अमरेशको दाबीमा सरकारको जवाफ- कसैप्रति निगरानी गरिएको छैन

हिमाल प्रेस १३ असोज २०८३ १७:१२ | Tuesday, September 29, 2026
14
SHARES
अमरेशको दाबीमा सरकारको जवाफ- कसैप्रति निगरानी गरिएको छैन

काठमाडौँ- सरकारले सांसद अमरेशकुमार सिंहमाथि निगरानी वा सुराकी नगरेको बताएको छ।

मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सिंहले आफू र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि सुराकी भइरहेको भनेर दिएको अभिव्यक्तिबारे सरकारलाई जानकारी नभएको बताए।

सांसद सिंहले भने एक अन्तर्वार्तामा आफू र रवि लामिछानेलाई सरकारले सुराकी खटाएको दाबी गरेका थिए।

सञ्चारकर्मीले सांसद सिंहले आफू र लामिछानेमाथि सुराकी गरिएको दाबी गरेको विषयमा प्रश्न गरेपछि प्रवक्ता पोखरेलले भने, ‘पहिलो प्रश्न त त्यो अब उहाँले खै कसरी भन्नुभयो त्यो मलाई थाहा भएन। कसैप्रति त्यसरी निगरानी गरिएको छैन।’

सिंहमाथि निगरानी भइरहेको भन्ने दाबी उनले कुन स्रोतबाट थाहा पाए भन्ने जानकारी उनैबाट लिनुपर्ने प्रवक्ता पोखरेलको भनाइ थियो। ‘उहाँले कुन स्रोतबाट थाहा पाउनुभयो, त्यसको थप जानकारी चाहिँ उहाँबाट नै लिनुपर्छ,’ उनले भने।

यस्तै, सरकारका मन्त्री तथा प्रधानमन्त्रीको सचिवालयमा ठूलो संख्यामा सल्लाहकार तथा कर्मचारी राखिएको भन्ने प्रश्नमा पनि प्रवक्ता पोखरेलले कानूनी प्रावधान र कार्यविधिभित्र रहेर जनशक्ति व्यवस्थापन गरिएको बताए।

उनले केही मन्त्रालयमा कार्यविधिले तोकेभन्दा बढी संख्यामा सल्लाहकार राखिएको चर्चा हुने गरेको भए पनि आफूहरुको जानकारीमा त्यस्तो नभएको दाबी गरे।

‘सचिवालयसम्बन्धी, मन्त्रालयमा हाम्रो कानूनी प्रावधानअनुसार, कार्यविधिअनुसार चाहिने जनशक्ति भित्रै रहेर सम्पूर्ण मन्त्रालयले स्वकीय सचिवालय तथा सल्लाहकारहरु राख्नुभएको छ,’ उनले भने।

कतिपय ठाउँमा २५ देखि ३० जनासम्म सल्लाहकार राखिएको सुनिए पनि त्यस्तो गर्ने कानूनी प्रावधान नरहेको उनको भनाइ थियो।

‘कानूनले जति, कार्यविधिले जति राख्न दिएको छ, त्योभित्र रहेर नै राखिएको छ। त्यो जम्बो टोली भन्ने त्यस्तो चाहिँ छैन,’ प्रवक्ता पोखरेलले भने।

प्रकाशित: १३ असोज २०८३ १७:१२ | Tuesday, September 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast