खेल हारेपछिको ड्रेसिङ रुम पक्कै शान्त हुँदैन। किन हारियो? यसको समीक्षा हुन्छ। कतिपय खेलाडीले प्रशिक्षकको हप्की पनि खालान्। कतिपय हार अपेक्षित हुन्छन् अनि कुनै हार चाहिँ सोच्दै नसोचेको। आखिरमा हारबाटै सुधारको सुरुवात हुने हो।
सन् १९५४ को विश्वकपमा पश्चिम जर्मनीले त्यस्तै नसोचेको हार भोगेको थियो। समूह चरणकाे पहिलो खेलमा टर्कीलाई पराजित गरेको पश्चिम जर्मनी दोस्रो खेलमा हंगेरीसँग हार्यो। त्यो पनि ८–३ को विशाल अन्तरले। त्यसपछिका खेलमा पश्चिम जर्मनी हारेन। र अन्ततः विश्वकप नै जित्यो।
सन् १९७४ मा पूर्वी जर्मनी र पश्चिम जर्मनी एकै समूहमा थिए। समूह चरणको अन्तिम खेलमा पश्चिम जर्मनीले पूर्वी जर्मनीसँग अप्रत्याशित हार व्यहोर्यो। त्यो हारपछि पश्चिम जर्मनी स्वाभाविक लयमा फर्कियो। फाइनलमा नेदरल्यान्ड्सलाई पन्छाउँदै दोस्रो पटक विश्व विजेता बन्यो।
सन् १९८२ मा जर्मनी पहिलो खेलमै पराजित भएकाे थियो। त्यो पनि तुलानात्मक रुपमा कमजोर अल्जेरियासँग। हारबाट विश्वकपको सुरुवात गरे पनि पश्चिम जर्मनी फाइनलमा पुग्यो। तर इटालीसँग हारेपछि उपाधि भने उचाल्न सकेन।
यी तीन विश्वकपलाई जर्मन फुटबलले बिर्सिएकाे छैन। समय यस्तो पनि थियो जब जर्मनीलाई प्रत्येक विश्वकप र युरोमा दाबेदार टिमका रुपमा हेरिन्थ्यो। तर समय बदलिएको छ। अब जर्मन टिमलाई दाबेदार मान्न विश्व फुटबल हच्किन थालेको छ।
फलतः २० वर्षमा पहिलो पटक जर्मन टिममाथि प्रश्न उठिरहेको छ। प्रश्न हो, के जर्मन फुटबल सही बाटोमा छ? कुनै पनि राष्ट्रिय टिमबारे विश्लेषण गर्न सजिलो छैन। टिम सही बाटोमा छ वा छैन भनेर जाँच्न मिल्ने आधार कम छन्। मैत्रीपूर्ण खेल गम्भीर मापक होइनन्। यसकारण अन्तर्राष्ट्रिय प्रतियोगिता नै यस्ता मञ्च हुन्, जहाँ राष्ट्रिय टिमको स्तर जाँच्न सकिन्छ।
तर यो तरिका पनि समस्यारहित छैन। किनभने एउटा गल्तीले कनै पनि टिम प्रतियोगिताबाट बाहिरन सक्छ। वा एउटा खेलाडीको गोलले टिम च्याम्पियन बन्न सक्छ। यसको उदाहरण सन् २०१४ को विश्वकप हो। जहाँ मारियो गोट्जेको एक गोलले जर्मनी विश्व विजेता बनेको थियो।
हो फाइनल पुग्न जर्मनीले ब्राजिललाई ७–१ ले हराएको भुल्न सकिँदैन। तर त्यो खेल जर्मनीको जितका लागि भन्दा ब्राजिलको हारका लागि सम्झिन उपयुक्त हुन्छ।
ब्राजिलियन भूमिमा जर्मनी समूह विजेता बन्दै नकआउट चरणमा पुगेको थियो। पोर्चुगल र अमेरिकालाई पराजित गरे पनि जर्मनीले घानालाई पन्छाउन सकेन। दुवै टिमबाट दुई–दुई गोल भएको थियो। ठ्याक्कै त्यही खेलबाट योकिम लोले रणनीति परिवर्तन गरे। ४–३–३ मा टिम उतारिरहेका लोले अल्जेरियाविरुद्धको प्रिक्वार्टरफाइनलमा मिरास्लोभ क्लोजलाई एक्लो स्ट्राइकर बनाए।
आधारभूत पक्षलाई ध्यानमा राखेपछि जर्मनीले क्वार्टरफाइनलमा फ्रान्सलाई पन्छायो। फाइनलमा अर्जेन्टिनालाई पराजित गर्न लोले फेरि एकपटक ‘बेसिक फुटबल’ लाई प्राथमिकतामा राखे। तीन सेन्ट्रल डिफेन्डर खेलाएका उनले क्लोजलाई अग्रपंक्तिको जिम्मा दिए। खेल जिताउन गोट्जे दोस्रो हाफमा मैदान प्रवेश गरे पनि जितको जग उही ‘बेसिक फुटबल’ थियो।
जर्मन फुटबलका लागि सन् २००० महत्त्वपूर्ण हो। किनभने त्यही वर्षबाट जर्मन फुटबल नयाँ युगमा प्रवेश गरेका थियाे , ‘दास रिबुट’ का कारण। ‘दास रिबुट’ जर्मनीको फुटबलमा यस्तो अभियान बन्यो, जसले राष्ट्रिय टिममा मात्र होइन देशको समग्र फुटबल नै परिवर्तन गर्यो। अब ‘प्रेसिङ’ र ‘काउन्टर प्रेसिङ’ जर्मन टिमकाे परिचय बने। सन् २०१४ मा जितेको विश्वकप उपाधि चाहिँ सबैभन्दा ठूलो नतिजा। ‘दास रिबुट’ लाई योर्गन क्लप जस्ता प्रशिक्षकले परिमार्जित गरे। त्यही अभियानमा थपिए अरु जर्मन प्रशिक्षक पनि। तर आखिरमा ती सबै प्रशिक्षकको जग एउटै थियो, ‘दास रिबुट’।
लो सन् २००६ को विश्वकपमा योर्गन क्लिन्सम्यानको सहायक थिए। यी दुईबीचको रणनीतिमा उति ठूलो खाडल देखिएन। तर लो नेतृत्वको जर्मन टिम विपक्षी अनुसारको प्रदर्शन गर्न खप्पिस थियो। सुन्दर, आक्रामक, अल्छीलाग्दो, रक्षात्मक सबैखाले शैलीमा खल्यो जर्मनीले। यी सबै शैलीको मिश्रणका कारण जर्मनी विश्वकप २०१४ को विजेता बनेको हो। तर त्यसपछि लोले आफ्नो टिममा सन्तुलन कायम गर्नै सकेनन्। रुस विश्वकपमा समूह चरण कट्न नसकेपछि लोले अन्ततः जर्मन टिमसँगको यात्रा अन्त्य गरे।
लोलाई प्रतिस्थापन गरेका हान्सी फ्लिक बायर्न म्युनिखमा प्रमाणित भइसकेका प्रशिक्षक हुन्। बायर्नलाई बेन्डेसलिगा र च्याम्पियन्स लिग जिताएका उनी लोका सहायक थिए। प्रशिक्षक बनेपछि उनले बायर्नमा ‘हाइलाइन डिफेन्स’ खेलाए। गोलरक्षक म्यानुएल नुएर समेत ‘बिल्डअप’ मा संलग्न हुने फ्लिकको शैली जर्मन राष्ट्रिय टिममा पनि अपनाइएको छ। तर यो शैली जर्मन टिममा पूर्णरुपमा कार्यन्वयन हुन सकेको छैन। अहिले देखिएको एक समस्या याे पनि हो।
विपक्षीलाई उसकै क्षेत्रमा दबाबमा राख्ने, बल गुमाउन साथ खोस्न जाने, सम्भावित काउन्टर अट्याक रोक्ने, बलिया टिम यसै गर्छन्। तर यसरी ‘हाइलाइन डिफेन्स’ नीति अपनाउँदा, विपक्षीमा चर्को दबाब सिर्जना गर्न खोज्दा आफ्नै रक्षापंक्तिमा सन्तुलन बिग्रन सक्छ। ठ्याक्कै यही समस्या लिभरपुलमा देखिएको छ।
युरो २०१२ मा इटालीसँग हार्दा, विश्वकप २०१४ मा घानासँग बराबरीमा रोकिँदा, पछिल्लो विश्वकपमा मेक्सिको र दक्षिण कोरियासँग हार्दा जर्मन टिममा देखिएको समस्या एउटै थियो, काउन्ट्र अट्याक थेग्न नसक्ने बानी। यसपालि जापानले दुवै गोल काउन्टर अट्याकमा गरेको थियो।
अचेलको आधुनिक प्रशिक्षणले अवश्य पनि ‘इन्टिलिजेन्ट’ खेलाडी उत्पादन गरिरहेको छ। जर्मन टिममा पनि प्राविधिक रुपमा कुशल र रणनीतिक रुपमा चलाख खेलाडी छन्। तर टिमलाई नेतृत्व गर्नसक्ने ‘लिडर’ भने देखिएका छैनन्। कुनैबेला जर्मन टिममा बेकनबावर, रुमेनिगे, माटेअस जस्ता एकसेएक ‘लिडर’ थिए। जो अरु खेलाडी फिक्का हुँदा आफ्नै बलमा जर्मनीलाई डोहोर्याउँथे। तर हालको जर्मन टिममा त्यस्तो भूमिका निर्वाह गर्नसक्ने खेलाडीको कमी छ।
हुन त जर्मन टिममा मात्रै यो समस्या देखिएको छैन। अन्य थुप्रै टिममा पनि ‘लिडर’ छैनन्। अरु त अरु यो विश्वकपमा युवा सेन्ट्रल फरवार्डको पनि कमी देखिएको छ। पोर्चुगल, फ्रान्स, उरुग्वेसँग सेन्ट्रल फरवार्ड छन्। तर ती सेन्ट्रल फरवार्ड करियरको उत्तराद्र्धमा छन्। किलियान एम्बाप्पे फ्रेन्च अग्रपंक्ति सम्हालिरहेका त छन्, तर उनी सेन्ट्रल फरवार्ड भन्दा विंगरका रुपमा प्रस्तुत भइरहेका छन्।
हुन त कुनै पनि टिममा सेन्ट्रल फरवार्ड नै चाहिन्छ भन्ने छैन। स्पेन र पेप ग्वार्डिओलाका टिमले सेन्ट्रल फरवार्डबिना पनि उपाधि जितेका छन्। स्पेनको राष्ट्रिय टिम सन् २०११ यता उच्च स्तरीय सेन्ट्रल फरवार्डबिना खेलिरहेको छ।
यो विश्वकपमा जर्मनीले सायद टिमो बेरनरलाई ‘मिस’ गरिरहेको छ। घुँडाको चोटका कारण मैदानबाहिर नरहेका भए बेरनर हाल जर्मन अग्रपंक्तिको अगुवा भइरहेका हुन्थे। तर फेरि पनि जर्मनीको मुख्य समस्या रक्षापंक्तिमै देखिएको छ। निकलस सुल जस्ता अनुभवी रक्षकले गल्ती गरिरहेका छन्। आखिरमा ‘दास रिबुट’ को बिडम्बना यही होला, क्लब फुटबलमा सफल भइरहेको रणनीति राष्ट्रिय टिममा असफल हुने।
द गार्डियनबाट