बाढी प्रभावित क्षेत्रमा तत्काल अस्थायी स्वास्थ्य शिविर स्थापना गर्न सांसद ओजस्वीको माग

हिमाल प्रेस १८ भदौ २०८३ १४:३१ | Thursday, September 3, 2026
बाढी प्रभावित क्षेत्रमा तत्काल अस्थायी स्वास्थ्य शिविर स्थापना गर्न सांसद ओजस्वीको माग

काठमाडौँ- रसुवाको भोटेकोशी-त्रिशूली नदीमा यही भदौ १० गते बुधबार आएको भीषण बाढीका कारण प्रभावित क्षेत्रमा उत्पन्न स्वास्थ्य संकट र प्रभावित नागरिकका समस्याबारे प्रतिनिधिसभामा सांसद डा.ओजस्वी शेरचनले गम्भीर ध्यानाकर्षण गराएकी छन्।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सभापति समेत रहेकी डा.शेरचनले बिहीबारको बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना सन्दर्भ उद्धृत गर्दै बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य पूर्वाधार ध्वस्त भएको र स्वास्थ्य संकट गम्भीर बन्दै गएकोतर्फ सरकारको ध्यानाकर्षण गराएकी हुन्।

उनले भनिन्,‘यही भदौ १० गते रसुवाको भोटेकोशी-त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवाका स्याफ्रुबेँसी हेल्थ पोस्ट, टिमुरे हेल्थ पोस्ट, टिमुरे हेल्थ डेस्क र मैलुङ सामुदायिक स्वास्थ्य एकाइ पूर्ण रूपमा ध्वस्त भएका छन्। धादिङ र त्रिशूली अस्पतालहरू समेत प्रभावित बनेका छन्।’

स्वास्थ्य संस्था नै नरहेको विषम अवस्थामा महामारी फैलिनुअघि नै ती स्थानमा तत्काल अस्थायी स्वास्थ्य शिविर स्थापना गर्न उनले सरकारसँग जोडदार माग गरिन्।

बाढी प्रभावित क्षेत्रको वस्तुस्थितिबारे थप प्रकाश पार्दै डा.शेरचनले भनिन्,‘बाढी प्रभावित क्षेत्रमा महामारी रोकथामका लागि औषधी र स्वास्थ्य सामग्री मात्र पर्याप्त हुँदैनन्। बेत्रावती, महाभीर र सियाले लगायतका क्याम्प क्षेत्रमा विद्युत् सेवा नहुँदा साना टेन्टमा बसिरहेका नागरिकका लागि सोलार बत्ती, मोबाइल शौचालय, खानेपानीका लागि अस्थायी पाइपलाइन, पानी फिल्टर तथा खाना पकाउन आवश्यक ग्यास तत्काल उपलब्ध गराउनु आवश्यक छ।’

झाडापखाला र हैजाजस्ता सम्भावित महामारी रोकथामका लागि सुरक्षित खानेपानी, शौचालय, फोहोर तथा दिसाजन्य पदार्थको उचित व्यवस्थापन र नियमित सरसफाइ सुनिश्चित गरिनुपर्नेमा उनले जोड दिइन्।

सांसद शेरचनले बाढीमा धनजन गुमाएर मानसिक तनावमा परेका पीडितहरूका लागि तत्काल मनोसामाजिक परामर्शदाताहरू परिचालन गर्न समेत सरकारसँग आग्रह गरिन्।

प्रकाशित: १८ भदौ २०८३ १४:३१ | Thursday, September 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast