युरोभिजन एसियामा आयोजक थाइल्यान्डको प्रतिनिधित्व गर्ने माङ र दाउको जोडी प्रस्तुतिका क्रममा।
विश्वकै सबैभन्दा ठूलो र लामो इतिहास भएको संगीत प्रतियोगिता युरोभिजन अब एसियामा पनि आयोजना हुने भएको छ। आकर्षक प्रस्तुति, चमकधमक, चम्किला पोसाक र मनोरञ्जनात्मक शैलीका कारण चर्चित युरोभिजनले युरोपबाहिर नयाँ दर्शक र विश्वकै तीव्र गतिमा विस्तार भइरहेको एसियाली बजारमा आफ्नो प्रभाव बढाउने लक्ष्य राखेको छ।
युरोभिजनको पहिलो एसियाली संस्करणको अन्तिम प्रतिस्पर्धा शनिबार थाइल्यान्डको राजधानी बैंककमा हुँदै छ। प्रतियोगितामा ११ देश सहभागी हुँदै छन्। दक्षिण कोरियाली संगीत समूह, भुटानी लोकपप कलाकार र बंगलादेशी एकापेला तथा बिटबक्स समूहबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।
दोस्रो विश्वयुद्धपछि नयाँ रूपमा उदाउँदै गरेका युरोपेली मुलुकबीच निकट सम्बन्ध स्थापित गर्ने उद्देश्यसहित सात दशकअघि सुरु भएको यो प्रतियोगिता पहिलोपटक युरोपबाहिर उही नाम र ढाँचामा आयोजना हुन लागेको हो।
युरोभिजनको एसियाली संस्करण यसको ब्रान्डलाई विश्वव्यापी बनाउने प्रयास हो। युरोपेली प्रसारण संघ (ईबीयू) को स्वामित्वमा रहेको युरोभिजन ब्रान्डलाई युरोपबाहिरका क्षेत्रमा सञ्चालन गर्न उत्पादन कम्पनी भोक्सोभेसनले अनुमति पाएको छ।
युरोभिजन एसियाको सुरुवातका क्रममा गत मार्चमा प्रतियोगिताका निर्देशक मार्टिन ग्रिनले भनेका थिए, ‘यो प्रतियोगिताले सधैँ विशेष बनाउँदै आएको पहिचान कायम राख्दै एसियाली क्षेत्रका आवाज, पहिचान र आकांक्षालाई प्रतिनिधित्व गर्नेछ।’
पहिलो संस्करणमा बंगलादेश, भुटान, कम्बोडिया, लाओस, मलेसिया, मंगोलिया, नेपाल, फिलिपिन्स, दक्षिण कोरिया, थाइल्यान्ड र भियतनाम सहभागी हुँदै छन्।
प्रतियोगिता सहभागी देशका अतिरिक्त पोल्यान्ड, इजरायल र अस्ट्रेलियामा पनि प्रसारण हुनेछ। विश्वका अन्य देशका दर्शकले युरोभिजन एसियाको युट्युब च्यानलमार्फत प्रत्यक्ष हेर्न सक्नेछन्।
एसियाका आर्थिक तथा राजनीतिक रूपमा शक्तिशाली मुलुक चीन, भारत र जापान भने पहिलो संस्करणमा सहभागी छैनन्। युरोभिजन एसियाका कार्यकारी निर्माता असाफ ब्लेचरले पहिलो संस्करणमा सहभागी हुने देशको संख्या आफ्नो अपेक्षाअनुरूप नै रहेको बताएका छन्। उनका अनुसार जापान र भारतलगायतका देशले अर्को वर्ष प्रतियोगितामा सहभागी हुने चासो देखाएका छन्।
संस्करणकै जटिल मतदान प्रक्रिया अपनाइनेछ। युरोपेली प्रतियोगितामा जस्तै दर्शकले आफ्नै देशको प्रतिस्पर्धीलाई मत दिन पाउने छैनन्।
कुल मतमध्ये आधा दर्शकको मतदानबाट र बाँकी आधा ११ देशका निर्णायक मण्डलको मतबाट निर्धारण हुनेछ।
प्रतिस्पर्धीले प्रत्यक्ष स्वरमा गीत प्रस्तुत गर्नुपर्नेछ। मञ्चमा बढीमा छ जना कलाकार सहभागी हुन पाउनेछन् भने प्रत्येक प्रस्तुति तीन मिनेटभन्दा लामो हुन पाउने छैन।
युरोभिजनको युरोपेली संस्करणको अन्तिम प्रतिस्पर्धाका लागि टिकट पाउन निकै कठिन हुने गरेको छ तर एसियाली संस्करणका लागि बैंककस्थित ६ हजार दर्शक क्षमताको वान बैंकक फोरममा शुक्रबारसम्म पनि ५० देखि १९९ अमेरिकी डलरसम्मका टिकट उपलब्ध थिए। यसले थाइल्यान्ड र अन्य देशमा प्रतियोगिताप्रति अपेक्षाकृत कम चासो रहेको संकेत गर्छ।
एसिया प्रतियोगिताको अन्तिम कार्यक्रमकी सहसञ्चालिका तथा मोडल सिन्डी बिसपकी प्रशंसक बैंकक निवासी बोन पेट्राकले आफू अन्तिम प्रतिस्पर्धा हेर्ने योजनामा रहेको बताइन्।



