छोटो अवधिमै च्याउ फलाएर बजार विस्तारमा ‘कल्टिभा ब्रान्ड’

हिमाल प्रेस ३० फागुन २०७९ १५:४०
98
SHARES
छोटो अवधिमै च्याउ फलाएर बजार विस्तारमा ‘कल्टिभा ब्रान्ड’

निर्माण सामग्री उत्पादन र बिक्रीवितरणमा परिचित साखः ग्रुप कृषि उद्यममा पनि फड्को मार्दैछ। ग्रुपले काठमाडौँका उपभोक्तालाई लक्षित गरेर धमाधम फरक ब्रान्डको च्याउ उत्पादन  र बजारीकरण गरिरहेको छ।

काठमाडौँ- साखः ग्रुप नेपालमा चार दशकदेखि निर्माण सामग्री उत्पादनमा सक्रिय व्यावसायिक घराना हो। हजुरबाबाट थालिएको स्टिल, रङ आदि उत्पादनमा नाति पुस्ता पनि संलग्न भइसकेको छ। त्यसैले साखःको पहिचान निर्माण सामग्री उत्पादक र विक्रेताका रूपमा छ।

पछिल्ला दिनमा भने साख:ले आफूलाई कृषि उत्पादनतर्फ विस्तार गर्न थालेको छ। यसको एउटा उदाहरण हो, भक्तपुर कटुञ्जेमा सञ्चालित च्याउ फार्म। जहाँ चार प्रकारका विभिन्न प्रजातिको च्याउ उत्पादन भइरहेका छन्। फार्मबाट दैनिक ४०० किलोसम्म च्याउ उत्पादन हुने गरेको सञ्चालक सार्थक साख बताउँछन्। यसका लागि १०/१२ जना श्रमिक व्यस्त हुन्छन्।

निर्माण सामग्रीबाट किन कृषितर्फ त? सार्थक भन्छन्, ‘सबै उद्योग निर्माण क्षेत्रमा केन्द्रित भए। कृषि उत्पादनमा कमी आउन थाल्यो। अनि केही फरक गर्ने योजनासहित मिनेर्भा फार्मस् प्राइभेट कम्पनी दर्ता गरेर च्याउ उत्पादन थालेका हौँ।’

ग्रुपले च्याउखेती गर्नकै लागि तीन वर्षअघि फार्म दर्ता गरेको हो। ‘नेपालमा कृषि उद्यमबाट खासै उत्पादन नभएकाले हामीले च्याउखेती गर्न भनेर सन् २०२० मा कम्पनी स्थापना गरेका हौँ। सोही कम्पनीअन्तर्गत सञ्चालित च्याउ फार्म हाम्रा लागि नयाँ ‘भेन्चर’ हो।’

फार्मको लागत करिब १० करोड रुपैयाँ रहेको सार्थक बताउँछन्। उनका अनुसार फार्ममा उत्पादित च्याउ विगत ६ महिनादेखि बजारमा आउन थालेको हो। फरक ब्रान्डको च्याउ उत्पादन गरिरहेकाले उपभोक्ता आकर्षित हुनेमा सार्थक आशावादी छन्। उनका अनुसार फार्ममा कल्टिभा ब्रान्डको च्याउ उत्पादन हुन्छ।

फार्मको अधिकतम उत्पादन क्षमता दैनिक ३५० देखि ४०० किलो हो। उनी भन्छन्, ‘हाम्रो योजना वार्षिक १४० देखि १५० टन उत्पादन गर्ने छ। बिस्तारै उत्पादन बढाउँदै लगेका छौँ।’ पछिल्ला दिनमा दैनिक १०० देखि १५० किलोसम्म उत्पादन बढिरहेको छ। बिक्रीको लक्ष्य पनि सोहीअनुसार निर्धारण गरिएको उनले बताए।

फार्ममा चार किसिमका च्याउ उत्पादन हुन्छन्। तीमध्ये एउटा ‘किङ वेस्टर’ हो। यसलाई बजारमा राजा च्याउ भनेर चिनिन्छ। अर्को ‘ब्ल्याक पर्ल वेस्टर’ ‘हाइब्रिड’ उत्पादन हो। नेपालमा अन्य कसैले पनि यसको उत्पादन नगरेको दाबी फार्मको छ।

फार्ममा उत्पादन हुने अर्को ‘सिटाकी मसरुम’ हो। यो काठको मुडामा उत्पादन हुन्छ। सार्थकले भने, ‘हामीले नयाँ प्रविधि प्रयोग गरेर बाह्रै महिना उत्पादन गरिरहेका छौँ। अरू च्याउ पनि बाह्रै महिना उत्पादन हुन्छन्। सिटाकी च्याउ बाह्रै महिना उत्पादन गर्ने हाम्रो फार्म पहिलो हो।’ यस्तै फार्ममा उत्पादन हुने अर्को च्याउ ‘बटन मसरुम’ हो।

कम्पनीले च्याउको बजार तत्कालका लागि काठमाडौँ उपत्यका केन्द्रित गरेको छ। ‘काठमाडौँ उपत्यकालाई केन्द्रित गर्नुको कारण यहाँका उपभोक्ताले नयाँ भेराइटीको ट्रायल बढी गर्छन् भनेर हो। यसले गर्दा हामीलाई बजार विस्तार गर्न सजिलो हुन्छ,’ उनले भने। भविष्यमा काठमाडौँबाहिर पनि बजार विस्तार गर्ने योजना रहेको सार्थकले सुनाए।

नेपालमा च्याउको बजार बढिरहेको सार्थक बताउँछन्। उनका अनुसार सन् २०१८ तिर प्रतिव्यक्ति उपभोग २५० ग्राम थियो। जनसंख्या अनुपातमा उपभोग २५० ग्राम हुनु राम्रो हो। सार्थकले भने, ‘हाम्रो अध्ययनअनुसार बर्सेनि १० प्रतिशतले च्याउको उपभोग बढिरहेको छ।’

मिनर्भाले उत्पादन गरिरहेका तीन किसिमका च्याउको बजार सानो छ। बजारमा प्रायः ‘बटम मसरुम’ र ‘फ्ल्याट मसरुम’ पाइन्छन्। यी दुई प्रजातिका च्याउले करिब ९० प्रतिशत बजार ओगटेको व्यवसायी बताउँछन्। मान्छेको रुचि र स्वाद नयाँ उत्पादनतर्फ आकर्षित हुने भएकाले बजार बढ्दै जानेमा ढुक्क रहेको सार्थकले बताए।

उत्पादन बढेसँगै फार्म बजार विस्तारमा पनि सक्रिय भइसकेको छ। मिनर्भाबाट उत्पादित च्याउ बजारमा भने कल्टिभा ब्रान्डबाट बिक्री भइरहेको छ। कम्पनी सबै उत्पादन त्यही ब्रान्डबाट उपभोक्ताकहाँ पुग्ने जानकारी सार्थकले दिए।

उपत्यकाका रिटेल आउटलेटहरू भाटभटेनी, बिगमार्ट, फ्रेस केटीएम, फार्मसपलगायतका कमर्सियल आउटलेटमा कल्टिभा ब्रान्डका उत्पादन पाइन्छन्।

कम्पनीले उत्पादित च्याउ डिपार्टमेन्टल स्टोरबाट मात्रै सबै उपभोक्तामाझ पुग्न नसकेपछि पछिल्ला दिनमा तरकारी बजारमा पनि पठाउन थालेको छ। उत्पादित च्याउ खपत नभएमा के गर्ने भन्नेबारेमा चाहिँ फार्मले केही योजना बनाएको छैन।

‘च्याउका लागि हामीले आफ्ना स्टोर सञ्चालनमा ल्याउने सोचेका त छौँ। तर अहिले उत्पादन ३-४ किसिमका मात्रै भएकाले सोरुम खोल्न सम्भव छैन’, सार्थकले भने।

नयाँ उत्पादन परीक्षण काठमाडौँबाट सफल भएपछि कम्पनी थप उत्साहित भएको छ। सोही कारण अब बजार विस्तार गर्ने तयारी भइरहेको सार्थकले बताए। उनले भने, ‘काठमाडौँको बजारमा परीक्षण सुरु गरेका थियौँ। यसमा सफल भयौँ र माग पनि त्यही हिसाबले बढ्दै गयो भने बजार विस्तार गर्छौँ।’

काठमाडौँ उपत्यकामा भइरहेको च्याउ कारोबारमा कम्पनीको हिस्सा थोरै छ। च्याउ नियमित उपभोग नहुने भएकाले पनि यस्तो भएको बुझाइ व्यवसायीको छ। त्यसैले च्याउलाई भान्छामा नियमित उपभोग्य वस्तु बनाउने योजना कम्पनीको छ। सार्थक भन्छन्, ‘अनि बजारमा हाम्रो उत्पादनको हिस्सा बढ्ने निश्चित छ।’

कम्पनीले प्रविधि र कृषिलाई एकीकृत गरेर यो योजना अगाडि बढाएको हो। ‘क्लाइमेट कन्ट्रोल मसरुम फार्मिङ’ प्रविधिबाट बाह्रै महिना च्याउ उत्पादन हुन्छ। त्यसैले फार्ममा उत्पादित च्याउ रसायनरहित छ।

‘हाम्रोमा उत्पादित च्याउ पूर्ण रूपमा प्राकृतिक छ। उपभोगका लागि सुरक्षित छ। स्वास्थ्यका लागि एकदमै लाभदायक छ। त्यसैले हामीले ‘सेफ फुड’ भनेर मार्केटिङ गरिरहेका छौँ,’ सार्थकले भने।

पछिल्ला दिनमा शाकाहारीको संख्या बढेकाले च्याउको माग र खपत बढी हुनेमा कम्पनी आशावादी छ। मासुको उपयुक्त विकल्प च्याउ हो भन्ने बुझेका सार्थक भन्छन्, ‘मासु नखानेका लागि वैकल्पिक र स्वस्थ खानेकुरा च्याउ हो। यसमा भिटामिन र मिनिरल्स प्रशस्तै पाइन्छ। ‘प्लस फ्याट’ शून्य छ।’

‘किङ वेस्टर’ प्रजातिको च्याउको डाँठ अलिक मोटो हुन्छ। यसको स्वाद फरक हुन्छ। त्यसमा जुन मसला हाल्यो, त्यही मसलाको स्वाद आउँछ। यो प्रजातिको च्याउ अन्य च्याउभन्दा बढी लाभदायक रहेको व्यवसायी बताउँछन्। नेपालमा उपभोग भइरहेको ‘ब्ल्याक पर्ल वेस्टर’ च्याउ जापान र युरोपका ‘स्ट्रे’ लाई हाइब्रिड गरेर उत्पादन गरिएको हो। फरक प्रजातिका च्याउ उत्पादन गरेकाले त्यसको स्वाद तुनात्मक रूपमा फरक हुनु स्वाभाविक रहेको सार्थक बताउँछन्। हेर्दा भने ‘किङ वेस्टर’ र नर्मल पाते च्याउ जस्तो देखिन्छ।

सिटाकी सबैलाई थाहा भएकै प्रजाति हो। यो मुडामा मात्रै फल्छ। पहिलापहिला जंगलमा मात्रै फल्थ्यो। यो च्याउ अन्य प्रजातिभन्दा स्वस्थवर्द्धक छ। ‘बटम मसरुम’ बजारमा पर्याप्त पाइन्छ।

‘किङ वेस्टर’ र ‘ब्ल्याक पर्ल वेस्टर’ को मूल्य त्यति महँगो छैन। उपभोक्तालाई चाख्न गाह्रो नहोस् भनेर थोरै मूल्यमा बजारमा पठाइरहेको सार्थकले बताए। उनले भने, ‘यी दुई प्रजातिको च्याउको बजार मूल्य प्रतिकेजी ३५० देखि ३६० रुपैयाँ हाराहारीमा छ।’

सिटाकी भने महँगो छ। यो च्याउ उत्पादन हुन अरू च्याउभन्दा तीनचार गुणा बढी समय लाग्ने भएकाले महँगो पर्ने व्यवसायीको भनाइ छ। यसलाई काठको मुडामा फलाए पनि उत्पादन हुन लगभग नौ महिनादेखि वर्षदिनसम्म लाग्छ। सार्थक भने साटाकीलाई छोटो अवधिमै उत्पादन गर्ने तयारीमा रहेको बताउँछन्। उनी भन्छन्, ‘हामीले प्रयोग गरिराखेको प्रविधिमा चारदेखि पाँच महिनासम्ममा च्याउ फल्छ। अरू च्याउ एकदेखि डेढ महिनामा उत्पादन हुन्छ। यसको उत्पादन समय बढी लाग्ने भएकाले मूल्य बढ्नु स्वाभाविकै हो।’

सिटाकी प्रतिकिलो आठ सयदेखि एक हजार रुपैयाँसम्म पर्छ। यद्यपि च्याउको मूल्यमा एकरूपता हुने गरेको छ। किनकि च्याउ बाह्रै महिना उत्पादन हुन्छ। अन्य उत्पादनमा माग र आपूर्तिअनुसार मूल्य घटबढ हुने तर च्याउमा मूल्य स्थिर रहने सार्थक बताउँछन्।

मिनर्भाले आफ्नै ब्रान्डअन्तर्गत बिक्री गर्ने भएकाले आपूर्ति नियन्त्रणमा हुने गरेको छ। उनी भन्छन्, ‘बजारको अवस्थाअनुसार १० देखि १५ रुपैयाँ प्रतिकेजी घटबढ हुनु स्वाभाविकै हो। तर त्यति धेरै मूल्य घटबढ हुँदैन।’

फार्ममा अहिले प्रत्यक्ष रूपमा १२ जनाले रोजगारी पाएका छन्। अप्रत्यक्ष रूपमा ३० देखि ४० जनाले रोजगारी पाएको कम्पनीले जनाएको छ। फार्म पूर्ण रूपमा सञ्चालन भएपछि २० देखि २५ जनाले प्रत्यक्ष रोजगारी पाउने सार्थक बताउँछन्।

नेपालमा च्याउखेतीले केही दशकदेखि व्यावसायिक रूप लिँदै आएको हो। कृषि विभागको २०७६ को तथ्यांकअनुसार नेपाल च्याउको उत्पादन बढिरहेको छ। आर्थिक वर्ष २०७४/७५ मा देशभरमा १० हजार ५०० मेट्रिक टन च्याउ उत्पादन भएको विभागको तथ्यांक छ।

विभागका अनुसार च्याउको व्यावसायिक उत्पादन काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, कास्कीमा बढी हुन्छ भने अन्य पहाडी र मधेशका केही जिल्लामा पनि व्यावसायिक उत्पादन भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast