गठनको माग प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा सहभागी सांसद। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ- निर्माण भइसकेका र निर्माणको चरणमा रहेका ठूला होटल, अपार्टमेन्ट तथा व्यावसायिक भवनको वैधानिकताबारे अध्ययन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गरिएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद डा. तोसिमा कार्कीले छानबिन समिति गठन गर्न माग गरिन्। ‘देशव्यापी रूपमा ठाउँठाउँमा निर्माण हुँदै गरेका ठूला भवन, होटल, अपार्टमेन्टको वैधानिकता खोजी गरियोस्,’ उनले भनिन्, ‘ती भवनको नक्सापास, वातावरणीय प्रभाव मूल्यांकन र सम्बन्धित निकायबाट लिइनुपर्ने स्वीकृतिलगायतका विषयमा अध्ययन गर्न संसदीय छानबिन समिति बनाइनुपर्छ।’

ललितपुरको बखुन्डोलमा निर्माणाधीन समिट अपार्टमेन्टका कारण सिर्जित समस्याबारे पनि कार्कीले संसद्मा जानकारी गराइन्। ‘नक्शापास र वातावरणीय प्रभाव मूल्यांकनबिनै सम्बन्धित स्थानीय तहको स्वीकृतिसमेत नलिइ १८ रोपनी जग्गामा १६ तले अपार्टमेन्ट बनाइरहँदा वरपरका घर चर्किएका छन्,’ उनले भनिन्, ‘स्थानीयले पटकपटक उजुरी दिए पनि काम रोकिएको छैन।’

संसद्को अघिल्लो बैठकमा समेत उक्त विषय उठान गरिएको थियो। तर, कारबाहीका लागि वैधानिक प्रक्रिया अघि नबढेको उनले बताइन्। उक्त अपार्टमेन्ट निर्माणका क्रममा वरपरका घरमा क्षति भएकोमा दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने माग सांसदहरूले गरेका छन्।

प्रकाशित: २९ चैत २०७९ १४:५९ | Wednesday, April 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast