नेपाल टेलिकमले बाढी प्रभावित थप सात क्षेत्रमा सुचारु गर्‍यो सेवा, १२० मध्ये ९३ साइट सञ्चालनमा

हिमाल प्रेस १६ भदौ २०८३ १५:०६ | Tuesday, September 1, 2026
नेपाल टेलिकमले बाढी प्रभावित थप सात क्षेत्रमा सुचारु गर्‍यो सेवा, १२० मध्ये ९३ साइट सञ्चालनमा

काठमाडौँ- नेपाल टेलिकमले बाढीबाट प्रभावित थप सात क्षेत्रमा दूरसञ्चार सेवा पुनः सञ्चालनमा ल्याएको छ। यससँगै प्रभावित १२० साइटमध्ये ९३ साइट पुनः सञ्चालनमा आएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार रसुवाको त्रिशूली थ्रीए जलविद्युत आयोजनासँगै रहेको टावरमार्फत सेवा सुचारु गरिएको छ। उक्त टावर सञ्चालनमा आएपछि आयोजनाको सुरुङमार्गमा भइरहेको उद्धार कार्यका लागि आवश्यक सञ्चार सम्पर्क सहज भएको छ।

टावर सञ्चालनका लागि आवश्यक सामग्री सवारीसाधन तथा भरियामार्फत ढुवानी गरिएको थियो। रसुवाकै उत्तरगया गाउँपालिकाको कालिकास्थानस्थित टावर पनि सञ्चालनमा आएको छ।

यस्तै, नुवाकोटका तुप्चे र बुङताङ बीटीएस पनि आजदेखि सञ्चालनमा आएका छन्। यी टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर र इन्धन हेलिकोप्टरमार्फत ढुवानी गरिएको कम्पनीले जनाएको छ।

यसका अतिरिक्त कटुन्जे, सामरी भञ्ज्याङ र बेतिनीका टावर पनि पुनः सञ्चालनमा आएका छन्।

प्रभावित क्षेत्रमा पुगिन् प्रबन्ध निर्देशक

सेवा पुनःस्थापना कार्यमा खटिएका प्राविधिकहरूको मनोबल उच्च राख्न तथा कामलाई थप प्रभावकारी बनाउन नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) नुवाकोटलगायत प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा पुगेकी छन्।

यसअघि उनले बबरमहलस्थित नेपाल टेलिकमको विपद् व्यवस्थापन कक्षको बैठकमा सहभागी भएर सेवा पुनःस्थापनाको प्रगति समीक्षा गर्नुका साथै आवश्यक निर्देशन दिएकी थिइन्।

यसै क्रममा प्रबन्ध निर्देशक पहाडीले अर्थमन्त्री, सूचना तथा सञ्चारमन्त्री, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष तथा सुरक्षा निकायका प्रतिनिधिको उपस्थितिमा नेपाल टेलिकमले गरिरहेको सेवा पुनःस्थापना कार्यको प्रगति विवरण पनि प्रस्तुत गरेकी थिइन्।

नेपाल टेलिकमले विपद्को यस कठिन परिस्थितिमा प्रभावित सेवाग्राहीलाई आफ्ना आफन्तसँग सञ्चार सम्पर्क कायम राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रकाशित: १६ भदौ २०८३ १५:०६ | Tuesday, September 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast