भारतबाट घर फर्किनेमा देखिन थाल्यो कोरोना

हिमाल प्रेस १७ चैत २०७९ ९:०९ | Friday, March 31, 2023
भारतबाट घर फर्किनेमा देखिन थाल्यो कोरोना फाइल तस्बिर

कञ्चनपुर- भारतको विभिन्न ठाउँबाट कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकी हुँदै घर फर्किनेमा कोरोना संक्रमण देखिन थालेको छ।

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भारतबाट फर्किनेमा दैनिक कोरोना संक्रमण देखिन थालेको छ। ‘भारतबाट आएका दुई जनामा संक्रमण देखिएको छ।’

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले भने, ‘पछिल्लो समय भारतमा संक्रमण बढ्न थालेपछि घर फर्किने नेपालीमा पनि संक्रमण देखिन थालेको छ।’ संक्रमण फैलिन थालेपछि स्वास्थ्य कार्यालयले आजदेखि जिल्लामा कोभिड-१९ विरुद्धको खोपको तेस्रो र चौथो मात्रा दिइँदैछ।

‘अहिले एक/दुई जनामा सङ्क्रमण देखिन थालेको छ’, पन्तले भने, ‘यहाँ कोभिड-१९ विरुद्धको खोप लगाउने संख्या धेरै कम छ।’ कोभिड–१९ महामारीविरुद्ध लड्न खोप लगाउनु आवश्यक रहेको उनको भनाइ छ।

जिल्ला स्वास्थ्य कार्यालयका कोभिड-१९ फोकल पर्सन सिद्धराज भट्टले कञ्चनपुरमा कोरोनाको तेस्रो र चौथो मात्राको खोपका लागि ५० हजार डोज आएको जानकारी दिए।

प्राथमिकताका आधारमा खोप लगाइने उनले बताए। ‘अहिले सीमानाकामा भारतबाट आउनेको एन्टिजेन परिक्षण गरिरहेका छौँ’, उनले भने, ‘आजदेखि जिल्लाका सबै पालिकामा बुस्टरडोज लगाउने अभियान सुरु हुँदैछ।’

नयाँ वर्ष नजिकिँदै गर्दा भारतबाट घर फर्किनेको संख्या बढ्न थालेको छ। नयाँ वर्ष मनाउन फर्किनेको सङ्ख्या बढेपछि नाकामा एन्टीजेन परीक्षणमा कडाइ गरिएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म कञ्चनपुरमा ४८ दशमलव ३० प्रतिशतले खोप लगाएका छन्। चार लाख चार हजार पाँच सय ४५ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा तथा तीन लाख ६४ हजार सात सय ८५ जनाले दोस्रो मात्रा लगाएका छन्।

त्यसैगरी दुई लाख १६ हजार छ सय ६७ जनाले खोपको तेस्रो मात्रा लगाएका छन्।

प्रकाशित: १७ चैत २०७९ ९:०९ | Friday, March 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast