विशेष महाधिवेशनपछि पहिलोपटक कांग्रेस बैठकमा सहभागी हुँदै देउवा पक्ष

हिमाल प्रेस १ असोज २०८३ १२:१३ | Thursday, September 17, 2026
विशेष महाधिवेशनपछि पहिलोपटक कांग्रेस बैठकमा सहभागी हुँदै देउवा पक्ष कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेताहरू पहिलोपटक केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुँदै छन्। देउवा पक्षका करिब ४० नेता वर्तमान केन्द्रीय कार्यसमितिमा समायोजन भएपछि सभापति गगन थापाले बिहीबारका लागि बैठक बोलाएका हुन्।

थापाले बिहीबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएका छन्। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई बैठकमा उपस्थित हुन आग्रह गरिएको छ।

विशेष महाधिवेशनपछि देउवा नेतृत्वको अघिल्लो केन्द्रीय कार्यसमितिमा रहेका नेताहरूलाई वर्तमान कार्यसमितिमा समायोजन गरिएको हो। समायोजनसँगै लामो समय पार्टीभित्र अलग शक्तिकेन्द्रका रूपमा रहेको देउवा पक्ष अब थापा नेतृत्वको केन्द्रीय कार्यसमितिमै सहभागी हुँदै छ।

आजको बैठकमा विगतमा इतर पक्षमा रहेका ३५ जना सहभागी हुन लागेको नेतृ ईश्वरीदेवी न्यौपानेले बताइन्। उनका अनुसार केही सीता गुरुङलगायतका केही नेताहरू काठमाडौँ बाहिर रहे पनि उहाँहरू पनि आवश्यक पर्दा समायोजित कांग्रेस केन्द्रीय समितिमा आइसकेको उनको भनाइ छ।

बैठकमा देउवा पक्षबाट महालक्ष्मी उपाध्याय ‘डिना’, सुरेन्द्र पाण्डे, इन्द्रबहादुर बानियाँ, जीवनबहादुर शाही, श्याम घिमिरे, मीनबहादुर विश्वकर्मा, रामहरि खतिवडा, नैनसिंह महर, सीताकुमारी राना, सरस्वती बजिमय, कृष्ण यादव, शान्ति परियार (विक), मानबहादुर नेपाली, राधा घले, गोविन्द भट्टराई, उमेशजंग रायमाझी, ईश्वरी न्यौपाने, सुशीला थिङ, गणेश लामा, रमा कोइराला पौड्याल, प्रदीपकुमार सुनुवार, अनिल रुंगटा, माया राई, कान्तिका सैजुवाल, मीनाक्षी झा, कल्पना चौधरी, सरस्वती अर्याल, हरिशरण नेपाली र कृष्ण यादव थापालगायत सहभागी हुने बताइएको छ। नेता रामहरि खतिवडाले आफूहरू सानेपाको बैठकमा सहभागी हुने बताए। उनले भने, ‘बैठकमा सहभागी हुँदै छ।’

यसैगरी किरण यादव, चन्द्रमोहन यादव, धनराज गुरुङलगायत शेखर कोइराला समूहका नेताहरू पनि बैठकमा सहभागी हुने एक नेताले बताए। कोइराला पक्षीय नेताहरू समायोजित बैठकमा सहभागी नभए पनि महाधिवेशनमा भने भाग लिने पक्कापक्की भएको न्यौपानेले बताइन्।

समायोजन भएका नेताहरूलाई समेत समेटेर कांग्रेसले १५औँ महाधिवेशनको तल्लो तहको अधिवेशन प्रक्रिया अघि बढाइसकेको छ। कार्यतालिकाअनुसार असोज ३ र ४ गते वडा अधिवेशन, ७ गते पालिका अधिवेशन तथा १० गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन हुँदै छन्।

कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुँदै छ।

प्रकाशित: १ असोज २०८३ १२:१३ | Thursday, September 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast