८०.५ प्रतिशतले घट्यो सिमेन्ट निर्यात

हिमाल प्रेस १६ कार्तिक २०८३ १३:२५ | Monday, November 2, 2026
8
SHARES
८०.५ प्रतिशतले घट्यो सिमेन्ट निर्यात एआईको सहयोगमा निर्मित तस्बिर

काठमाडौँ- चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिमेन्ट निर्यात परिमाणका आधारमा ८०.५ प्रतिशतले घटेको छ। निर्यातबाट प्राप्त आम्दानी भने तुलनात्मक रूपमा कम अर्थात् ३४.८ प्रतिशतले मात्रै घटेको छ।

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालले ६२ हजार २९ टन सिमेन्ट निर्यात गरी ४१ करोड ९२ लाख ७० हजार रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा तीन लाख १८ हजार सात सय ६३ टन सिमेन्ट निर्यातबाट ६४ करोड ३३ लाख २० हजार रुपैयाँ आम्दानी भएको थियो।

तथ्यांकले सिमेन्ट निर्यातको परिमाण पाँच भागको चार भागभन्दा बढीले घटे पनि त्यसबाट प्राप्त आम्दानी भने एकतिहाईभन्दा केही बढीले मात्रै घटेको देखाउँछ। फलस्वरूप प्रतिटन सिमेन्टको औसत निर्यात मूल्य आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा करिब दुई हजार १८ रुपैयाँ रहेकामा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर करिब ६ हजार सात सय ५९ रुपैयाँ पुगेको छ।

प्रतिटन औसत निर्यात मूल्यमा भएको यो तीव्र वृद्धिले निर्यात हुने सिमेन्टको प्रकार वा निर्यात बजारमा मूल्यमा परिवर्तन आएको संकेत गर्छ। यसको एउटा सम्भावित कारण कम मूल्यको पोर्टल्यान्ड पोजोलाना सिमेन्ट (पीपीसी) को तुलनामा बढी मूल्यको अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपीसी) को निर्यात हिस्सा बढ्नु हुन सक्छ।

भन्सार विभागले सिमेन्टको प्रकारअनुसार छुट्टाछुट्टै निर्यात अभिलेख नराख्ने भएकाले निर्यातको स्वरूपमा आएको परिवर्तन वा मूल्यवृद्धिका कारण औसत निर्यात मूल्य बढेको हो भन्ने यकिन गर्न कठिन छ।

आर्थिक वर्ष २०८२/८३ मा नेपालले नौ लाख २३ हजार तीन सय ७६ टन सिमेन्ट निर्यात गरी दुई अर्ब तीन करोड रुपैयाँ आम्दानी गरेको थियो। त्यसअघि आर्थिक वर्ष २०८१/८२ मा तीन लाख ५६ हजार चार ७३ टन सिमेन्ट निर्यातबाट दुई अर्ब २१ करोड रुपैयाँ आम्दानी भएको थियो।

आर्थिक वर्ष २०८२/८३ मा सिमेन्ट निर्यातको परिमाण पाँच लाख ६६ हजार नौ सय तीन टन अर्थात् करिब एक सय ५९ प्रतिशतले बढेको थियो। निर्यातबाट प्राप्त आम्दानी भने १८ करोड ३३ लाख रुपैयाँ अर्थात् ८.३ प्रतिशतले घटेको थियो।

प्रतिटन सिमेन्टको औसत निर्यात मूल्य आर्थिक वर्ष २०८१/८२ मा करिब ६ हजार दुई सय २३ रुपैयाँ रहेकामा २०८२/८३ मा घटेर दुई हजार एक सय ९९ रुपैयाँमा झरेको थियो। यो करिब ६५ प्रतिशतको गिरावट हो।

पछिल्ला केही वर्षयता सिमेन्ट निर्यातमा उल्लेख्य उतारचढाव देखिँदै आएको छ। उद्योगीहरूका अनुसार यसको प्रमुख कारण भारतमा सिमेन्टको गुणस्तर प्रमाणीकरणसम्बन्धी समस्या हो। नेपालबाट निर्यात हुने सम्पूर्ण सिमेन्टको बजार भारत हो।

आर्थिक वर्ष २०८०/८१ मा नेपालले २३ लाख ३० हजार टन सिमेन्ट निर्यात गरी एक अर्ब ९७ करोड रुपैयाँ आम्दानी गरेको थियो। आर्थिक वर्ष २०८१/८२ मा निर्यात घटेर तीन लाख ५६ हजार चार सय ७३ टनमा सीमित भयो। त्यसपछि २०८२/८३ मा निर्यात बढेर नौ लाख २३ हजार तीन सय ७६ टन पुगेको थियो।

तयारी सिमेन्टको निर्यातमा उतारचढाव देखिए पनि क्लिंकरको निर्यात भने परिमाण र आम्दानी दुवैका आधारमा बढेको छ।

नेपालले आर्थिक वर्ष २०८२/८३ मा पाँच लाख ६१ हजार एक सय २६ टन क्लिंकर निर्यात गरी ७९ करोड ७८ लाख ३० हजार रुपैयाँ आम्दानी गरेको थियो। अघिल्लो आर्थिक वर्षमा चार लाख ९० हजार दुई सय ७२ टन क्लिंकर निर्यातबाट ६९ करोड ७३ लाख ८० हजार रुपैयाँ आम्दानी भएको थियो।

क्लिंकर निर्यातको परिमाण ७० हजार आठ सय ५४ टन अर्थात् १४.५ प्रतिशतले बढेको थियो भने त्यसबाट प्राप्त आम्दानी १० करोड चार लाख ५० हजार रुपैयाँ अर्थात् १४.४ प्रतिशतले वृद्धि भएको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको तथ्यांकले पनि क्लिंकर निर्यातबाट प्राप्त आम्दानी बढेको देखाउँछ। नेपालले उक्त अवधिमा १७ करोड ३० लाख ४० हजार रुपैयाँ बराबरको क्लिङ्कर निर्यात गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यातबाट १५ करोड १६ लाख ३० हजार रुपैयाँ आम्दानी भएको थियो।

प्रकाशित: १६ कार्तिक २०८३ १३:२५ | Monday, November 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast