बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि सभापति थापाले भने- सबै निकाय संवेदनशील हुनुपर्छ

हिमाल प्रेस १८ भदौ २०८३ १३:०१ | Thursday, September 3, 2026
बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि सभापति थापाले भने- सबै निकाय संवेदनशील हुनुपर्छ

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवाको भोटेकोशी-त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित नुवाकोटका विभिन्न गाउँको स्थलगत अवलोकनपछि उद्धार, बेपत्ता नागरिकको खोजी र शव व्यवस्थापनलाई तत्काल पहिलो प्राथमिकता दिन सरकारसँग आग्रह गरेका छन्।

भदौ १० गते बुधबार प्रभावित क्षेत्रको भ्रमणपछि भिडियो सन्देश जारी गर्दै थापाले बाढीमा सुरुङभित्र फसेका नागरिकको उद्धारका लागि सरकारले समयमै बाह्य सहयोग लिन नसकेको बताए।

उनले विगतको कमजोरी ढाकछोप गर्न अर्को गल्ती नगर्न आग्रह गर्दै एक जना नागरिकको जीवन बचाउन सके पनि त्यो ठूलो उपलब्धि हुने बताए।

‘समयमै सहयोग माग्ने काम भएन, त्यो कमजोरी भयो। अब जे गर्न सकिन्छ, त्यसका लागि सरकारले आफ्नो सम्पूर्ण क्षमता प्रयोग गर्नुपर्छ,’ थापाले भने,‘एउटा गल्ती ढाक्न अर्को गल्ती गर्ने काम नगरौँ।’

थापाका अनुसार प्रभावित क्षेत्रमा सुरुङमा फसेका नागरिकका परिवारजनले उद्धारका लागि सरकारसँग पहल गरिदिन निरन्तर आग्रह गरिरहेका छन्। उनले आफूसँग भेटेका परिवारका सदस्यहरूको पीडा अत्यन्त गम्भीर रहेको भन्दै राज्यका सबै निकाय संवेदनशील हुनुपर्ने बताए।

थापाले बाढीले बगाएका तथा विभिन्न स्थानमा अड्किएका शवको तत्काल व्यवस्थापन गर्न पनि आग्रह गरेका छन्। प्रभावित क्षेत्रका स्थानीयले दुर्गन्ध फैलिएको र शवहरू अझै कतिपय स्थानमा अलपत्र रहेको गुनासो गरेको उनले बताए। ‘आफन्तको शव भए पनि भेटियोस् भनेर धेरै परिवार खोजीमा छन्। उनीहरूको पीडालाई हाम्रो प्राथमिकतामा राख्नुपर्छ,’ उनले भने।

थापाले बाढी प्रभावित क्षेत्रमा स्थानीय जनप्रतिनिधिहरूले सीमित स्रोतसाधनका बीच उल्लेखनीय काम गरिरहेको बताए। गल्छी, तारकेश्वर, विदुर, कोलोनी, दुप्चे लगायतका क्षेत्रमा स्थानीय तहका जनप्रतिनिधि राहत वितरण, शव व्यवस्थापन, स्वास्थ्य सेवा तथा आश्रयस्थलको व्यवस्थापनमा सक्रिय रहेको उनले उल्लेख गरे।

प्रदेश सरकारका प्रतिनिधिहरूले पनि अस्थायी ट्विन, खानेपानी, विद्यालय तथा अन्य आवश्यक पूर्वाधार निर्माणमा काम गरिरहेको थापाको भनाइ छ। उनले संघीय सरकारले समग्र उद्धार तथा राहत कार्यको नेतृत्व गर्नुपर्ने बताए। प्रदेश र स्थानीय सरकारले गर्नुपर्ने काम स्पष्ट रूपमा छुट्याएर समन्वय गर्न सके राहत तथा पुनःस्थापनाको काम थप प्रभावकारी हुने उनको भनाइ छ।

थापाले प्रभावित क्षेत्रमा राहत आवश्यकताअनुसार वितरण हुन नसकेको बताए। कतिपय स्थानमा राहत सामग्री बढी पुगेको तर कतिपय ठाउँमा आधारभूत आवश्यकतासमेत पूरा नभएको उनले बताए। स्थानीय तहले प्रभावित बस्ती र आश्रयस्थलअनुसार आवश्यक सामग्रीको विवरण तयार गरी सार्वजनिक गर्नुपर्ने उनको सुझाव छ। यसका लागि प्रविधिको प्रयोग गर्दै कुन स्थानमा कति मानिसलाई के के आवश्यक छ भन्ने विवरण उपलब्ध गराउनुपर्ने उनले बताए।

उनका अनुसार प्रभावित शिविरहरूमा पानी, अस्थायी शौचालय, व्यक्तिगत सरसफाइका सामग्री, महिलाका आवश्यक सामग्री, औषधि, गर्भवती महिला, ज्येष्ठ नागरिक तथा दीर्घरोगीका लागि छुट्टाछुट्टै सहयोग आवश्यक छ।

थापाले केही शिविरमा दीर्घरोगीका लागि आवश्यक औषधी तथा क्यान्सरका बिरामीलाई उपचारका लागि काठमाडौँ ल्याउने व्यवस्था गरिएको जानकारी पनि दिए। लामो समयसम्म अस्थायी शिविरमा बस्नुपर्ने बालबालिकाका लागि अस्थायी विद्यालय र मनोसामाजिक परामर्श आवश्यक रहेको उनले बताए।

बाढीका कारण घर, जग्गा र व्यवसाय गुमाएका परिवारमा भविष्यप्रतिको गम्भीर चिन्ता देखिएको थापाले बताए। उनीहरूलाई सुरक्षित स्थानमा बसोबास, पुनःस्थापना तथा जीविकोपार्जनको सुनिश्चितता राज्यले गर्नुपर्ने उनको भनाइ छ। ‘भोलि सडक र पुल बन्ला तर जमिन नै गुमाएका परिवार कहाँ बस्ने भन्ने प्रश्न गम्भीर छ,’ उनले भने,‘राज्यले हामी तपाईंहरूसँग छौँ र तपाईंहरूको घरबार तथा व्यवसाय पुनःस्थापना गर्छौँ भन्ने भरोसा दिनुपर्छ।’

थापाले भ्रमणका क्रममा अभिभावक गुमाएका एक बालकसँग भएको भेटले आफूलाई भावुक बनाएको बताए। बालकले बाटो कहिले बन्छ र आफूलाई आमा-बाबासँग भेटाइन्छ कि भेटाइँदैन भन्ने आशयमा प्रश्न गरिरहेको उनले बताए।

उनका अनुसार ती बालकका बुवा, आमा र हजुरआमा बाढीमा ज्यान गुमाएका थिए। यस्ता बालबालिकाको संरक्षण राज्यको मात्र नभई समाज र समुदायको समेत साझा जिम्मेवारी भएको थापाले बताए। ‘विपत्तिले सबै कुरा लगे पनि समाज र समुदायले आफूलाई सम्हालेको महसुस ती बालबालिकाले गर्न सक्नुपर्छ,’ उनले भने।

थापाले विपद्को समयमा सहयोग गर्न सक्नेले सहयोगमा जोडिन र सहयोग गर्न नसक्नेले कम्तीमा पीडितलाई कटु वचन नबोल्न आग्रह गरे। नेपाली कांग्रेसले प्रभावित क्षेत्रको अध्ययन तथा अवलोकनका आधारमा जलवायु परिवर्तन, सुरुङ उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणसम्बन्धी विस्तृत प्रतिवेदन तयार गरी सरकारलाई बुझाउने उनले जानकारी दिए।

प्रकाशित: १८ भदौ २०८३ १३:०१ | Thursday, September 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast