राहत कोषमा रकम पठाउँदै हुनुहुन्छ? नक्कली क्यूआरबाट सावधान!

हिमाल प्रेस १५ भदौ २०८३ १७:३६ | Monday, August 31, 2026
राहत कोषमा रकम पठाउँदै हुनुहुन्छ? नक्कली क्यूआरबाट सावधान!

काठमाडौँ- नेपाल राष्ट्र बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्दा नक्कली बैंक खाता तथा क्यूआर कोड प्रयोग गरी हुन सक्ने ठगीप्रति सावधान रहन आग्रह गरेको छ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सोमबार सूचना जारी गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली क्यूआर कोड तथा बैंक खाता विवरण प्रयोग गरी अनधिकृत रूपमा रकम संकलन तथा ठगी भइरहेका घटना सार्वजनिक भएको जनाएको छ।

विपद्को समयमा कोषमा सहयोग गर्न चाहनेले रकम पठाउनुअघि खाताको नाम अनिवार्य रूपमा यकिन गर्न राष्ट्र बैंकले आग्रह गरेको छ। मोबाइल बैंकिङ, वालेट, कनेक्ट आईपीएस वा अन्य कुनै माध्यमबाट रकम पठाउँदा खाताको नाम ‘Prime Minister Disaster Relief Fund’ रहेको सुनिश्चित गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै रकम पठाउँदा आफूले योगदान गर्न चाहेको रकम सही रूपमा प्रविष्ट भए–नभएको पुनः यकिन गर्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ।

कोषमा रकम पठाउन आवश्यक बैंक खाता विवरण राष्ट्र बैंक, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अर्थ मन्त्रालयको वेबसाइटमा प्रकाशित आधिकारिक स्रोतबाट मात्र लिन राष्ट्र बैंकले अनुरोध गरेको छ।

सामाजिक सञ्जाल, इमेल तथा मेसेजिङ एपमार्फत फैलाइएका अनधिकृत क्यूआर कोड स्क्यान नगर्न पनि राष्ट्र बैंकले सचेत गराएको छ। सहयोग रकम पठाउन सहयोग गर्ने बहानामा कसैले मागे पनि ओटीपी, पिन, पासवर्डलगायत संवेदनशील व्यक्तिगत विवरण नदिन उसले आग्रह गरेको छ।

राष्ट्र बैंकले रकम पठाउँदा आधिकारिक एप्लिकेसनको प्रयोग गर्नसमेत अनुरोध गरेको छ।

आफू ठगीमा परेको आशंका भए तत्काल सम्बन्धित बैंक तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायक संस्थालाई जानकारी गराउन राष्ट्र बैंकले भनेको छ। त्यस्तै, नेपाल प्रहरीको साइबर ब्युरो वा राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण एकाइमा समेत जानकारी गराउन सकिने जनाएको छ।

प्रकाशित: १५ भदौ २०८३ १७:३६ | Monday, August 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast