भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

हिमाल प्रेस १८ भदौ २०८३ १६:३७ | Thursday, September 3, 2026
भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय फाइल तस्बिर

काठमाडौँ- सरकारले जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।

सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जेनजी सहिद दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए।

त्यस्तै भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय भएको उनले बताए। भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूप्रति सम्मान व्यक्त गर्न भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय भएको पोखरेलले जानकारी दिए। यो दिन देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको पोखरेलले जानकारी दिए।

पोखरेलका अनुसार रसुवा बाढीबाट प्रभावित व्यक्ति, उद्योग तथा व्यवसायलाई तत्काल सञ्चालन गर्न एकीकृत व्यवसायीक पुनःस्थापना योजनाअन्तर्गत राहत कर तथा महसुल छुटलगायतका सहुलियत प्रदान गर्ने निर्णय बैठकले गरेको छ।

त्यस्तै मन्त्रिपरिषद्ले एसियाली विकास बैंकबाट भोटेकोशी बाढी प्रभावित नागरिकको जीवन रक्षा, तत्काल उद्धार तथा राहतका लागि प्राप्त हुने ५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

बैठकले खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता, खाजा खर्च, घाइते भएमा निःशुल्क उपचार तथा मृत्यु भएमा परिवारलाई प्रति मृतक १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय समेत गरेको प्रवक्ता पोखरेलले बताए।

बैठकले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत कुल २५ हजार मेट्रिक टन चिनी १ प्रतिशत भन्सार महसुलमा आयात गर्न स्वीकृति दिने र नेपाल प्रशासन सेवा समूहीकरणतर्फका नारायण प्रसाद भट्टलाई विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्य सचिव पदमा पदस्थापन गर्ने निर्णय समेत गरेको प्रवक्ता पोखरेलले बताए।

प्रवक्त पोखरेलले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र शिक्षा मन्त्रालय मिलेर अभिभावक गुमाएका तथा परिवारविहीन बालबालिकाको तथ्याङ्क संकलन गरिरहेको जानकारी दिए।

कुनै पनि विद्यार्थीलाई बिचल्लीमा पर्न नदिने र अभिभावकविहीन बालबालिकाको सम्पूर्ण अभिभावकत्व राज्यले ग्रहण गर्ने उनले बताए।

पोखरेलले घरबारविहीन भएकाहरूलाई तत्कालका लागि होल्डिङ सेन्टर तथा दातृ निकायहरूसँग मिलेर अस्थायी बासस्थान र राहतको प्रबन्ध गरिएको उल्लेख गरे।

प्रकाशित: १८ भदौ २०८३ १६:३७ | Thursday, September 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast