तस्बिर : उपेन्द्र यादव सचिवालय
काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेशमा नेकपा एमालेसँग गठबन्धन नगर्ने भएको छ।
एमालेसँग गठबन्धन गरेर मधेशमा सत्ता सहकार्य गर्ने कुनै रणनीति नरहेको जसपा नेपालले जनाएको हो।
सरकारबाट बाहिरिएर एमालेले समर्थन फिर्ता लिएपछि मधेशमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा परेको छ।
एमालेले सरकारबाट समर्थन फिर्ता लिएको भोलिपल्ट (शनिबार) जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सरोजकुमार यादवलगायतका नेताहरू गुन्डु पुगेर एमाले अध्यक्षसँग भेट गरेका थिए।
तर, जसपा नेपालका अध्यक्ष यादवको सचिवालयले एमालेसँग सहकार्य गरी सरकारमा सहभागी हुने सम्बन्धमा कुनै निर्णय नरहेको दाबी गरेको छ।
‘जसपा नेपाल वर्तमान अवस्थामा नेकपा एमालेसँग सहकार्य गरी सरकारमा सहभागी हुने सम्बन्धमा न त कुनै निर्णय गरेको छ, नत कुनै नीति नै लिएको , न कसैसँगै कुनै समझदारी नै गरेको छ,’ यादवको सचिवालयले सामाजिक सञ्जालमार्फत भनेको छ।
उनको सचिवालयले एमालेसँगको सहकार्य तत्काल सम्भवसमेत नरहेको बताएको छ।
‘तत्काल यो सम्भव पनि नरहेको अवस्था छ। बेग्लै प्रसंगमा खिचिएको फोटो राखी फेसबुक तथा सामाजिक सञ्जाललाई केही व्यक्तिहरुले दुरुपयोग गरी गलत, भ्रमात्मक दुश्प्रचार गरेको देख्दा अत्यन्त आश्चर्य र दुःख पनि लागेको छ,’ सचिवालयले उल्लेख गरेको छ।
जसपा नेपालले हालसम्म सरकार बनाउन दाबी समेत नगरेको बताउँदै यादवको सचिवालयले कसैसँग समर्थनसमेत नमागेको उल्लेख गरेको छ।
‘जनता समाजवादी पाटी, नेपालले हालसम्म सरकार बनाउन न कुनै दाबा गरेको छ, न कुनै दलसँग समर्थन नै मागेको छ, न त कुनै पार्टी समर्थन दिने वा नदिने सम्झौता नै गरेको छ,’ सचिवालयले भनेको छ।




