एक साताभित्र भारतमा दोस्रो आँधी, ठाउँठाउँमा उडान रद्द

हिमाल प्रेस १६ कार्तिक २०८३ १३:४२ | Monday, November 2, 2026
2
SHARE
एक साताभित्र भारतमा दोस्रो आँधी, ठाउँठाउँमा उडान रद्द चक्रवात मुरासु नजिकिँदै गर्दा सोमबार बिहान भारतको आन्ध्र प्रदेशमा पर्ने कोथापटनम समुद्री तटमा मडारिएको कालो बादल। तस्बिर स्रोत : द हिन्दू

काठमाडौँ- एक साताभित्रै दोस्रो चक्रवाती आँधी भारतको पूर्वी तटतर्फ अघि बढिरहेको छ। बंगालको खाडीमा विकसित चक्रवात ‘मुरासु’ शक्तिशाली चक्रवाती आँधीमा परिणत भएपछि भारतका तटीय राज्यमा सतर्कता बढाइएको छ। भारतीय मौसम विज्ञान विभागका अनुसार मुरासु सोमबार राति ११ः३० देखि मंगलबार बिहान ४ बजेसम्म दक्षिण आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना छ।

आँधीका कारण आन्ध्र प्रदेश र छिमेकी राज्य तमिलनाडुमा भारी वर्षा हुन सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आँधी प्रवेश गर्ने समयमा हावाको गति प्रतिघण्टा १०० देखि ११० किलोमिटर र झोक्कासहित १२० किलोमिटरसम्म पुग्न सक्ने अनुमान छ।

यसअघि गत बुधबार (अक्टोबर २८) चक्रवाती आँधी ‘अर्नब’ आन्ध्र प्रदेशको तटमा ठोक्किएको थियो। त्यसबेला तीव्र हावाहुरीसहित भारी वर्षा भएको थियो। आँधीसँग सम्बन्धित विभिन्न घटनामा आन्ध्र प्रदेशमा ६ जनाको मृत्यु भएको थियो।

हावाको गतिका हिसाबले मुरासु अर्नबभन्दा कमजोर हुने अनुमान गरिए पनि यसले ल्याउने भारी वर्षाले यसअघि नै प्रभावित क्षेत्रको अवस्था थप जटिल बनाउन सक्ने जोखिम छ। अर्नब आउनुअघि आन्ध्र प्रदेशमा करिब एक लाख ८० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो।

मुरासुको सम्भावित जोखिमलाई ध्यानमा राख्दै यसपटक पनि करिब ३० हजार मानिसलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ। आन्ध्र प्रदेश राज्य विपद् व्यवस्थापन प्राधिकरणका प्रबन्ध निर्देशक प्रखर जैनका अनुसार सोमबारसम्म करिब दुई हजार मानिसलाई सुरक्षित स्थानमा सारिसकिएको छ।

ओडिसामा उद्धार तथा स्थानान्तरण तीव्र

मुरासु शक्तिशाली चक्रवाती आँधीमा परिणत भएपछि भारतको ओडिसा सरकारले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम तीव्र पारेको छ। ओडिसाका विपद् व्यवस्थापनमन्त्री सुरेश पुजारीका अनुसार गञ्जाम, गजपति, रायगडा, कोरापुट र मलकानगिरि जिल्लालाई उच्च सतर्कतामा राखिएको छ।

सम्भावित जोखिमको सामना गर्न राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ), ओडिशा विपद् द्रुत प्रतिकार्य बल (ओडीआरएएफ) र अग्नि नियन्त्रण सेवाका ३०० भन्दा बढी टोली परिचालनका लागि तयारी अवस्थामा राखिएका छन्। गजपति र गञ्जामका केही क्षेत्रमा प्रतिघण्टा ४० देखि ५० किलोमिटरको गतिमा हावाहुरीसहित भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

समुद्रमा फसेका सात मछुवा उद्धार

सोमबार आन्ध्र प्रदेशको श्री पोट्टी श्रीरामुलु नेल्लोर जिल्लास्थित जुव्वलादिन्ने गाउँनजिक समुद्रमा आएको ठूलो छालका कारण डुंगा फसेपछि सात मछुवालाई मत्स्य विभागका अधिकारीहरूले उद्धार गरेका छन्।

चेन्नईका ११ सहित २१ उडान रद्द

चक्रवातका कारण सोमबार चेन्नई विमानस्थलबाट आउनेजाने ११ उडान रद्द गरिएका छन्। भारतीय विमानस्थल प्राधिकरणका अनुसार विजयवाडा, कडप्पा, राजामुन्द्री र तिरुचीसहितका गन्तव्यका उडान प्रभावित भएका छन्।

त्यस्तै आन्ध्र प्रदेशको गन्नवरम विमानस्थलबाट सञ्चालन हुने इन्डिगोका १० उडान पनि रद्द गरिएका छन्। इन्डिगोले राजामुन्द्री, विजयवाडा र तिरुपतिबाट हुने उडान सेवा प्रभावित भएको जनाएको छ। यात्रुलाई विमानस्थल जानुअघि उडानको अवस्था सम्बन्धित विमान कम्पनीसँग बुझ्न आग्रह गरिएको छ।

चेन्नईका विभिन्न क्षेत्रमा भारी वर्षा, सडक जलमग्न

मुरासु दक्षिण आन्ध्र प्रदेशको तटीय क्षेत्रतर्फ अघि बढिरहँदा उत्तरी तमिलनाडुमा भारी वर्षा भएको छ। चेन्नईका विभिन्न स्थान जलमग्न भएका छन्। चेन्नई, चेंगलपट्टु र तिरुवल्लुरमा आइतबार रातिदेखि मुसलधारे वर्षा भइरहेको छ।

पछिल्लो २४ घण्टामा माधवरममा ११ सेन्टिमिटर तथा एन्नोर बन्दरगाह र नुङ्गम्बक्कममा १०–१० सेन्टिमिटर वर्षा मापन गरिएको छ। मौसम विभागले चेन्नईमा ‘ओरेन्ज अलर्ट’ जारी गरेको छ। भारी वर्षाका कारण चेन्नई र तिरुवल्लुरका विद्यालय तथा कलेज सोमबार बन्द गरिएका छन्। तेलंगनाका छ जिल्लामा ‘ओरेन्ज अलर्ट’ र पाँच जिल्लामा ‘येलो अलर्ट’ जारी गरिएको छ।

नेल्लोर र नरसापुरबीच आँधी प्रवेश गर्ने अनुमान

भारतीय मौसम विज्ञान विभागका अनुसार सोमबार बिहान ८ः३० बजे मुरासु पश्चिम-मध्य बङ्गालको खाडीमा केन्द्रित थियो। यो नेल्लोरबाट करिब १६० किलोमिटर पूर्व-दक्षिणपूर्व र चेन्नईबाट १८० किलोमिटर उत्तरपूर्वमा थियो। आँधी प्रतिघण्टा २२ किलोमिटरको गतिमा उत्तरपश्चिमतर्फ अघि बढिरहेको थियो।

विभागले सोमबार राति ११ः३० देखि मंगलबार बिहान ४ बजेसम्म नेल्लोर र नरसापुरबीच, ओङ्गोलको दक्षिणतर्फबाट आँधी तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना औँल्याएको छ। त्यसबेला हावाको गति प्रतिघण्टा १०० देखि ११० किलोमिटर र झोक्कासहित १२० किलोमिटरसम्म पुग्ने अनुमान छ।

प्रकाशित: १६ कार्तिक २०८३ १३:४२ | Monday, November 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast