काठमाडौँ- भारतको पूर्वी राज्य ओडिसामा महानदीको जलस्तर तीव्र गतिमा बढेपछि बाढीको उच्च जोखिमलाई मध्यनजर गर्दै तल्ला क्षेत्रका कम्तीमा १ लाख ४० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
भारतीय अधिकारीहरुका अनुसार हीराकुड बाँधबाट थप पानी छाडिएपछि बाक्लो बस्ती रहेका तटीय क्षेत्रहरु हुँदै बग्ने महानदीमा बाढीको त्रास बढेको हो।
सम्भावित क्षति न्यूनीकरणका लागि ओडिसा सरकारले प्रभावित क्षेत्रबाट नागरिकहरुलाई सुरक्षित आश्रयस्थलतर्फ सार्न तीव्र गतिमा उद्धार कार्य अघि बढाएको छ।
ओडिसाका राजस्व तथा विपद् व्यवस्थापनमन्त्री सुरेश पुजारीले सरकारले जोखमियुक्त क्षेत्रहरुबाट १ लाख ४० हजार मानिसलाई सफलतापूर्व उद्धार गरेको बताएका छन्।
यो बाढी हाल भारतको विभिन्न भागमा फैलिरहेको मौसमी संकटको हिस्सा हो। हालै दक्षिणी राज्य केरलाले पनि भारी मनसुनी वर्षा र पहाडी क्षेत्रमा गएको विनाशकारी पहिरोका कारण ठूलो क्षति ब्योरिरहेको छ। यस वर्ष असम र गुजरातजस्ता अन्य राज्यहरुले पनि एकैसाथ भीषण बाढीको सामना गर्नुपरेको छ।
हरेक वर्ष दोहोरिने यस्ता मौसमी विपद्का कारण विगतमा जस्तै ठूलो धनजनको क्षति हुन नदिन भारतका पूर्वाधार र विपद् व्यवस्थापन प्रणालीमाथि निरन्तर दबाब परिरहेको अधिकारीहरुले बताएका छन्।



