काठमाडौँ- न्यून पारिश्रमिकमा जिम्मेवारी निर्वाह गर्दै आएका विद्यालय कर्मचारी, लेखापाल तथा बालविकास सहजकर्ताको सेवा सुविधा कटौती नगर्न बागलुङको निसिखोला गाउँपालिकासँग आग्रह गरिएको छ।
विद्यालयमा बालबालिकालाई पेन्सिल समाएर पहिलो अक्षर लेख्न सिकाउनेदेखि विद्यालयको प्रशासनिक तथा लेखा व्यवस्थापनसम्मका महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका कर्मचारीको तलब तथा सेवा सुविधा पालिकाले थप गरी उपलब्ध गराउँदै आएकोमा पछिल्लो समय उक्त सुविधा कटौती गरिएको भन्दै असन्तुष्टि जनाइएको हो।
पालिकाले विगतमा थप गरेर प्रदान गर्दै आएको कार्यालय सहयोगी (का.स.), बालविकास सहजकर्ता र विद्यालय लेखापालको सेवा सुविधा स्वागतयोग्य रहेको जनाउँदै उनीहरूलाई दिइँदै आएको तलबमा कमी गर्दा कर्मचारीको मनोबलमा असर परेको बताइएको छ।
न्यून वेतनमा कठिन काम गर्दै आएका विद्यालय कर्मचारी तथा बालविकास सहजकर्ताको चित्त नदुखाउन आग्रह गर्दै पालिकाले थप गरेर उपलब्ध गराउँदै आएको सेवा सुविधामा कटौती नगर्न निसिखोला गाउँ कार्यपालिकासमक्ष अनुरोध गरिएको छ।


