म्याग्दीमा मनसुनजन्य विपद्‌बाट ८ जनाको मृत्यु, करिब आठ सय परिवार प्रभावित

हिमाल प्रेस १६ कार्तिक २०८३ १३:२७ | Monday, November 2, 2026
8
SHARES
म्याग्दीमा मनसुनजन्य विपद्‌बाट ८ जनाको मृत्यु, करिब आठ सय परिवार प्रभावित

म्याग्दी– म्याग्दीमा यस वर्षको मनसुनजन्य विपद्बाट करिब आठ सय घरपरिवार प्रभावित भएका छन्।

जनप्रतिनिधि, प्राविधिक र प्रहरीको संयुक्त टोलीले तयार पारेको मुचुल्काअनुसार जिल्लाभर ७८९ घरधुरीमा पूर्ण तथा आंशिक क्षति पुगेको छ। विपद्का कारण अन्नपूर्ण गाउँपालिकामा पाँच, मालिकामा दुई र भकिम्लीमा एक गरी आठ जनाको मृत्यु भएको छ भने बेनी र अन्नपूर्णबाट एक-एक जना बेपत्ता भएका प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताए।

जिल्ला प्रहरी कार्यालयका अनुसार बाढी-पहिरोले २४३ घरमा पूर्ण र १८४ घरमा आंशिक क्षति पुर्याएको छ। साथै, ३६२ घर उच्च जोखिममा परेका छन्। ३४ गोठ पूर्ण र ४६ वटामा आंशिक क्षति पुगेको छ भने १३ वटा विद्यालयमा आंशिक क्षति पुगेको छ।

म्याग्दीका प्रमुख बेनी–जोमसोम, बेनी–दरवाङ, बेनी–बागलुङलगायत सडक, खानेपानी, सिँचाइ, विद्युतीकरण, जलविद्युत् आयोजना, प्रसारण लाइन, नदी नियन्त्रण योजनामा ठूलो क्षति पुगेको छ। कालीगण्डकी र म्याग्दी नदीमा आएको बाढीका कारण तटीय क्षेत्रमा कटान तथा बाढीको जोखिम बढेको छ।

क्षतिको विवरण सङ्कलन पूरा हुँदासम्म सङ्ख्या थपिन सक्ने प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी गणेश गैरेले म्याग्दी उद्धार र राहतपछि अस्थायी बसोबासको व्यवस्थासँगै पुनर्निर्माणको चरणमा अघि बढेको जानकारी दिए।

“मृतक र घरबास गुमाएकाहरुलाई उद्धार र राहत उपलब्ध गराई अस्थायी बसोबासको व्यवस्था मिलाउनेसँगै निजी आवास पुनर्निर्माणलाई तीव्रता दिन र व्यवस्थित बनाउन कार्ययोजना बनाएका छौँ,” उनले भने, “निजी आवास पुनर्निर्माणको काम आगामी २०८३ जेठ दोस्रो हप्ताभित्र सक्ने गरी कार्ययोजना तयार भएको छ।”

समयतालिका निर्धारण गरेर तयार पारिएको १२ बुँदे कार्ययोजना कार्यान्वयनका लागि स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिको स्पष्ट जिम्मेवारी तोकिएको छ। हिमाली जिल्ला म्याग्दीका विपद् प्रभावितले निजी आवास पुनर्निर्माणका लागि पाँच लाख अनुदान पाउने कार्यविधि छ।

सरकारले असोज २१ गते म्याग्दीका बेनी नगरपालिका, अन्नपूर्ण, रघुगङ्गा, मालिका, मङ्गला र धवलागिरि गाउँपालिकालाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ। विपद् प्रतिकार्यका आकस्मिक काम गर्नका लागि पहिलो चरणमा सङ्घीय सरकारले ४०/४० लाख अनुदान पठाएको छ।

विपद्बाट क्षति पुगेका सार्वजनिक भौतिक संरचनाहरुको पुनर्निर्माणका लागि भने स्थानीय तहको माग र जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत बजेट उपलब्ध गराइने म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रहनुभएका विज्ञान, प्रविधी तथा नवप्रर्वतन मन्त्री महावीर पुनले बताए।

facebook sharing button

प्रकाशित: १६ कार्तिक २०८३ १३:२७ | Monday, November 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast