मानव-वन्यजन्तु द्वन्द्व

खेतीपाती छाडेर बजारकै भरमा किसान

पदमराज भट्ट २६ चैत २०७९ १६:२६
50
SHARES
खेतीपाती छाडेर बजारकै भरमा किसान बाँदर आतंकबाट प्रभावित दशरथचन्द नगरपालिका–८ को धौल्याली गाउँ। तस्बिर: खोज पत्रकारिता केन्द्र

फागुन २१ गते डडेल्धुराको अमरगढी नगरपालिका-३ डोटी घटालमा बँदेलको आक्रमणबाट एक जनाको ज्यान गयो। सोही ठाँउका ५२ वर्षीय गणेश पल्लेको बँदेल आक्रमणमा ज्यान गएको थियो।

कञ्चनपुरको वेदकोट नगरपालिका-५ की सुनिता सार्कीले १० कठ्ठा जमिनमा लगाएको मकैबाली जंगली बँदेलका कारण पूर्ण रुपमा नष्ट भएको गुनासो गर्छिन्।

वेदकोट नगरपालिका-७ कै जया भण्डारीले ५ कठ्ठा क्षेत्रफलमा लगाएको धानबाली पनि भित्र्याउन पाइनन्। धानबाली जंगली हात्तीले पूर्ण रुपमा नष्ट गरेको थियो।

बर्सेनि सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा वन्यजन्तुबाट यस्ता घटना हुने गरेका छन्। वन्यजन्तुका कारण कैलाली-कञ्चनपुरसहित सुदूरपश्चिमका पहाडी जिल्लामा मानवीय क्षतिसँगै बालीनाली पनि सखाप हुने गरेको छ।

बैतडीको दशरथचन्द नगरपालिकाका-०८ मा पर्छ धौल्याली गाउँ। सोही ठाउँका भवानीसिंह बोहराको २० रोपनी जग्गा विगत केही वर्षदेखि बाँझै छ।

मकै, गहुँ, दलहनलगायत उत्पादन हुने जग्गा बाँझो हुँदा खाद्यान्न किन्न बाध्य भएको उनी बताउँछन्।

‘जग्गामा खेती नगरेको ५-६ वर्ष भयो। बाँदर आएर सबै नष्ट गरीदिन्छ। न संघ तथा प्रदेश सरकार राहत दिन्छ न स्थानीय सरकारले।’  जग्गामा खेती गर्न नपाएपछि गाउँबाट धेरैले बसोबास छाडेका छन्। केही वर्षअघिसम्म १५० परिवार बसोबास गर्दै आएका त्यो गाउँमा अहिले ५०-६० परिवार मात्रै बसोबास गर्छन्। बाँदरकै कारण सबै बसाइँ सर्नुपरेको बोहराले बताए।

खेतीपाती गर्न छाड्नेमध्ये अर्का स्थानीय हुन् दिलीपसिंह मौनी। उनी भन्छन्, ‘जग्गा भएर के गर्नु? खेतीपाती सुरु गर्दा नगर्दै बाँदर आइसक्छन्।’ १० वर्षदेखि खाद्यान्न, दाल तथा तरकारीखेती गर्न छोडेका उनले उपभोग्य सामग्रीका लागि बजारकै भर पर्नुपरेको बताए।

दशरथचन्द नगरपालिका-८ त्रिपुराका अम्बर थापा पूुर्वजनप्रतिनिधि हुन्। उनको १३५ रोपनी खेतीयोग्य जमिन छ। बाँदरकै कारण सबै जग्गामा बाली लगाउने अवस्था नरहेको उनले बताए।

‘एकै वर्षदेखि बाँदरको संख्या दोब्बर बढिरहेको छ, कसरी नियन्त्रण गर्ने? तरकारी, फलफूल र खाद्यान्न कसरी जोगाउने?’ उनले प्रश्न गरे। त्यस क्षेत्रका प्रायःले खेतीकिसानी गर्न छाडेका छन्।’

दशरथ नगरपालिकाका सबै वडा बाँदरबाट प्रभावित छन्। झुलाघाट क्षेत्रतिर अझ बढी रहेको नगर प्रवक्ता अजबबहादुर पाण्डेले बताए। उनले नियन्त्रणका लागि सरोकारवालासँग छलफल भइरहेको जानकारी दिए।

वन्यजन्तुले बालीनाली नष्ट भएमा डिभिजन वन कार्यालयको सिफारिसमा निकुञ्ज कार्यालय तथा संरक्षण क्षेत्रको कार्यालयले राहत रकम उपलब्ध गराउँदै आएको छ। सुदूरपश्चिम प्रदेशमा डिभिजन वन कार्यालय कञ्चनपुर, पहलमापुर, बैतडी, कैलाली र अछामलाई शुक्लाफाँटा आरक्ष कार्यालयबाट राहत रकम उपलब्ध हुन्छ।

दार्चुला डिभिजन वन कार्यालयलाई अपि नाम्पा संरक्षण र बझाङ, बाजुरा र डोटीलाई खप्तड राष्ट्रिय निकुञ्जले उपलब्ध गराउँदै आएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय मझगाउँले आर्थिक वर्ष २०७७/७८ मा वन्यजन्तुले गरेको क्षतिको राहत सबैभन्दा बढी डिभिजन वन कार्यालय अछामलाई दिएको थियो।

आरक्ष कार्यालयका अनुसार त्यस वर्ष ३० लाख १४ हजार राहत रकम उपलब्त्र गराइएको छ। आर्थिक वर्ष २०७७/७८ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले राहत रकममा एम करोड ३४ लाख ३१ हजार खर्च भएको जनाएको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९/८० मा वन्यजन्तुबाट हुने क्षतिको राहतमा ८४ लाख १४ हजार खर्च भइसकेको छ।

सरकारले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ अनुसार राहत क्षतिपूर्ति उपलब्ध गराएको हो। हात्ती, गैँडा, बाघ, भालु, चितुवा, हिउँचितुवा, बँदेल, ध्वाँसे चितुवा, ब्वाँसो, जंगली कुकुर, अर्ना, मगर गोही, गौरीगाई, अजिगंरबाट भएको क्षतिमा राहत उपलब्ध गराइने निर्देशिकामा उल्लेख छ।

वन्यजन्तुबाट घाइतेका भएका व्यक्तिका लागि कागजात हेरी २० हजार रुपैयाँसम्म र मृत्यु भएका व्यक्तिका परिवारलाई १० लाख रुपैयाँ रकम उपलब्ध गराउँदै आएको छ।
वन्यजन्तुबाट पशुधनको क्षति भएमा वयस्क भैँसी वा जोत्ने राँगा, गाई तथा साढेको मृत्यु भएमा ३० हजार र अन्य पशुका लागि बस्तुभाउको प्रकृति हेरी १० हजारसम्म राहत रकम उपलब्ध गराउँदै आएको छ। घरगोठ तथा भकारीमा भण्डारण गरिएको अन्न र खाद्यान्न बालीमा भएकमो क्षतिको मूल्यांकन गरी १० हजारसम्म उपलब्ध गराइन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast