काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा शुक्रबार वीर अस्पतालअगाडि चिकित्सकलाई दुर्व्यवहार गर्ने प्रहरी वरिष्ठ हवल्दार निलम्बनमा परेका छन्।
प्रहरी वृत्त, जनसेवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार शम्भुजंग गुरुङलाई प्रहरी प्रधान कार्यालयले कारबाही गर्दै निलम्बन गरेको हो।
‘प्रहरीले ड्युटी गर्ने क्रममा चिकित्सकमाथि हातपात भएपछि छानबिनका लागि निलम्बन गरेका छौं,’ केन्द्रीय प्रहरीका प्रवक्ता पोषराज पोखरेलले जानकारी दिए।
शुक्रबार संघीय संसद्लाई सम्बोधन गर्ने कार्यक्रमका लागि राष्ट्रपति भण्डारीको सवारीका क्रममा ती प्रहरीले वीर अस्पतालअगाडि राष्ट्रिय ट्रमा सेन्टरछेउ चिकित्सक जनिथलाल सिंहमाथि कुटपिट गरेका थिए।
राष्ट्रपतिको सवारी हुँदा सर्वसाधारणलाई सडकमा हिँड्न नै नदिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ।