काठमाडौँ- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले देशमा एलपी ग्यास चरम अभाव तथा चामल, दाल, तेल, चिनी लगायतका अत्यावश्यक खाद्यान्नमा भएको अस्वाभाविक मूल्यवृद्धिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
संगठनका अध्यक्ष महेश श्रेष्ठद्वारा भदौ २४ गते जारी प्रेस विज्ञप्तिमा सरकारको प्रभावहीन अनुगमनका कारण कालाबजारी र कृत्रिम अभाव बढेको भन्दै आक्रोश व्यक्त गरिएको छ ।
अभावको फाइदा उठाउँदै ग्यास लुकाउने, तोकिएको भन्दा बढी मूल्यमा बिक्री गर्ने र बिचौलियाको चलखेल बढ्दा विद्यार्थी, श्रमिक र सर्वसाधारणको दैनिक जीवन कष्टकर बनेको अनेरास्ववियुको ठहर छ । समस्या समाधानका लागि अनेरास्ववियुले सरकारसमक्ष विभिन्न ७ बुँदे माग समेत राखेको छ ।
जस अनुसार चामल, दाल, तेल, तरकारी लगायतका अत्यावश्यक खाद्यान्नको अस्वाभाविक मूल्यवृद्धि तत्काल नियन्त्रण गर्नुपर्ने पहिलो माग रहेको छ । त्यस्तै एलपी ग्यासको नियमित, पर्याप्त र सहज आपूर्ति तत्काल सुनिश्चित गरिनुपर्ने, ग्यास तथा खाद्यान्नमा कृत्रिम अभाव सिर्जना गर्ने, लुकाउने र कालाबजारी गर्नेमाथि कडा कारबाही गर्नुपर्ने माग राखेको छ ।
त्यस्तै देशभर प्रभावकारी र नियमित बजार अनुगमन अभियान सञ्चालन गरी बिचौलियाको सञ्जाल नियन्त्रण गर्नुपर्ने, अत्यावश्यक वस्तुको आपूर्ति, मूल्य र वितरण प्रणाली पारदर्शी बनाई वास्तविक मूल्य सार्वजनिक गर्नुपर्ने अनेरास्ववियुको माग छ ।
त्यसैगरी कालाबजारीलाई संरक्षण गर्ने व्यक्ति वा निकायमाथि कानुनबमोजिम कडा कारबाही हुनुपर्ने र विद्यार्थी, श्रमिक र निम्न आय भएका नागरिकका लागि ग्यास तथा खाद्यान्न आपूर्ति व्यवस्थापन गर्न विशेष कार्ययोजना ल्याइनुपर्ने अनेरास्ववियुले जनाएको छ ।
जनताको आधारभूत आवश्यकतामाथि खेलबाड गर्ने र कृत्रिम अभाव सिर्जना गर्ने कुनै पनि प्रवृत्ति स्वीकार्य नहुने चेतावनी दिँदै संगठनले सरकारलाई गैरजिम्मेवारपन छाडेर तत्काल आपूर्ति सहज बनाउन आग्रह गरेको छ ।


