बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग?

हिमाल प्रेस १८ भदौ २०८३ २१:२९ | Thursday, September 3, 2026
बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग?

काठमाडौँ- रसुवाको भोटेकोशीमा भदौ १० गते बिहान आएको बाढीपछि विभिन्न देश र अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोग आउने क्रममा जारी छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको जानकारी अनुसार बाढी आएको पहिलो दिनदेखि नै सहयोग आइरहेको छ।

कार्यालयका अनुसार भारतले विभिन्न चरणमा आवश्यक सबै किसिमको सहयोग गरिरहेको छ। भारतले हालसम्म ५ चरणमा ७४ टन राहत तथा उद्धार सामग्री उपलब्ध गराइसकेको छ। साथै, उद्धारका लागि विज्ञ टोलीहरू पनि प्रभावित क्षेत्रमा खटाइरहेको छ।

चीनले नेपाललाई ३० करोड रुपैयाँ र ५० टन राहत सामग्री उपलब्ध गराइसकेको छ। साथै, नेपाल सरकारले चीनसँग प्रभावित क्षेत्रका लागि ३० वटा बेलीब्रिज सहयोग गर्न अनुरोध गरेको छ।

पाकिस्तानबाट ८६ टन राहत सामग्री प्राप्त हुँदैछ। श्रीलंकाले १० लाख अमेरिकी डलरको सहयोगको प्रतिबद्धता जनाएको छ। बंगलादेशले पनि राहत सामग्री पठाउने तयारी गरेको छ।

अमेरिकाबाट ५ लाख अमेरिकी डलर दिने प्रतिबद्धता आएको छ। अष्ट्रेलियाबाट १ मिलियन अमेरिकी डलर (नगद सहयोग) सहयोगको प्रतिबद्धता आएको छ भने विशेषज्ञसहित ड्रोन अपरेटरसहितको टोली चाँडै नेपाल आउने भएको छ।

यूएईले ८३ टन अत्यावश्यक राहत सामग्री उपलब्ध गराइसकेको छ भने १० मिलियन डलरसम्मको सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। कतारले पनि ४० टन राहत सामग्री उपलब्ध गराएको छ।

संयुक्त अधिराज्य (यूके) ले ५ मिलियन पाउण्ड सहयोग गर्ने घोषणा गरेको छ। त्यसैगरी, युरोपेली संघअन्तर्गतको नागरिक सुरक्षा र मानवीय सहायता परिचालनले २ मिलियन यूरो, स्विट्जरल्याण्डले १ मिलियन अमेरिकी डलर, डेनमार्कले ३५ लाख डेनिस क्रोनर, जर्मनीले २ मिलियन अमेरिकी डलर, आयरल्याण्डले ५ लाख यूरो, चेक रिपब्लिकले २५ लाख चेक कोरुना, नर्वेले १२.७ मिलियन नर्वेजियन क्रोन सहयोगको घोषणा गरिसकेका छन्।

साथै, फ्रान्सले प्रभावित क्षेत्रका २०० घरपरिवारका लागि आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ। यस्तै, लक्जेम्बर्ग र लातभियाले पनि राहत सामग्री उपलब्ध गराएका छन्।

प्रकाशित: १८ भदौ २०८३ २१:२९ | Thursday, September 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast