मेलोनीले बनाइन् कीर्तिमान, दोस्रो विश्व युद्धपछि सबैभन्दा बढी पदमा रहने प्रधानमन्त्री

हिमाल प्रेस १९ भदौ २०८३ १७:१२ | Friday, September 4, 2026
मेलोनीले बनाइन् कीर्तिमान, दोस्रो विश्व युद्धपछि सबैभन्दा बढी पदमा रहने प्रधानमन्त्री

काठमाडौँ- इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा लामो समय टिक्ने सरकारको नेतृत्व गरेको कीर्तिमान बनाएकी छन्।
शुक्रबार सरकारले १ हजार ४१३ दिन पूरा गर्दै पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको पुरानो कीर्तिमान तोडेको हो।

यस अवसरमा सन् २०२७ मा हुने आगामी निर्वाचनलाई लक्षित गरी मेलोनीको पार्टी ‘ब्रदर्स अफ इटली’ ले दक्षिणी सहर बारीमा विशाल राजनीतिक र्‍याली आयोजना गरेको छ।

‘सबैभन्दा स्थिर सरकार, सबैभन्दा बलियो इटली’ नारासहित आयोजित उक्त कार्यक्रममा करिब १० हजार समर्थकको सहभागिता रहेको थियो।

र्‍यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री मेलोनीले सन् २०२२ यता रोजगारीमा १० लाखभन्दा बढी वृद्धि भएको र व्यक्तिगत आयकरमा २१ अर्ब युरो कटौती गरिएका जस्ता प्रमुख उपलब्धिहरु प्रस्तुत गरिन्।

इटलीमा पछिल्लो ८० वर्षमा ६८ वटा सरकार परिवर्तन भइसकेका छन्। गठबन्धनभित्रका कैयौँ विवादका बाबजुद सत्ता जोगाउन सफल मेलोनीको गठबन्धन सरकारले सार्वजनिक सुरक्षा र आप्रवासन नियन्त्रणलाई केन्द्रित गर्दै तीन सय कानुन पारित गरिसकेको छ।

सरकारले आफ्ना नीतिकै कारण देशमा अवैध आप्रवासीको आगमनमा ८० प्रतिशतले कमी आएको र देशको वित्तीय अवस्थामा सुधार आएको दाबी गरेको छ।

यद्यपि विरोधी तथा आलोचकहरुले भने सरकारको दाबीप्रति प्रश्न उठाएका छन्। प्रमुख ट्रेड युनियन सीजीआईएलका प्रमुख माउरिजियो लान्डिनीले मुलुकमा तलब नबढेको, इन्धनको मूल्य वृद्धि भएको, रोजगारीमा असुरक्षा बढेको र स्वास्थ्य सेवा कमजोर बनेको भन्दै आर्थिक वृद्धि अझै सुस्त रहेको बताएका छन्।

यसैबीच सरकारविरोधी प्रदर्शनकारीहरुले मेलोनी नेतृत्वको सरकारमाथि युद्ध र हतियारको अर्थतन्त्रलाई बढावा दिएको, प्रहरी राज्य निर्माण गर्न खोजेको र आप्रवासीविरुद्ध घृणा फैलाएको आरोप लगाएका छन्।

आगामी निर्वाचनअघि मेलोनीको दक्षिणपन्थी जनाधारलाई चुनौती दिन नयाँ राजनीतिक शक्तिहरुसमेत सल्बलाउन थालेको विश्लेषण गरिएको छ।

प्रकाशित: १९ भदौ २०८३ १७:१२ | Friday, September 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast