काठमाडौँ- पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सुरक्षाका लागि नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। जबराको ‘ज्यान लिनेसम्म’का खतरा बढेपछि प्रहरीले सुरक्षाका लागि घरबाट ‘पक्राउ’ परेको बताएको छ।
जबरा पक्राउ परेको विषय अहिले सामाजिक सन्जालमा बहस बनिरहेको छ। कानुनी क्षेत्रका ज्ञाता एवं पूर्वप्रधानन्यायाधीश जस्तो व्यक्तिलाई पक्राउ पुर्जी समेत नदिइ पक्राउ गरेको भन्दै आलोचना भइरहेको छ। तर प्रहरीले भने चोलेन्द्रलाई पक्राउ गरिएको भन्दा पनि सुरक्षाका लागि टेकु लगिएको बताएको छ।
‘डिस्कर्टमा पनि उहाँ (चोलेन्द्र)को ज्यान लिनेसम्मको छलफल चल्न थाल्यो,’ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काले भने,‘उहाँलाई पक्राउ गरिएको होइन। सुरक्षाका लागि टेकु ल्याइएको हो।’ जबरा २०७५ पुस १८ देखी प्रधान न्यायाधीशको कार्यभार सम्हालेका जबरा २०७८ फागुन १ मा संसद्मा महाअभियोग दर्ता भएपछि निलम्बनमा परेका थिए । उनी विरुद्धको महाअभियोग पारित भएन तर, त्यसपछि उनी सर्वोच्च अदालतमा फर्किन पाएनन् ।



