‘पहिरोले घरगोठ नपुरेसम्म सरकारले केही नदिने रहेछ’

हिमाल प्रेस २९ चैत २०७९ ९:४५
4
SHARES
‘पहिरोले घरगोठ नपुरेसम्म सरकारले केही नदिने रहेछ’

बलेवा- आठ महिना पहिले गाउँमाथिबाट आएको पहिरोले चर्किएका घरहरूमा लिपपोतसमेत गरिएको छैन। पहिरोको त्रासले पीडित परिवारमा चर्केका घरमा बस्ने मनस्थिति नै छैन। छाडेर जाउँ अन्यत्र कतै ठाउँ छैन।

घर वरपरको जमिन चर्केको छ, घर छेउको बारीमा चिरा परेको छ। हिउँदका महिना पहिरो बढ्ला कि भन्ने त्रास भएन। बागलुङ नगरपालिका–११ रायडाँडाको तल्लो रामतोला बस्तीमा पहिरोले फेरो हालेका घरमै बसेका सर्वसाधारणलाई बर्खा लाग्ने बेलामा भने विस्तारै चिन्ताले पिरोल्न थालेको छ।

गत भदौ २१ गतेबाट सुरु भएको पहिरो असोजको अन्तिमसम्म रोकिएन। दसैँका बेला एक साता निरन्तर वर्षा हुँदा पहिरो निरन्तर बगिरह्यो। गाउँले घर छाडेर छिमेकमा बसे। हिउँद लागेपछि आफ्नै घर फर्किएका गाउँले आउँदो बर्खायाममा फेरि घर छाड्नुपर्ला कि भन्ने चिन्तामा छन्।

‘हिउँदमा त दिन काटियो तर बर्खामा घर बस्न सकिँदैन,’ स्थानीय कुलराज शर्माले भने, ‘अन्त जाने ठाउँ छैन, घरमै बस्ने वातावरण छैन।’ पहिरोका कारण घर चर्किएका स्थानीय ढालनाथ शर्माले घर छाडेर हिँडे। पोखरामा रहेका छोराले कोठा भाडामा लिएर उनलाई पोखरा लगे। कुलराज शर्मा, नैनकली केसी र वीरबहादुर केसीका घर गोठ चर्केका छन्।

‘पहिरोले घरगोठ नपुरेसम्म सरकारले केही नदिने रहेछ, हामी त दिनरात तड्पेर बसेका छौँ,’ शर्मा भन्छन्, ‘घरगोठ सग्ला छन् तर भरिला भएनन्।’ आउँदो बर्खाको चिन्ता हिउँदबाटै सुरु भएको शर्माको गुनासो छ। अघिल्लो बर्खा सकिनैलाग्दा सुरु भएको भीषण पहिरोबाट हिउँदमा भएको वर्षामा समेत माटो बगिरहेको थियो।

‘पहिरोको प्रभाव गाउँका अन्य ११ घरमा पनि परेको छ, पूर्ण प्रभाव परेका सात घर छन्,’ वडाध्यक्ष ज्ञानेन्द्र गौतमले भने, ‘पहिरो नियन्त्रणको प्रयास भइरहेको छ, बस्ती स्थानन्तरण गर्न सकिएन, यो कठिन काम रहेछ।’ हिउँदभरि प्रयास गरेर पहिरोको अध्ययन गर्ने, भलबाढी तर्काउने र सम्भावनाको खोजी गर्ने काममात्रै गर्न सकिएको गौतमले बताए।

बागलुङ नगरपालिकाले पहिरो नजिक जाने भल तर्काएको छ। घरगोठ नजिक भल नजाने गरी निकास दिइएको वडाध्यक्ष गौतम बताउँछन्। ‘हामीले बस्ती स्थानान्त्रण गर्न पनि खोजेका छौँ, तर जग्गाको अभाव छ, जग्गा मन्त्रिपरिषद्बाटै पारित हुनुपर्ने रहेछ,’ गौतमले भने, ‘वडाभित्र उपयुक्त जग्गा छैन, बाहिर कसले दिन्छ र?’

वडामै रहेको जग्गामा बस्तीमात्रै स्थानान्तरण गरे पनि पीडितहरू घर छाडेर हिँड्ने मानसिकतामा नरहेको गौतमको दाबी छ। खेतीपातीका कारण सर्वसाधारणले आफू बस्दै आएको ठाउँ छाड्न कठिन मान्ने गरेको उनले बताए।

पहिरोले डाँडो नै खसेपछि जोखिममा परेको बागलुङ नगरपालिका–११ को रायडाँडास्थित रामतोलामा प्रदेश सरकार र बागलुङ नगरपालिकाले ध्यान त दिएका छन् तर उपयुक्त निकास खोजेर पीडितको व्यवस्थापन हुन सकेको छैन।

‘जिल्लास्थित विपद् व्यवस्थापन समितिमार्फत निर्णय गराएर वस्ती स्थानन्तरणका लागि संघीय सरकारको ध्यानाकर्षण गराएका छौँ,’ गौतम भन्छन्, ‘सम्भावित जोखिमलाई ध्यानमा राखेर तत्काल राहत उद्धार र पुनःस्थापनाका लागि हामी तयार नै छौँ।’

पहिरोले जैमिनी नगरपालिका–१ को वडारका घरमा पनि जोखिम बनाएको छ। गत साता भएको वर्षापछि पहिरोबाट माटो बगेर बृहत् कुश्मीशेरा खानेपानी आयोजनाको मुहान नै बगाएको थियो। वडारका केही घरसमेत पहिरोका कारण विस्थापित हुने अवस्थामा छन्। रासस

प्रकाशित: २९ चैत २०७९ ९:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast