पहिले जस्तो छाडा छैन फागु

हिमाल प्रेस २२ फागुन २०७९ १३:२८
16
SHARES
पहिले जस्तो छाडा छैन फागु

काठमाडौँ- केही वर्षअघिसम्म फागु (होली) पर्वको साता दिनअघिदेखि नै राजधानीमा युवतीको आवागमन बन्द हुन्थ्यो।

काम विशेषले निस्कनै पर्ने युवतीले घर फर्कंदा निथ्रुक्क हुनुपर्ने बाध्यता थियो। फागुन शुक्ल अष्टमीको बिहान हनुमानढोका दरबार क्षेत्रमा चीर गाडेपछि युवतीलाई पानी भरेको लोलाले हिर्काउने परम्परा नै बनेको थियो। यो विकृति क्रमशः अन्त्य हुन थालेको छ। केही वर्षअघिसम्म फागुपूर्णिमाका दिन घर बाहिर निस्कनेलाई बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो। अबिरलगायत रङ दलिन्थ्यो।

खानेपानीकै अभाव रहेको राजधानी काठमाडौँमा फोहर पानीले बटुवालाई हान्ने विकृति बढ्दै गएको थियो। २०७६ मा कोरोना महामारी बढेपछिदेखि नै विकृति अन्त्य हुन थालेको हो। कोरोनाअघि पनि यो विकृतिमा केही कमी भने आइसकेको थियो।

अपवादका रूपमा भने अझै पनि केही मानिस उच्छृंखल गतिविधिमा संलग्न भएको देखिन्छ। त्यस्तालाई कानुनी कारबाहीको दायरामा ल्याइने नेपाल प्रहरीले जनाएको छ। यसपटक भने कसैले पनि अरूको इच्छाविपरीत फागुपूर्णिमाको संस्कृतिका नाममा विकृतिका काम गरेको देखिएन।

मानिस आफू आफूमै रमाइरहेका छन्। घरपरिवार एवं छरछिमकीसँग फागु खेले। टीका लगाइदिए। खुसी साटासाट गरे। आपसी सौहार्दता बढाए। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा (होली) पर्व राजधानीलगायत पहाडी र हिमाली जिल्लामा आज अपेक्षाकृत शान्तरूपमा मनाइरहेको देखिन्छ।

केही वर्षअघिसम्म फागुपूर्णिमा (होली)मा मानिसको इच्छाविपरीत रङ दल्ने पानीका लोला हान्ने गरिन्थ्यो। केही वर्षअघिदेखि त्यस्तो काम रोकिएको छ। यस वर्ष भने सडकमा फागु खेल्ने प्रायः बालबालिका देखिन्छन्।

बालबालिकाले पनि विगतमा जस्तो सडकमा हिँड्ने मानिसलाई रङ दल्ने र पानीका लोला हान्ने गरेका छैनन्। गाडी रिजर्भ गरेर होली खेल्दै हिँड्ने मानिसको भीड नगण्य छ। पुतलीसडक चोकमा फागु पर्व मनाइरहेका युवा रामचन्द्र श्रेष्ठ चिनजानका साथीभाईबीच मात्र पर्व मनाउने सडकमा सवारी र पैदल यात्रा गर्नेलाई केही नगर्ने बताउँछन्।

विशेषगरी युवतीलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि नै छ्यापेर मनोवैज्ञानिक रूपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो। यस वर्ष फागु पर्वकै दिन पनि सहजरूपमा हिँडडुल गर्न सकेको सडकमा भेटिएका धेरैले बताए । कतै अपवादका रुपमा जबर्जस्ती रङ लगाए पनि फोहर पानीले दुव्र्यवहार गरेको देखिएन।

बिहानैदेखि वसन्तपुरमा विशेष चहलपहल

यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले विशेषरूपमा होली अर्थात् फागुपूर्णिमा पर्व मनाइरहेका छन्। वातावरणलाई नै रंगीचंगी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई बेलुकी विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन्। उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ।

फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मैलको रुखलाई रंगीचंगी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु भएको थियो। आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको १० पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ।

त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली ९फागु० खेल्ने परम्परा चलेको मानिन्छ। रासस

प्रकाशित: २२ फागुन २०७९ १३:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast