ओलीसँग उपेन्द्रको भेट, मधेशमा सरकार बनाउने विषयमा छलफल

हिमाल प्रेस ३१ असोज २०८३ २०:०८ | Saturday, October 17, 2026
16
SHARES
ओलीसँग उपेन्द्रको भेट, मधेशमा सरकार बनाउने विषयमा छलफल

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

शनिबार भक्तपुरको गुन्डु पुगेर जसपा नेपालका अध्यक्ष यादवले एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन्।

भेटका क्रममा मधेश प्रदेशमा सरकार गठनका विषयमा छलफल भएको बताइएको छ। नेकपा एमालेले नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मधेश प्रदेशमा नयाँ सरकार गठनको कसरत सुरू भएको छ।

एमाले अध्यक्ष ओलीसँग मधेश प्रदेशमा नयाँ सरकार गठन गर्ने विषयमा छलफल भएको भेटमा सहभागी एक नेताले जानकारी दिए।

मुख्यमन्त्री कृष्णप्रसाद यादवले सरकारमा सहभागी जसपा नेपाललाई बाहिर राखेर एमालेसहित मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए। त्यसपछि जसपा नेपाल विपक्षीकित्तामा पुगेको थियो।

तर, १५ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै सरकारबाट बाहिरिँदै एमालेले समर्थन फिर्ता लिएपछि कांग्रेस नेता यादव नेतृत्वको सरकार संकटमा परेको छ।

जसपा नेपाल र जनमत पार्टी यसअघि नै विपक्षीकित्तामा रहेको बेला एमाले पनि सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त गर्ने न्यून सम्भवाना देखिन्छ।

अन्य प्रदेशहरूमा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सत्ता साझेदारी गरिरहेको छ। त्यसैले अहिले सरकारमा सहभागी नेकपा पनि एमालेसँगकै गठबन्धनमा सरकार बनाउने बताइएको छ।

मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गर्ने सम्भावना न्यून रहेको बेला जसपा नेपालले नेकपा एमालेसँग गठबन्धन गरेर सरकार बनाउने तयारीमा जुटेको छ।

प्रकाशित: ३१ असोज २०८३ २०:०८ | Saturday, October 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast